मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
मुग्लिन । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, ’बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ, यो आवमा सात किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।’ उनका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले बताए । ’सवारी साधनलाई आगमन सहज बनाउन एकातर्फमात्रै सडक कालोपत्र भइरहेको छ’, उनले भने । वैशाखमै कालोपत्र गर्ने तयारी गरिए पनि प्राविधिक कारणवश ढिलाइ भएको उक्त खण्डका योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । उनले भने, ’निर्माण कम्पनीका कारण केही ढिला गरी कालोपत्र सुरु भएको छ, असार १५ भित्रै सात किलोमिटर कालोपत्र गर्ने लक्ष्य हो ।’ उनका अनुसार सिमसिम पानी पर्दा पनि कालोपत्र गर्दा केही फरक पर्दैन । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको सुवेदीको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिमखण्डको कामको गति भने सुस्त छ । निर्माण कम्पनीका कारणका यो खण्डमा काम सुस्त रहेको बताइएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख मुआब्जा वितरण गरिनेछ । इन्जिनियर पाण्डेका अनुसार घरटहरा भत्काउन ८३ जनालाई पहिलो किस्ता बापतको रकम भुक्तानी गरिएको छ । घरटहरा हटाउनका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा आवश्यक पर्नेमा १४ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको पाण्डेले बताए । उनले भने, ’घरटहरासमेत गरी छ सय ३१ संरचनाका लागि मुआब्जा वितरण गर्न अहिले बजेट सकिएको छ, असार मसान्तसम्म रकम निकासा भएर आएपछि भुक्तानी हुन्छ ।’ पाण्डेका अनुसार हालसम्म चार सय ७२ घरटहरा भत्काइएको छ । त्रियासी जना लाभग्राहीले पहिलो किस्ता लगेर संरचना भत्काउन सुरु गरेका छन् । त्यस्तै पहिलो किस्ताका लागि दुई करोड रुपैयाँ रकम माग गर्दै निवेदन आएको छ । ’निवेदन आए पनि अहिले भुक्तानीका लागि रकम नभएकाले केही समय भुक्तानी दिन सक्ने अवस्था छैन, रकम आउनेबित्तिकै उनीहरुलाई पनि भुक्तानी हुन्छ’, पाण्डेले भने । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकतालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस
ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले–भगवती सडक कालोपत्र सुरु
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । रघुगङ्गा–३ पिप्ले, वडा नं २ भगवती र वडा नं १ बेगलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गरी २०६४ सालमा गलेश्वरदेखि पिप्ले हुँदै भगवतीसम्मको सडकको ट्र्याक निर्माण गरिएको थियो । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र १ नमूना सडक कार्यक्रम’अन्तर्गत विसं २०७६ देखि गलेश्वर– पिप्ले– भगवती– बेगखोला सडक कालोपत्र योजना अघि बढे पनि प्राकृतिक प्रकोप, कोरोना महामारी, निर्माण व्यवसायीको ढिलासुस्तीलगायतका कारण ढिला गरी कालोपत्र हुन लागेको हो । आयोजनाअन्तर्गत रघुगङ्गाको वडा नं ३ पिप्ले स्कुलचोकदेखि वडा नं २ को भगवती मैदानसम्मको चार दशमलव चार किलोमिटर सडकमा कालोपत्रको काम अघि बढेको पूर्वाधार विकास कार्यालयका अधिकृत अर्जुन शर्माले जानकारी दिए । कार्यक्षेत्रमा परिचालित निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले कालोपत्र गर्नका लागि बेस र सबवेसको काम सकेर प्राइमकोट विछ्याउन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर सवारी साधन आगमनलाई सार्वजनिक सूचनामार्फत रोकेर कालोपत्रको कामलाई अघि बढाएको निर्माण कम्पनीले जनाएको छ । मोटो चिप्स र मसिनो चिप्स राखेर ट्र्याककोर्ट गरेपछि केही दिन सवारीसाधन आवातजावात गरे प्रश्चात डिविएसडी प्रविधिको कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माण व्यवसायीको लापरबाहीले चार वर्षदेखि थलिएको यस सडकमा निर्माण कम्पनीले ११ करोड १४ लाख ९० हजार रुपैयाँ भुक्तानी लगिसकेको छ । विसं २०७६ देखि सुरु भएको आयोजनाको एपेक्स–खड्का कृष्ण जेभीले १८ करोड ४९ लाख आठ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो सडक स्तरोन्नति भएपछि पिप्ले, भगवती र बेगखोलाका तीन हजारभन्दा बढी घरधुरी लाभान्वित हुने छन् । सदरमुकाम बेनीदेखि गलेश्वर, पिप्ले र भगवती हुँदै बेग सडक कालोपत्र भएमा रघुगङ्गावासीलाई आवातजावतमा सहज, कृषिउपज निकासी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान ढुवानीका साथै बिरामीलाई समयमै अस्पताल पु¥याउन सकिने वडा नं २ का वडाध्यक्ष अमृत भण्डारीले बताए । रासस
बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा
गलेश्वर । कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरुभएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताए। मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदूर परिचालन गरी काम सुरु गरिएको बताए। उनले साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भट, दुईसय मिटर आरसिसी ढलानको काम सकिएको जानकारी दिए । निर्माण व्यवसायी कार्कीले सम्झौता मितिको एकवर्ष अघिनै काम सक्ने प्रतिबद्धता अनुरुप काम अगाडि बढाइएको बताए । राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत बेनी–गलेश्वर खण्डमा निर्माण कम्पनीले पाँच महिनामा ८० प्रतिशत काम सकेपछि जिल्लामा सञ्चालित अन्य योजनका निर्माण व्यवसायीलाई समेत दबाब उत्पन्न भएको छ । योजना प्रमुख प्रजापतिले कोरिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबैभन्दा छिटो र धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको बताए । उनले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक पराकिलो बनाउने काम, सबवेस र दुई सय मिटर आरसिसी ढलानलगायत काम सकिएको जानकारी दिए । उनका अनुसार यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी छ । ‘यसलाई बर्खापछाडी सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ’, उनले भने । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी आयोजना र निर्माण कम्पनीबीच १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । उक्त सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगङ्गा, अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने स्थाीयको भनाइ छ । रासस