राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बित्दापनि सम्पन्न हुँदैन काम
काठमाडौं । बागलुङ ३ मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश पालिका जोडिन्छन् । बरेङ, ताराखोला र तमान खोलाबाहेक ७ गाउँपालिकामा यी मुख्य सडक पुगेका छन् । तर, मध्यपहाडी लोकमार्गबाहेक अन्य सडकमा गाडी कम गुड्छन् । अर्बौँ लगानीमा निर्माण भएका कालीगण्डकी करिडोर र सालझण्डी–ढोरपाटन सडक अहिलेसम्म पनि पूर्णरूपमा स्तरोन्नति हुनसकेका छैनन् । स्तरोन्नति नभएका सडकमा जोखिम मोलेर कसैले पनि यात्रा गर्दैन । मध्यपहाडी लोकमार्गले बागलुङको पूर्वी सिमाना मालढुङ्गाबाट पश्चिम सिमाना पातीहाल्नेसम्म जोडिएको छ । यस सडकमा बाह्रै महिना देशको राजधानी काठमाडौँलगायतका ठूला सहरबाट यातायात सञ्चालन हुन्छ । यस सडकले जिल्लाको बागलुङ नगरपालिका, ढोरपाटन, गलकोट नपा, काठेखोला, बडिगाड र निसीखोला गाउँपालिका गरी ६ वटा पालिका जोडिएको छ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरले जैमिनी नपा र बागलुङ नपा जोडिएको छ । यो सडकमा स्थानीय गाडीमात्रै चल्छन् । ठूला सहरबाट गाडी आउँदैनन् । सालझण्डी–ढोरपाटन सडकले निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिका जोडिन्छ । यस सडकमा पनि ठूला सहरबाट गाडी सञ्चालन भएका छैनन् । मध्यपहाडी लोकमार्गको अब करिब १२÷१४ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ भने सालझण्डी–ढोरपाटन स्तरोन्नतिका लागि सरकारले ६२ करोड रुपैयाँ विनियोजन गरेपनि अहिलेसम्म निर्माण कम्पनीले काम गरेको छैन । नेपालको एकमात्रै सिकार आरक्षण ढोरपाटन जोड्ने सडकको दुरावस्था छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत करिब ३२ किलोमिटर पर्छ । अहिले यस खण्डमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । उनले राष्ट्रको गौरवको आयोजनाका काम तीव्रगतिमा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको बताए । वि.सं. २०७३ मा खुलेको करिडोरको ट्रयाक अहिले बल्ल स्तरोन्नति हुन थालेको छ । समयमा योजनाको काम नसकिँदा व्यापारिक केन्द्रबाट चल्नुपर्ने गाडी चल्न नसकेको उनको भनाइ छ । कालीगण्डाकी करिडोर कालोपत्र भएर निरन्तर सञ्चालनमा आए बागलुङबाट बुटवल पुग्न झन्डै २ घन्टाको दूरी छोटिने उनले बताए । ‘करिडोर २÷३ देशमात्रै जोड्ने सडक नभएर व्यापारिक सडक पनि हो, यो सडक सञ्चालनमा आए भारतबाट सिधै बागलुङमा सामान ढवानी गर्न सकिन्थ्यो, बुटवल, भैरवहालगायत तराईका व्यापारिक केन्द्रमा पुग्न पोखरा पुग्नुपर्ने थिएन,’ उपप्रमुख शर्माले भने, ‘करिडोर हुँदै बुटवल पुग्न पोखराबाट भन्दा यताबाट झन्डै दुई घन्टा छोटो हुन्छ, अहिले काम भइरहेको छ, निरन्तर यातायात सञ्चालन हुन थाल्यो भने यो सडकले बागलुङको मुहार फेर्ने छ ।’ मध्यपहाडी लोकमार्ग बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । त्यसमध्ये अधिकांश क्षेत्रमा कालोपत्र भए पनि काठेखोला खण्डमा काम हुनसकेको छैन । ट्रयाक खुलेको साढे २ दशक बढी हुँदा पनि सडक स्तरोन्नति हुन नसक्दा लोकमार्गमा यात्रा गर्ने हजारौँ यात्रुले सास्ती खेप्नुपरेको काठेखोलाका अध्यक्ष राजु थापाले बताए । यो सडकमा हरेक दिन दर्जनौँ साना–ठूला गाडी गुड्ने गरेको भन्दै सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना जोखिम पनि उत्तिकै बढेको उनको भनाइ छ । सालझण्डी–ढोरपाटन सडक बागलुङ खण्डमा गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर पर्छ । गुल्मी खण्डमा कालोपत्र गर्ने ठेक्का लगाइएको छ भने अर्घाखाँची खण्डमा १३ किलोटिर कालोपत्र भएको छ । यस सडकलाई यस वर्ष ४० करोड रुपैयाँ विनियोजन भएको थियो । ढोरपाटन नपाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले घरै अगाडि सडक भए पनि स्थानीयले सहजरूपमा प्रयोग गर्न नपाएको बताए । ढोरपाटन प्राकृतिकरूपले सम्पन्न भए पनि सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको उनले बताए । उनले