२० हजार दुई सय हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी
राँझा। राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँकेको २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार दुई सय गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको आयोजनाका सूचना अधिकारी इन्जिनियर विशाल यादवले जानकारी दिए । बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आर्थिक वर्ष २०६२/६३ देखि सिक्टा सिँचाइ आयोजना निर्माण थालिएको थियो । आयोजना सुरु भएको करिब दुई दशकमा लक्ष्यको ५० प्रतिशत क्षेत्रमा सिँचाइ पुग्न थालेको छ । आयोजनाका सूचना अधिकारी यादवका अनुसार ३९ किलोमिटर पूर्वी नहर र सोअन्तर्गतका छ शाखा नहरको निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको हो । अहिले पूर्वी नहरअन्तर्गत नरैनापुर गाउँपालिकाको क्षेत्रसम्म पानी पुगेको छ । राप्तीसोनारी गाउँपालिका–६ का वडा सदस्य नरबहादुर पुनले नहरमा नियमित पानी बगेपछि यस वर्ष बेलैमा धानको बीउ रोप्न पाएको बताए। फत्तेपुरमा सिक्टा सिँचाइको पानी बगेपछि आकाशे पानीको भरमा खेती गर्ने बाध्यता अब समाप्त भएको उनको भनाइ छ । राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूले सिक्टा सिँचाइको पानी फत्तेपुर क्षेत्रका लागि बरदान भएको बताए। उनले गत वर्षदेखि नै सिक्टा सिँचाइको पानी उपयोग गरी किसानले बेलैमा धानको बीउ रोप्नाका साथै तरकारी खेतीसमेत गर्न सफल भएको बताए । राप्ती सोनारीको अगैयास्थित राप्ती नदीमा तीन सय १७ मिटर ब्यारेज निर्माण गरी बाँकेकोे ४२ हजार सात सय ६६ हेक्टर भूमिमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्य लिई नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरबाट राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर जमिन र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । पश्चिमी नहरको सिँचाइले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका किसानले समेत यस वर्ष समयमै धान रोपाइँ गर्न पाएको कोहलपुर–१५ का स्थानीय अगुवा सन्तराम थारूले बताए । उनले नहरमा नियमित पानी बगेपछि किसानले मोटरको प्रयोग गरी पानी तानेर पनि आफ्नो खेतबारी सिँचाइ गरेको जानकारी दिए। किसानलाई आवश्यकताअनुसार माग हुनासाथ नहरमा पानी छाडिदिने गरेको इन्जिनियर यादवको भनाइ छ । सिँचाइ सुविधा भएपछि किसानले तीन बाली लगाउन सक्ने भएका छन् । अहिले पश्चिमी मूल नहरअन्तर्गत शाखा नहर विस्तारको काम भइरहेको छ । पूर्वी नहरअन्तर्गत नरैनापुर क्षेत्रमा विस्तारका लागि आवश्यक तयारी गरिएको छ । बस्तीभन्दा बाहिर वन क्षेत्रबाट नहर लैजानुपर्ने स्थानीयको मागअनुसार आवश्यक अध्ययन भइरहेको इन्जिनियर यादवले बताए । आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरवासीले गत वर्ष बर्सात नभएका कारण धान रोप्न नपाएकाले पनि अहिले नहर निर्माणप्रति चासो र चिन्ता देखाएको स्थानीय अगुवा सोहनलाल यादवले बताए। बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गरी बाह्रैमास किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ काम भइरहेको बताए । उनले नरैनापुर क्षेत्रमा नहर विस्तारका लागि सहमति जुटिसकेकाले सोही अनुरुप काम सुरु हुने विश्वास गर्दै आवश्यक समन्वयका लागि आफूले पहल गरिरहेको जानकारी दिए । सिक्टा सिँचाइ आयोजनाका लागि आगामी आव २०८०/८१ मा ८० करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आवमा यो बजेटबाट सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहरको नियमित मर्मत गरी सञ्चालनलाई निरन्तरता दिइनाका साथै पूर्वी मूल नहरतर्फको ३९ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण कार्यको सुुरुआत गरिने आयोजनाले जनाएको छ ।रासस
साढे २ अर्ब लगानीमा घारखोला जलविद्युतको परीक्षण सुरु
