पश्चिम म्याग्दीमा बन्दै १३ जलविद्युत् आयोजना

<p>काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् । प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको [&hellip;]</p>

काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन र निर्माणको चरणमा प्रवेश गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि जलविद्युत् आयोजना धमाधम निर्माण हुन थालेका हुन् ।

प्राधिकरणले मालिका गाउँपालिका–७ मा १३२ केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ । डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण हुन थालेपछि अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका हुन् । सन् २०२४ भित्र डाँडाखेत सबस्टेशन र प्रसारण लाइन निर्माण गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।

जलविद्युत् आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रिखोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेका छन् । शिवरात्रिखोलाको पहरामा अड्किएको सडक निर्माणको काम धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेर सफल बनाएको थियो ।

शिवरात्रि खोलामा मार्ग खोलेपछि त्यसअघि सडक निर्माण भएको हो । विभागका अनुसार हाइड्रो इम्पायर प्रालि काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ । आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युत गृह निर्माणको काम थालिएको बताए ।

सिन्कोस र म्याग्दीखोलाको दोभानभन्दा १३० मिटर तल म्याग्दीखोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदी भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट ३ आयोजनाले निर्माणको अनुमति पाएका छन् ।

५३.५ मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४.७० मेगावाट क्षमताको मुदीखोला र ५७.३० मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् ।

म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालि र ऊर्जा डेभलपर्सबीच गत वर्ष लगानी सम्झौता भएको थियो । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको २३.७० मेगावाट क्षमताको म्याग्दी खोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रियामा छन् ।

एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४.७० मेगावाट क्षमताको मुदी खोला निर्माणको अनुमति पाएको छ । सुशमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबानखोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति मागेको छ ।

दरखोला हाइड्रोपावर लिमिटेडले ६.५ मेगावाट क्षमताको दरखोला साना जलविद्युत् आयोजना, सिम्कोश हाइड्रोपावर लिमिटेडले धवलागिरि–४ मा ३.४५ मेगावाट क्षमताको सिम्कोश जलविद्युत् आयोजना, फ्रेस वाटर इनर्जी नेपालले धवलागिरि–४ मुदीमा १२.७३ मेगावाट क्षमताको अपर मुदी र सुशमित इनर्जीले धवलागिरि–४ मुदीमा ९.५ मेगावाट क्षमताको म्याग्दीखोला ‘बि’जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् ।

प्रकाश जोशीले धवलागिरि गाउँपालिकाको मुदीमा ४.६ मेगावाट क्षमताको तिरिजाखोला जलविद्युत् आयोजना सर्वेक्षणको अनुमति लिएका छन् । जलविद्युत् आयोजना भित्रिएसँगै सडकलगायत भौतिक पूर्वाधार निर्माणले गति लिने, आयोजनाले बनाएका पूर्वाधारबाट सर्वसाधारणलाई सुविधा पुग्ने, रोजगारी र लगानीको अवसर पाउनुका साथै दीर्घकालीन हिसाबले गाउँपालिकालाई विद्युत् रोयल्टी आम्दानी हुने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । रासस

Share News