एनआरएन इन्फ्रास्टक्चरकाे केन्द्रीय कार्यालय स्थानान्तरण हुने
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय स्थानान्तरण हुने भएको छ । हाल काठमाडौं महानगरपालिका-७ स्थित चावहिल कम्प्लेक्स भवनको तेस्रो तल्लामा रहेको कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो । उक्त कार्यालय आगामी असार १ गतेदेखि काठमाडौं कमलादी-२८ मा रहेको कमलादी कम्प्लेक्स भवनको पहिलो तलामा स्थानान्तरण हुन लागेको हो ।
धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुंगे पुल, ८५ दिनमै पुल तयार
म्याग्दी । म्याग्दीको अन्नपूूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण–धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुंगे पुल निर्माण भएको छ । जलजला गाउँपालिका–५ मा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयवासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिएसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर पुनले बताए । अध्यक्ष पुनका अनुसार रु ४७ लाख ५० हजार चार सय ९६ को लागतमा पुल निर्माण भएको हो । ‘पुल निर्माणका लागि स्थानीयवासीले रु एक लाख १५ हजार दुई सय बराबरको ८५ दिन श्रमदान गरेका छन्’, उनले भने, ‘काम थालेको ८५ दिनमै पुल तयार गर्न सफल भएका छौँ ।’ पुलबाट बाँसखर्क, मल्लाज, डाँडाकेटरी, वनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका स्थानीय नारायण पुनले बताए । बाँसखर्क डाँडाकेटेरी हुँदै मोहरेडाँडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल उपयोगी भएको उनले बताए । पुल बनेपछि घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको र यात्रा अवधि छोटो भएका छ । रासस
अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ छिचोलियो
संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरुङ मार्ग ‘ब्रेक थ्रू’ भएको छ । मकालु गाउँपालिका–५ आम्राङमा एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडिट २ मा स्वीच थिचेर सुरुङ मार्ग ब्रेक थ्रु गरेका हुन् । आयोजनाका अनुसार फ्याक्सिन्दामा रहेको ड्यामसाइडदेखि विद्युत गृह रहेको ठाउँ दिदिङसम्म पानी पथान्तरका लागि ९.५ मिटर परिधिको करिब १२ किलोमिटरको सुरुङ निर्माण भएको छ । भारतीय सतलज कम्पनी (एसजेबिएन) ले निर्माण गरिरहेको अरुण तेस्रोको ७० प्रतिशत काम सकिएको छ । प्रधानमन्त्री प्रचण्डले अरुण तेस्रोको ‘ड्यामसाइट’ र ‘पावरहाउस’ को हेलिकप्टरबाट अनुगमनसमेत गरेका थिए । आयोजनामा कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले सेयर पाउने परियोजना विकास सम्झौता (पिडिए) मा व्यवस्था गरिएको छ । आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई सेयर दिने पिडिएमा उल्लेख छ । पिडिएअनुसार यस परियोजनाबाट १ सय ६० करोड रुपैयाँ स्थानीयलाई सेयर दिइनेछ । सेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत ९ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत सेयर वितरण गरिनेछ । सेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ । करिब १ खर्ब ४ अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ । विद्युत उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन् । निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पिडिएमा उल्लेख छ । अरुण तेस्रो जलविद्युत आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत थप गरी राष्ट्रिय प्रणालीको विद्युत क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने, बंगलादेशमा विद्युत निर्यात गर्ने व्यवस्था मिलाउने बताएका छन् ।