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सुरु भएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना, प्रसारण लाइन, स्विचार्ड निर्माण र उपकरण जडानको काम सकेर मङ्गलबारदेखि परीक्षण थालेको हो । ‘असार २६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–६ पोखरे हुँदै वडा नम्बर २ भुरुङ र वडा नम्बर ३ दानाको सवस्टेसनसम्म ३३ केभी प्रसाारण लाइनमा विद्युत् प्रसारण हुने भएकाले विद्युतीय तार, पोल तथा स्टेसन आदि संरचना नछुनु होला,’ आयोजनाले जारी गरेको सूचनामा उल्लेख छ । आयोजनाका प्रमुख विनोद देवकोटाले हेडबक्स, टनेल, पेनस्टक पाइप तथा टर्बाइनको परीक्षण, पुनः परीक्षणपछि विद्युत् प्राधिकरणको प्रत्यक्ष निगरानीमा परीक्षण सुरु गरिएको बताए । ‘एक हप्तादेखि आयोजनाले हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फका सबै कम्पोनेन्टको एक महिनासम्म अनुगमन गर्यौँ, सबै सूचक न्युट्रल भएपछि परीक्षण उत्पादन सुरु गरेका हौँ । प्राधिकरणका प्रतिनिधिको रहोबरमा १५ दिन परीक्षण उत्पादनपछि व्यावसायिकरूपमा उत्पादन सुरु गर्छांै,’ उनले भने । वि.सं २०७४ चैतदेखि निर्माण थालिएको आयोजनाले अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित विद्युत्गृहबाट सोही गाउँपालिका–२ भुरुङ तातोपानी हुँदै ३ नम्बर वडामा पर्ने दाना सवस्टेसनसम्मको ८ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमा विद्युत् प्रसारण गर्न थालेको हो । विद्युत् प्रवाह गर्ने क्रममा प्रसारण लाइनमा देखिएको समस्या पहिचान गरेर समाधानका लागि प्राविधिक टोली परिचालन गरिएको आयोजनाले जनाएको छ । विद्युत्गृहमा रहेका दुईवटै युनिटका टर्बाइन र जेनेरेटरको परीक्षण सफल भएको छ । अन्नपूर्ण गाउँपालिका–५ कुरिलाखर्कमा बाँध बनाई घारखोलाको पानी ३ हजार ५ सय मिटर लामो सुरुङबाट सोही गाउँपालिका वडा नं ६ अमिलाकाफलस्थित आउटलेटबाट १ हजार २ सय मिटर पेनस्टक पाइपमा ४८५ मिटर हेडबाट बेनी–जोमसोम सडक छेउको पोखरेबगरमा रहने विद्युत्गृहमा जोडिएको छ । २ अर्ब ४१ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको अन्तिम लागत खर्च सार्वजनिक गरिएको छैन । विसं २०७८ मा सक्ने लक्ष्य रहे पनि कोरोना, पहिरो, सडक यातायातको असुविधालगायतका कारणले निर्माण अवधि दुई वर्ष लम्बिएको प्रवद्र्धकले बताएका छन् । पोखरेबगरस्थित विद्युत्गृहबाट उत्पादित विद्युत् ८ किमीमाथि रहेको २२० केभी दाना सबस्टेसनसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइनले जोडिएको छ । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि इन्डिया, हाइड्रोमेकानिकल ठेकेदार सिइ हाइड्रोमेकानिकल वर्क प्रालिका प्राविधिकले विद्युत्गृहमा उपकरण जडानको काम गरिरहेका हुन् । सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चरले भौतिक संरचना निर्माण सकेको हो । विद्युत्गृहको नजिकै स्विचार्ड बनाइएको छ । आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् । नागरिक ऊर्जा बुटवल लिमिटेडको अगुवाइमा रुपन्देहीका सर्वसाधारणले पनि लगानी गरेका छन् । आयोजना प्रभावित र सर्वसाधारणका लागि संस्थापक सेयर लगानी आह्वान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रवद्र्धकले बताएको छ । रासस
पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न
काठमाडौं । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमाबाट बाराको अमलेखगञ्जस्थित डिपोमा ४ हजार सय किलोलिटर क्षमताका २ पेट्रोल ट्याङ्क, २ सय ५० किलोलिटर क्षमताका २ ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माणका भइरहेको प्रमुख उपाध्यायले बताए । सोही परियोजनाअन्तर्गत फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्टयाउने ओडब्ल्युएस सिस्टम तथा पिएमसीसी कक्ष निर्माणको कामअघि बढेको उनको भनाइ छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इनफ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराले जनाएको छ । यसै परियोजनाअन्तर्गत निर्माण हुन लागेको दुई पेट्रोल ट्याङ्कमध्ये एउटा नेपाल आयल निगम र अर्को ट्याङ्क भारतीय आयल निगमको लागतमा निर्माण भइरहेको छ । पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिने सम्झौता भएको प्रमुख उपाध्यायको कथन छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलको आयात हुने जनाइएको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ, आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुन्छ,’ प्रमुख उपाध्यायले भने । यो आयोजनाको काम यही वर्षको डिसेम्बरसम्ममा सकिने र नयाँ वर्ष २०२४ जनवरीदेखि पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात हुने उनले जानकारी दिए । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडा बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख उपाध्यायको भनाइ छ । यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनका लागि इन्धन भण्डारण गर्ने सरकारको नीतिअनुसार नेपाल आयल निगमले थप ५÷५ हजार किलोलिटर क्षमताको २ वटा ट्याङ्क निर्माणको कामअघि बढाएको प्रमुख उपाध्यायले बताए ।रासस