निर्माण कम्पनी र आयोजना कार्यालयलाई काम तीव्रगतिमा अगाडि बढाउन आग्रह गरे पनि सुनुवाइ नभएको बताए । केन्द्रीय आयोजना हुँदा नगरपालिकाले काम गर्न नसकेको भन्दै सडकलाई सहज नबनाएसम्म नागरिकले दुःख पाइराख्ने उनको भनाइ छ । हिउँदमा धुलो र बर्खामा हिलोले आजित हुनुका साथै साँघुरो सडक हुँदा यात्रा जोखिमपूर्ण हुने गरेको उनले बताए । ‘दिनदिनै ढोरपाटनमा पर्यटक आउने गर्छन्, सडकको अवस्था देखेर निरास भएर फर्किन्छन्, निर्माण कम्पनीले समयमै काम नगर्दा यसको असर स्थानीय र पर्यटकलाई परेको छ,’ उनले भने, ‘हामीहरू भन्दाभन्दा हैरान भयौँ, जनताले नगरपालिकाले सडक बनाएन भन्छन्, यो सडक बनाउने अधिकार हामीलाई छैन, पर्यटकीय गन्तव्यका रूपमा उत्कृष्ट रहेको ढोरपाटन सडकका कारण पछाडि परेको छ ।’रासस
हेटौँडामा राजमार्ग विस्तार थालियो
हेटौँडा । हेटौँडा उपमहानगरपालिका क्षेत्रसित जोडिएको पूर्वपश्चिम राजमार्ग विस्तार आजदेखि सुरु भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले जारी गरेको १५ दिने सूचनाको म्याद सकिएसँगै राजमार्ग विस्तारको काम अघि बढेको हो । राजमार्गभित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालयको पर्खाल हटाएसँगै सडक विस्तार थालिएको वडाध्यक्ष सुनिल मोक्तानले जानकारी दिए । ‘कडा कार्यालयको २५ मिटर जग्गा सडक क्षेत्रमा पर्ने भएपछि सडक विस्तार कार्यलाई सघाउन आवश्यक नापजाँच गरेर पर्खाल भत्काउन लगायौँ’, उनले भने । सडक विस्तारको काम पेचिलो बन्दै गइरहेका बेला उपमहानगरले केही साताअघि बजार क्षेत्रको सडकको दायाँबायाँ राखिएका विभिन्न फलफूलका बोटबिरुवा, गमला र फलामका रेलिङ हटाएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामाले सडक विस्तारबाट हेटौँडाको सुन्दरता बढ्ने उल्लेख गर्दै उनले सो कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरिन् । सडक डिभिजन कार्यालयका प्रमुख राजेश यादवले कार्यालयले घरटहरालगायतका संरचना हटाउन दिएको म्याद सकिएकाले आजदेखि अदालतमा फछ्र्योट भएर आएका तीन सय ४० घरको सडकमा पर्ने जग्गा खाली गराइने उनले जानकारी दिए। रासस
अलपत्र त्रियुगा पुलको काम एक बर्षमा सक्छौ : यातायातमन्त्री
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बर्षौदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण ब्यवसायीलाई निर्देशन दिएका छन् । तीन बर्षभित्र काम सक्नेगरी महालक्ष्मि लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । तीन बर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्नभई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए । पुल भत्किएको दुई बर्षसम्म निर्माण कम्पनीले काम नथालेपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधिहरु डेलिकेशनका लागि आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण ब्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गरेका छन् । ‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण ब्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ’ मन्त्री ज्वालाले भने ‘दिर्घ रोगी योजनामाथी एक्शन थालिसकेका छौ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक बर्षभित्र सक्नु पर्दछ ।’ मन्त्री ज्वालाले त्रियुगाको पुल एक बर्षभित्र सक्नेमा ढुक्क रहन आग्रह गरेका छन् । कार्यबहाक सचिव अर्जुन थापाले क्रानिकरुपमा रहेका पुलहरु अब बन्नेक्रममा रहेको बताए । ‘देशभर साढे चार हजार पुलहरुको निर्माण कार्य चलिरहेको छ, त्रियुगा, कमला र जब्दीघाट तीन पुलमात्र समस्यामा थिए, त्यसको हल पनि हामीले प्राविधिकरुपमा खोजिसकेका छौ ।’ उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल बर्षौदेखि अलपत्र छ । अलपत्र पुलका बिषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, नीजि सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक बर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।