कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना

फाइल फाेटाे जनकपुरधाम । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा खुवाउन शुरू गरेको हो । जनकपुरमा ३१ जना बिरामीलाई खाना तथा खाजा खुवाउने गरिएको छ । प्रदेश सरकारको आग्रहमा सानो पाइलाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सरकारको कार्यविधिअनुसार धनुषामा पौष्टिक खाना खुवाउँदै आएको छ । ‘विविध कारणले गर्दा धनुषामा कोभिड-१९ का बिरामी र क्वारिन्टनमा बसेका व्यक्तिलाई पौष्टिक खाना खुवाउन समस्या भएकाले सानो पाइलाले यो अभियान अघि सारेको छ’, सानो पाइलाका क्षेत्रीय प्रमुख अधिवक्ता राहुलकुमार झाले भने, ‘यो अभियानलाई जनकपुरवासी र प्रदेश सरकारको साझा अभियानका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।’ यसका लागि समुदाय र सरकार दुवैको सहयोग लिइने उनको भनाइ छ । यसअघि सानो पाइलाले समुदायको सहयोगमा पर्सामा उपचाररत कोभिड-१९ का बिरामीलाई जेठ ५ गते बाट नियमित चार समय पौष्टिक खाना उपलब्ध गराउँदै आएको छ । साप्ताहिकरुपमा समुदायको सहयोग र पौष्टिक खानामा भएको खर्च सार्वजनिक गर्दै आएको सानो पाइलाले हालसम्म सरकारी सहयोग नलिएको जनाएको छ । ‘सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तव्य हो’, सानो पाइलाका सभापति सुदीपकुमार लामाले भने, ‘हामीले समुदायको सहयोग समुदायसम्म पुर्याउन साँघुको काम गरिरहेका छौँ ।’ उनले यस कार्यका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए पनि अहिलेसम्म यस विषयमा संस्थाले ठोस निर्णय लिएको छैन भने- ‘यस्ता निर्णय संस्थाको गभर्निङ बोर्डले गर्ने हो’, सभापति लामाले भने, ‘प्रदेश सरकारको आग्रहमा हामीले धनुषामा शुरुवात गर्न लागेका हौं । प्रदेश सरकारले हामीलाई आर्थिक सहयोग गर्ने निर्णयको विषयमा दुवै पक्षका प्राविधिक समूह आपसी छलफलमा छौं । यसको औपचारिक शुरुवात भएसँगै त्यसका विषयमा पनि आवश्यक जानकारी गराउने छौं ।’ बिहानको खाजामा अण्डा, रोटी, हरियो तरकारी, चिया, दूध, फलफूल तथा साँझको खाजामा फलफूल, निम्बु पानीको सर्बत, चिया, दूधको साप्ताहिक मेनु नै बनाइएको छ । दिउँसोको खानामा भात, दाल, मौसमी तरकारी तथा साग सलाद र रातिको खानामा दिनमा दिने गरिएको खानामा सप्ताहमा दुई दिन कुखुराको मासुसमेत दिने गरेको उनले बताए । प्रतिदिन एकजनालाई चारपटक भोेजन गराउँदा दैनिक ३२७ रूपैयाँ खर्च हुने गरेको उनको भनाइ छ । राष्ट्र निर्माणका लागि समुदायको निर्माण भन्ने नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले मुख्यरुपमा लागुऔषधमा संलग्न व्यक्तिलाई सुधारे असल काममा लगाउने काम गर्ने गरेको उनले बताए । ‘दलदलमा फसेका त्यस्ता युवा जसका आमाबुवाले समेत नालायक भनेर तिरस्कार गरे, आज ती युवा नै फिडिङ अभियानसहित विभिन्न असल काममा लागेका छन्’, झाले भने । रासस

