काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त पनौती जलविद्युत केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ । नेपालको तेस्रो जलविद्युत आयोजना वि.सं २०८१ असोजको बाढी पहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ ।
कुल २.४ मेगावाट क्षमताको सो आयोजनाको विद्युतगृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण उपकरण डुबानमा परेका थिए ।
यस्तै, रोसी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पुर्याएको छ । विपद्का कारण ७ करोड रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ । बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाले जानकारी दिए ।
यस्तै, बाँधबाट विद्युतगृहसम्म पानी लैजाने ‘क्यानल’ मा समेत क्षति पुगेको थियो । तिमिल्सिनाका अनुसार हालसम्म विद्युत् गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम पूरा भएको छ । नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ ।
हाल केन्द्रमा ‘सिभिल’तर्फको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ । विद्युतगृह वरपरको पहिरो नियन्त्रणका जैविक इन्जिनियरिङ लगायत काम सम्पन्न हुने चरणमा छ । निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे बढीमा एक वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको सो आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने निर्णय गरिसकेको छ । २७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाको उद्घाटन वि.सं २०२२ मा भएको थियो ।