‘गौरव गर्न लायक आयोजना राष्ट्रिय गौरवका आयोजना हुन्, यसलाई सक्नुपर्छ’
काठमाडौं । योजना आयोगका पूर्व उपाध्यक्ष एवंम पूर्व गर्भनर डा. युवराज खतिवडाले राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनालाई फोकस गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयनमा आउने गरी सोह्रौँ योजना तर्जुमाको तयारीका सन्दर्भमा गरेको अन्तरक्रिया कार्यक्रममा सो बताएका हुन् । ‘अहिले हामीले सबैभन्दा बढी गाली खाने भनेको राष्ट्रिय गौरवका आयोजनाले हो, मेरो अनुरोध राष्ट्रिय गौरवका आयोजनालाई राष्ट्रिय प्राथमिकताको आयोजना भन्नुस् र अरु सबै आयोजनालाई छोडेर प्राथमिकता यसैलाई दिनुस् र कार्यान्वयन गर्नुस्,’ उनले भने । उनले गौरवका आयोजना धेरै भएकोे र त्यसलाई सम्पन गरेर तथ्यांक घटाउनुपर्नेमा जोड दिए । ‘गौरव गर्न लायकका भनेका आयोजना नै गौरव गर्न लायक आयोजना हुन्, राष्ट्रिय आवश्यकताको आयोजना नै गौरवका आयोजन हुने हो, त्यसमा हामी नै गौरव गदैनौँ भने गौरवका आयोजना राज्यले कसरी भन्छ,’ उनले प्रश्न गर्दै भने । उनले केन्द्र, प्रदेश र स्थानीय तहमा एकै प्रकारका अयोजना भएको भन्दै त्यसमा तालमेल मिलाउन योजना आयोगले भूमिका खेल्नुपर्नेमा जोड दिए । ‘अहिले संघको कार्यक्रम, प्रदेश र स्थानीय तहको कार्यक्रममा रिसोर्स चाहि हामी बाड्छौँ, कार्यक्रममा हामी प्रतिस्पर्धा गछौँ, उनले भने, ‘अनि त्यही रिसोर्स हामी कता दिएका छौँ, हाम्रा कार्यक्रममा प्रतिस्पर्धीका रुपमा प्रदेश र स्थानीय तहमा आउँछन्, सामाजिक सुरक्षाका कार्यक्रम, कृषिका कार्यक्रम वा अन्य किसिमका कार्यक्रम हेर्नुभयो भने बुझिन्छ । यस्तो हुँनाले कसरी हामीले स्थानीय तह, प्रदेश र संघको कार्यक्रम तथा योजनाहरुमा अलिकति तालमेल मिलाउनुपर्छ ।’ यस्तै, उनले राष्ट्रिय तथ्यांक कार्यालयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिनु नै गलत भएको बताएका छन् । राष्ट्रिय योजना आयोगको मुख्य काम नै तथ्यांकलाई विश्लेषण गर्ने रहेको भन्दै उनले प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछि तथ्यांक उपलब्धमा नै समस्या आउनसक्ने आकलन गरे । ‘मैले भरखर एउटा तथ्यांक हेरे मलाई त्यसमै शंका लागिसक्यो, तपाईहरु कसरी भेरिफाईड गर्नुहुन्छ’, उनले प्रश्न गर्दै भने, ‘१५ प्रतिशत गरिवीको रेखामुनि जनसंख्या भनिएको छ, यो कहिलेको तथ्यांक हो, तपाईहरुले सानो क्षेत्रमा कुनै सर्भे गर्नुभएको हो कि, कुनै रिक्रेसन गर्नु भएको हो कि तथ्यांक विभागबाट लिनुभएको हो, मैले तथ्यांक विभागलाई कसरी १५ प्रतिशत भयो भनेको सोधेको थिए, उहाँहरुले हामीलाई थाहा नै छैन भन्नुभएको छ ।’ पछिल्लो समय सांसदहरुले नै योजना आयोगको काम छैन् खारेज गर्नुपर्छ भन्ने गरेको भन्दै उनले आयोगको साख जोगाउनुपर्नेमा जोड दिए । ‘आयोगलाई बन्द किन नगर्ने भन्नेर अहिलेकै सांसदहरुले मलाई धेरै कुरा गर्नुभएको छ, मैले उहाँहरुलाई लामो कुरा गर्दै भन्दै आएको छु’, उनले भने, ‘योजना आयोग स्थापना गर्नुको लक्ष्य र उद्देश्य तपाईहरुले जोगाउनुस ।’ आयोगका पूर्व उपाध्यक्ष पृथ्वी वहादुर लिगलले सरकारले पोलिसी बनाउन योजना आयोगलाई छुटाउने गरेको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपष्दि कार्यालयको प्रमुख आर्थिक सल्लाहकारको रुपमा योजना आयोग रहन्छ, तर सरकारले पोलिसी बनाउन कुनै सल्लाह नै गरेको पाइदैन’, उनले भने, ‘आयोगको मुख्य काम नै पोलिसी बनाउने र त्यसको डिफेन्स गर्नु हो, यसको साख जोगाउनुस् ।’ उनले तथ्यांक कार्यालयलाई योजना आयोग अन्तरगत नै राख्नुपर्ने भन्दै तथ्यांक पाउनै कठिन कुने धारण व्यक्त गरे । आयोगले बुधबारदेखि सोह्रौँ योजना तर्जुमाको तयारी अन्तरगत पहिलो चरणमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्यहरु तथा अर्थविद्हरुसँग छलफल गरेको छ ।
नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा
काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । ६५ मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी १ सय मिटर कम भएको छ । निर्माण सुरु भएको दुई वर्षपछि पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का प्रमुख किरण कार्कीले जानकारी दिए । पुल निर्माणसँगै सेती दोभानमा घुमाउरो बाटोका कारण सवारीसाधन विस्तारै चलाउनुपर्ने बाध्यता हटेको छ । यो महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने कार्कीले जानकारी दिनुभयो । उनका अनुसार यी पुलको फिनिसिङको काममात्र बाँकी रहेको छ । १ अर्ब २७ करोड रुपैयाँमा ३ वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो । ३ वर्षका लागि २ प्याकेज बनाएर ठेक्का लगाइएको थियो । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो । निर्माणाधीन अन्य ८ पुल दसैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ । ती सबै पुलको ढलान भइसकेको कार्कीले जानकारी दिए । मुग्लिन नजिकैको खहरे खोला पुल र तुइन खोला पुलको भने धेरै काम बाँकी छ । तुइन खोलामा पहाड फोर्न विस्फोट नै गराउनुपर्ने भएकाले समय लाग्ने देखिएको छ । विस्फोटक पदार्थ खरिद गर्न सरकारले स्वीकृति दिइसकेको छ । यसअघि चारवटा पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । नारायणगढ–मुग्लिन सडक भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज निर्माण सुरु
काठमाडौं । ३ असारको अविरल बर्षापछि आएको बाढीले क्षति पुरयाएका भौतिक संरचनाको पुर्ननिर्माण शुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुर्ननिर्माण थालेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । उनका अनुसार ३ असारको बाढीले मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल बगाएको थियो । पुल बगाएको दोस्रो दिन ४ असारदेखि नै पुर्ननिर्माण थालिएको हो । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले हेवा खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुख लगायत मातहतका निकायलाई निर्देशन दिइसकेका छन् । सोमबार प्रधानमन्त्रीसहित बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेकामन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुर्ननिर्माण थाल्न निर्देशन दिएका हुन । मन्त्रीको निर्देशनपछि सोमबारदेखि काम शुरु भएको आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । ‘बेलिब्रिज निर्माणका सामग्रीहरु निर्माण स्थलमा पुगिसकेका छन्, केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउँछौ,’ उनले भने ।