साधारण जीवन, सुन्दर जीवनको पक्षमा

जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ। मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने जोडिएन । सहरीकरणले गाउँदेखि सहरको दूरी घटायो तर एक गाउँदेखि अर्को गाउँको दूरी झनै बढायो । सोसियल मिडियामा लाइक, फलो, शेयर त धरै नै भयो तर वास्तविक जीवनमा मन पराउने मान्छे कम हुँदै गए । शेयर गर्नु भनेको केयर गर्नु भन्ने कुरा फेसबुकभन्दा बाहिर आएन । कुनै बेला लाखौं फ्यान र फलोअर्स भएकाहरूको मलामी जाने मान्छे नभेटिएको उदहारण पनि प्रशस्त छन् । सायद त्यसैले भनिन्छ, तपाईँका सबै फलोअर सधैँ तपाईँका फ्यान हुँदैनन । नाडीमा ४ लाखको घडी लगाएर त्यही हाथले ४० रुपैयाँको चाउचाउ बोकेर समाज सेवा गर्छु भनेर फोटो पोस्ट गर्नेहरूको पनि भीड धेरै नै छ । ३६४ दिन झगडैमा बिते पनि भ्यालेन्टाइन डेमा ‘म तिमीबिना बाँच्न सक्दिनँ’ भनेर फोटो पोस्ट गर्ने पनि कम छैनन् । नाडीमा ४ लाखको घडी लगाएर त्यही हाथले ४० रुपैयाँको चाउचाउ बोकेर समाज सेवा गर्छु भनेर फोटो पोस्ट गर्नेहरूको पनि भीड धरै नै छ । ३६४ दिन झगडैमा बिते पनि भ्यालेन्टाइन डेमा ‘म तिमीबिना बाँच्न सक्दिनँ’ भनेर फोटो पोस्ट गर्ने पनि कम छैनन् । जीवनभरि नै बुबाआमालाई हेला गरेर पनि कुशे औंशीका दिनमा ह्याप्यी मदर डे भनेर फोटो अपलोड गर्न पनि धरै नै छन् । सोसियल मिडियाबाट फाइदा पनि छ । तर हाम्रो समाजले फाइदाभन्दा दुरुपयोग नै बढी गर्दै गयो । विचार गर्नुपर्ने बेला आएको छ- कतै सोसल मिडियाले हामीलाई ‘एन्टी सोसल’ त बनाएको छैन ? नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई आकर्षण गर्ने हाम्रो संस्कार जबसम्म अन्त्य हुँदैन, तबसम्म समाज अगाडि बढ्नेछैन । कुनै बेला आफैले उत्पादन गर्ने सामान र तरकारी आज किनेर खाँदा कसको मन कुँडिएको छैन होला । बदाम खेती बन्द भयो तर ‘पिनट बटर’ खाने बानी बस्यो । वर्षातको पानीलाई स्याखु, छत्रीले रोक्न सकेन जब चाइनाबाट छाता आयो । हजुरआमाले भुटेको आफ्नै बारीमा फलेको मकैभन्दा ‘पपकोर्न’ मिठो हुन थाल्यो । माटाको भुड्काको पानीलाई फ्रिजको पानीले विस्थापित गर्‍यो । बारीमा फल्ने ताजा फलफूलभन्दा भाटभटेनी बाट आएको एप्पल जुस, अरेन्ज जुस नै मिठो हुन थाल्यो। साउने सङ्क्रान्ति, माघे सङ्क्रान्ति, शिवरात्री र अरू थुप्रै चाडपर्वभन्दा क्रिसमस, भ्यालेन्टाइन, हालोइन प्यारो लाग्न थाल्यो । अरूलाई जित्ने होडबाजीमा बिस्तारै हामी आफैंसँग हारिरहेका छौँ। मेरो आफ्नो जीवनका देखाइ र भोगाइ बाट यहाँसम्म आइपुग्दा ममा परिवर्तन भएका कुराहरू तपाईँको सामु राख्दै छु । जीवनलाई जिउने यी सरल तरिकाहरू अपनाउनुभयो भने खुसीको पछाडि तपाईँ दौडन पर्दैन, खुसी तपाईँको पछि दौडेर आउनेछ । लेखक प्रकृति : हाम्राे साथी प्रकृतिसँग घनिष्ट सम्बन्ध राख्ने कोसिस गर्नुहोस् । यो नभल्नू कि पृथ्वी हाम्रो विस्तारित शरीरको एक हिस्सा हो त्यसैले पृथ्वीको हेरचाहा गर्नुहोस् । आफ्नै देशमा उत्पादित सामान प्रयोग गर्नुहोस् । चाहिनेभन्दा बढी सामान नकिन्नुहोस् । सामान त्यस्तो किन्नुहोस् जो टिकाउ हुन्छ र मर्मत गर्न सकिन्छ । अत्यधिक प्रसंस्कृत खाद्यपदार्थ, मासु, र गुलियोजन्य खानाहरूबाट टाढा रहनुहोस् । प्राकृतिक, स्वस्थ खाना खानुहोस्। सक्नु हुन्छं भने शाकाहारी वा भिगन खाना खानुहोस । योग/व्यायम हरेक दिन योग/व्यायम गर्नुहोस् । स्कुटर वा मोटरसाइकलले काम चल्छ भने गाडी नचलाउनुहोस्, साइकलले काम चल्छ भने स्कुटर वा मोटरसाइकल नचलाउनुहोस् । पैदल, साइकल वा सार्वजनिक यातायातको सहारा लिनुहोस्। तपाईंको सानो प्रयासले वातावरण सफा हुनेछ । सकभर होलिस्टिक तरिकाले बाँच्ने कोसिस गर्नुहोस् । छतमा बार्‍है महिना फल्ने कागती र खुर्सानी लगाउनुहोस्, कमसेकम खुर्सानी र कागतीमा त आत्मनिर्भर बन्न कोसिस गरौँ । सौन्दर्य सकभर गरगहना र मेकअपका सामान थोरै किन्नुहोस्। बाहिरी सौन्दर्यलाई भन्दा भित्री सौन्दर्यलाई निखार्ने कोसिस गर्नुहोस् । वातावरणमैत्री सामान प्रयोग गर्नुहोस् । सकभर पुन: प्रयोग गर्न मिल्ने सामान (रिसायकल) किन्नुहोस्। सबैभन्दा बढी समय आफूलाई, आफ्नो परिवार अनि समाजलाई दिनुहोस् । संस्कार आफ्नो परिवारलाई आफ्नो धर्म, संस्कृति, संस्कार (१६ संस्कार वा आफ्नो धर्म अनुसारको संस्कार) समाज र आफ्ना पुर्खाका बारेमा जानकारी गराउनुहोस् । आफ्नो मातृभाषा (नेवार, गुरुङ, मगर, तामाङ्ग, मैथली, भोजपुरी, आदि) छोराछोरीलाई सिकाउनुहोस् । फुर्सदको समयमा व्यक्तिगत सिपहरू (उदाहरणका लागि, काठको काम, प्लम्बरिङ, बिजुली मर्मत, साधारण उपकरण मर्मत, वागवानी र अरू कुनै पनि सिपहरू) को विकास गर्नुहोस्, जसले तपाइँलाई आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउँछ । जीवनशैली महत्त्वपूर्ण कुरा, हाँस्न नभुल्नु होला । जति धेरै हाँस्नुहुन्छ त्यति नै धेरै बाँच्नु हुन्छ । जीवनलाई फरक ढङ्गले हेर्नुभयो भने जीवन लाई बुझ्ने वातावरण सृजना हुन सक्छ । जुन व्यक्तिको आहार, विहार, विचार, व्यवहार, संस्कार सही छ र मन, वचन र कर्मले कसैलाई पनि हानि पुर्‍याएको छैन त्यस व्यक्तिलाई कहिल्यै दुःख हुँदैन। आफ्नो जीवनशैलीमा थोरै परिवर्तन गर्नुभयो भने भए तपाईं, तपाईंको परिवार, तपाईंको समाज र वातावरणलाई ठुलो सहयोग पुग्नेछ र जीवन सुखी र सफल हुनेछ।

