रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न
टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण सुरु भएको १३ वर्षमा ६० प्रतिशतमात्र निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६७/६८ बाट निर्माण कार्य थालेको आयोजनाले २०८०/८१ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० प्रतिशत काममात्र सकिएको जनाएको छ । आयोजनाको गुरुयोजनाअनुसार २७ अर्ब ७५ करोड रुपैयाँ लागत रहेकामा अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भएको छ । त्यसबाहेकका रकम खर्च हुन बाँकी रहेको र काम सम्पन्न गर्न तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । ‘तोकिएकै समयमा काम सम्पन्न हुने देखिएको छैन’, उनले भने, ‘आयोजनाका पहिलो चरणका सबै कामहरु सम्पन्न भइसकेका छन् । अहिले दोस्रो चरणका कामहरु धमाधम भइरहेका छन् ।’ आयोजना प्रमुख श्रेष्ठका अनुसार दोस्रो चरणअन्तर्गत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदीका तीन स्थानमा पुल निर्माणका कामहरु भइरहेका छन् । ‘आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरिया तिरका नहरमा पानी सञ्चालन गरेको छ’, उनले भने, ‘पहिले वैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहरको बीचमा बनिरहेको विद्युत् गृहको केही काम गर्नुपर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो ।’ अहिले जेठ ३१ गतेदेखि रानी, जमरा र कुलरिया नहरमा करिब ४५ क्युमेक्स पानी सञ्चालन गरिएको र लम्की तिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताए । आयोजनाअन्तर्गत ४.७ मेगावाट क्षमताको विद्युत् पनि उत्पादन हुने तयारीमा रहेको छ । ‘निर्माणाधीन विद्युत् उत्पादनको काम पनि यसै आर्थिक वर्षभित्र सक्ने आयोजनाको लक्ष्य छ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसै आर्थिक वर्षको असोज कात्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुगाएकाले केही काममा ढिलाइ भएको हो ।’ यस वर्ष पनि कर्णाली नदी किनारमा जथाभावी उत्खनन भइरहेकाले त्यो समस्या दोहोरिने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिकदेखि सरोकारवाला निकाय सजग हुनुपर्ने आयोजना प्रमुख श्रेष्ठको सुझाव छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानीमूल कुलाका १४ प्रशाखा कुला जमरा मुल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका आठ सय ६३ उपशाखा कुला रहेका छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ । किसान रामकृष्ण चौधरी आयोजनाले व्यवस्थित नहर बनाएर किसानका खेतसम्म वर्षभरि नै पानी पुग्ने व्यवस्था गरेमा यस क्षेत्रका किसान कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउँछन् । ‘आयोजना निर्माणाधीन अवस्थामा रहेकाले झन् किसानलाई कठिन भएको छ’, उनी भन्छन्, ‘निर्माणका बहानामा समयमा खेतमा पानी पुग्दैन । समयमै पानीको सुविधा भएमा किसानलाई खेती गर्न सहयोग हुन्छ ।’ आयोजनाको कृषि एकाइले यससँगै किसानलाई कृषिमा आत्मनिर्भर र आकर्षित गर्न प्राविधिक, कृषि औजार, मल, बीउ जस्ता कुरामा अनुदान लगायतका कार्य गर्दै आएको छ । यसबाट सयौँ किसान र कृषि समूहले लाभ लिँदै आएका छन् । रासस
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमा; सिन्धुली, रामेछापमा विद्युत् आपूर्तिमा सुधार हुने
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् । ३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ । दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो । १३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाहरुको विद्युत् जोडिएको छ । ती आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्कबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघू सबस्टेसनतर्फ प्रवाह गरिएको छ । १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ । रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिका अन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ । दोलखाको ती क्षेत्रमा अहिले लामासाँघू सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । साथै, सिन्धुलीको सुनकोशी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमासमेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने छ । नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाहरुको विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘नयाँ खिम्ती सबस्टेसनमा जोडिएका जलविद्युत् आयोजनाहरुको विद्युत् सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाडौं र धनुषाको ढल्केवरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हुदै आएको थियो, नयाँ खिम्तीमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि पूर्वाधार नहुँदा आफ्नै जिल्लामा ठूलो सबस्टेसन भएर पनि त्यहाँबाट आपूर्ति नपाउँदा त्यस भेगका उपभोक्ताहरु भरपर्दो र गुणस्तरीय विद्युत् उपभोगबाट बञ्चित थिए’, कार्यकारी निर्देशक घिसिङले भने । घिसिङका अनुसार नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्कबेर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएको थियो, लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या थिए, अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिमा रहेका समस्याहरु समाधान हुने छन् । ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८० किलोमिटर छ । लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताहरुले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या व्यहोर्दै आएका थिए । अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताए । सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइने छ । त्यसपछि खुर्कोट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने सिन्धुलीका सुनकोशी, गोलाञ्चोर र फिकल गाउँपालिकाहरुको विद्युत आपूर्तिमा पनि सुधार हुने छ । अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ । नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७मा सुरु गरिएको थियो । नेपाल सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ रहेको छ ।
जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको छ : ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रले फड्को मारेको बताएका छन् । ईप्पानको २१औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले विद्युत विकासमा निजी क्षेत्रको ठूलो भूमिका रहेको पनि बताएका हुन् । ढकालले नेपालमा कुल बिजुली उत्पादनमा ५० प्रतिशत भन्दा बढी निजी क्षेत्रको सहभागिता रहेको पनि बताए । प्रधानमन्त्रीको भारत भ्रमणमा बंगलादेशसम्म विद्युत व्यापारको बाटो खोलेको र व्यापारमा पनि सहजीकरणको वातावरण सिर्जना भएको बताएका छन् । ‘अहिले विद्युतका विकासकर्ता समस्यामा छन्, पीपीए, ट्रान्समिसन लाइन समयमा नहुँदा विद्युत खेर जाने लगायतका समस्याहरू आइरहेका छन्, यो समस्या तत्काल समाधान गरी विद्युतीय विकासको पूर्वाधारहरू तयार गर्न आवश्यक छ,’ उनले भने । यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न वैकल्पिक उपाय भनेकाे उर्जा रहेको बताएका छन् । उनले विद्युतीय क्षेत्रमा देखिएका समस्याहरूको समाधानको निमित्त सरकारको ध्यान केन्द्रित हुनुपर्ने पनि बताए । नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट बिद्युत किन्ने सम्झौता हुनु निकै ठूलो उपलब्धिमूलक विषय रहेको उनको भनाइ छ । पीपीए खुल्ला गरेको खण्डमा खर्बौं बराबरको विदेशी लगानी पनि भित्रिन सक्ने अग्रवालले जानकारी दिए । ऊर्जा उत्पादकहरू विद्युत व्यापारमा सक्षम रहेको र देश सम्वृद्धिको आधार जलविद्युत भएकाे अध्यक्ष अग्रवालकाे भनाइ छ ।