भरतपुरका २६ ठूला आयोजना सञ्चालित, ९३ प्रतिशत बासिन्दा खानेपानीको पहुँचमा
काठमाडौं । भरतपुर महानगरपालिकाले अन्य पूर्वाधारसँगै स्वच्छ खानेपानीको पहुँच विस्तारमा उच्च प्राथमिकता दिएको छ । अहिले महानगरपालिकाभित्रका ९३ प्रतिशत बासिन्दाले स्वच्छ खानेपानीको उयोग गरिराखेका छन् । पछिल्लो छ वर्षमा महानगरपालिकाभित्र २६ ठूला आयोजना सञ्चालित छन् । कतिपय निर्माण सम्पन्न भइसकेका छन् भने कतिपय अन्तिम चरणमा पुगेका छन् । महानगरपालिकाले खानेपानी व्यवस्थापन बोर्ड, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग मिलेर खानेपानीका आयोजना अघि बढाएको हो । महानगरपालिकाले दिएको जानकारीअनुसार ती आयोजनामा झण्डै चार अर्ब रुपैयाँ लगानी भएका छन् । अन्य ठूला आयोजनासमेत आउने चरणमा रहेका छन् । भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालका अनुसार चालु रहेका आयोजना सम्पन्न हुँदै गर्दा ९७ प्रतिशत जनतामा खानेपानीको पहुँच पुग्ने छ । छ वर्षअघिसम्म महानगरका ५७ प्रतिशत बासिन्दा मात्र खानेपानीको पहुँचमा थिए । त्यसो त महानगरपालिकाले मासिक सात हजार लिटरसम्म खानेपानी प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । चालु आर्थिक वर्षमा रु तीन करोड महानगरपालिकाले बिनियोजन गरेको छ । यसबाट बोर्डका मात्रै झण्डै १२ हजार उपभोक्ता लाभान्वित भएका छन् । भरतपुरमा बोर्डसँगै उपभोक्ता समितिले खानेपानीको व्यवस्थापन गर्दै आएको छ । झण्डै ४० ठूला–साना उपभोक्ता समितिले खानेपानी व्यवस्थापन गर्दै आएका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा शतप्रतिशत खानेपानी पु¥याउने गरी काम भइरहेको जानकारी दिइन । हाल सञ्चालनमा रहेका आयोजना सम्पन्न हुँदै गर्दा आउँदो एक वर्षमा भरतपुरका ९७ प्रतिशत उपभोक्ताकोमा पानीको पहुँच पुग्ने छ । उनले भनिन्, ‘हाम्रो दोस्रो कार्यकाल सकिनुपूर्वनै शतप्रतिशत उपभोक्ताकोमा पानी पु¥याउँदै छौँ ।’ कतिपयले पहुँच पुगेको ठाउँमा पनि प्रयोग नगरेका कारण प्रतिशत कम भएको हो । शारदानगर खानेपानी आयोजनामा रु ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख रुपैयाँ, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख रुपैयाँ, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख रुपैयाँ, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख रुपैयाँ र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख रुपैयाँ खर्च हुँने जनाइएको छ । त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा पाँच करोड ५८ लाख रुपैयाँ, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख रुपैयाँ, भरतपुर १० मा एउटै ट्याङ्की नौ लाख लिटरको निर्माण गरिएको छ । जुन नेपालकै सबैभन्दा ठूलो ट्याङ्की हो । कैलाशनगर–फूलबारी खानेपानी आयोजनामा रु आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख रुपैयाँ, पटिहानी खानेपानी आयोजनामा पाँच करोड ३५ लाख रुपैयाँ, मङ्गलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख रुपैयाँ, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख रुपैयाँ विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् । पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख रुपैयाँ, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख रुपैयाँ, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख रुपैयाँ, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख रुपैयाँ, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख रुपैयाँ, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख रुपैयाँ, भरतपुर खानेपानी विस्तार वडा नं २९ मा १० करोड दुई लाख रुपैयाँ, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख रुपैयाँ, विजयनगर खानेपानी आयोजना आठ करोड तीन लाख रुपैयाँ र भरतपुर महानगरपालि–१ मा एक करोड रुपैयाँ खानेपानी आयोजनामा खर्च गरिँदैछ । देवघाट खनोपानी आयोजनामा एक करोड दुई लाख रुपैयाँ, चौकीडाँडा खानेपानी आयोजना भरतपुर २९ मा पाँच करोड ९५ लाख रुपैयाँ, ठिकुरा रामनगर–१ ७२ लाख रुपैयाँ र ढोडेनी खानेपानी आयोजना एक करोड पाँच लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । गौरीगञ्जमा झण्डै ४० करोड रुपैयाँको लागतमा नयाँ आयोजना अघि बढाइँदै छ । महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको बताए । उनले पहाडी र समथर भू–भाग सबै ठाउँमा पानीको पहुँच पु¥याउने काममा महानगर लागि परेको बताए । उनले भने, ‘जनप्रतिनिधि आएपछि खानेपानी विस्तारमा भरतपुर अग्रणी रहेको छ ।’ महानगरपालिकाको पहलमा प्रदेश र सङ्घीय सरकारले खानेपानी विस्तारमा सहयोग गरेको उनले बताए । खानेपानीमा सहज पहुँच पुग्न कठिन भएको रामनगर क्षेत्रमा महानगरले अहिले अस्थायी रुपमा खानेपानी उपलब्ध गराएको छ । दीर्घकालीन आयोजना सङ्घीय सरकारमार्फत अघि बढाउन गुरुयोजना बनिरहेको महानगरले जनाएको छ । रासस
गण्डकीमा ३०० किमी सडक कालोपत्रे हुने
पोखरा । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ ।गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र-एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ । सडक पूर्वाधार निर्माणका लागि रु ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । सडक कालोपत्रेसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए । नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ । बूढीगण्डकी करिडोर, मस्र्याङ्दी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए । प्रदेशको प्राथमिकतामा रहेका उत्तर-दक्षिण द्रुतमार्गअन्तर्गतको भिमाद-डेढगाउँ-झ्यालबास-चोरमारा-दुम्कस्वास-त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उनले बताए । प्रदेश गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ । त्यसको कार्यान्वयनका लागि १९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले विश्वास लिएको छ । रासस
बाढीले दर्जनौ जलविद्युत आयोजनामा खर्बौंको क्षति
काठमाडौं । नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान)ले एक विज्ञप्ति जारी गर्दै एक दर्जन बढी जलविद्युत आयोजनामा खर्बाैं रुपैयाँ बराबरको क्षति पुर्याएको बताएको छ । कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ ओटा जलविद्युत आयोजनामा खर्बौं रुपैयाँ बराबरको क्षति पुर्याएको ईप्पानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशिघ्र राहत र उद्धार तथा वेपत्ताहरूको खोजी कार्यका लागि ईप्पान स्थानीय प्रसाशन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछ,’ ईप्पान अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ ।’ साथै, सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन् । अहिलेसम्म ४ जना मृत फेला परेका ईप्पानको विज्ञप्तिमा भनिएको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक मजदूर तथा कर्मचारीप्रति ईप्पानले गहिरो समवेदना व्यक्त गरेको छ । त्यसैगरि ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी–१ २५ मेगावाट, काबेली बी–१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्याएको इप्पानले उल्लेख गरेको छ । मनसुन सुरु भएको १÷२ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्याएकोले आगामी दिनमा जलविद्युत प्रवद्र्धक र आयोजनामा खटिएका कर्मचारी मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इप्पानले अनुरोध गरेको छ । त्यस्तै, सबै ‘कभरेज’ हुने गरि बीमा गर्न जलविद्युत प्रवद्र्धकहरूलाई ईप्पानले आग्रह गरेको छ ।