कोरोना महामारीभन्दा पनि भोकको चिन्ता

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौं”, बादी समुदायमा बस्दै आएकी यमुना बादीले भने, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।” उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् । एक बादी महिलाले भनिन्, पुरानो पेशा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्याैं अब भोकै बस्नुपर्ने अवस्था छ । लामो समयको सङ्घर्ष र चेतनापछि हाम्रो समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो । तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन । हामीलाई राज्यले कि काम दिन कि माम दिन पर्याे होइन भने हाम्रो पुरानो पेशालाई सञ्चालन गर्न दिनपर्यो भन्ने आवाज समुदायमा उठ्न थालेको सुनिता बादीले बताइन् । “हामीलाई अहिले विश्वभर फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । हाम्रा केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौं दिन भोकै सुतेका छौं ।” यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ? भनेर सरकारलाई प्रश्न गर्छिन् सितला बादी । “सबैले कोरोना रोगले मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएलाजस्तो हुन थालिसक्यो”, सितलाले भने, “थोरै भएको अन्न दिन बिराएर खाऊ भने पनि दुई दिनलाई छैन विजचार गरौं भोकै कति दिन बाँच्न सकिन्छ ।” आफूहरू रोगभन्दा भोकको शोकले पिरोलिएको सितलाको गुनासो छ । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताए । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताए । गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरी जानकारी दिए ।