कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) को करिब १ खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । विद्युत उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ । आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत उत्पादन हुने जानकारी दिए । ‘काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ उनले भने । सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरूप सहयोगको अपेक्षा गरेको उल्लेख गरे । उनले भने, ‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’ शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ । यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै, दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए । विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता ९पिडिए० भएको थियो । सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए । त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए । साथै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए । रासस

ठूलाबेँस-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको ठूलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख बजेटबाट ६ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो । ‘दाजुङखोला लघुजल विद्युत आयोजनाको विद्युत गृहबाट मुहानसम्म एक हजार ६ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ’, अध्यक्ष घर्तीले भने, ‘गत वर्ष १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ ।’ उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ । कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् । थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए । ‘कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो’, उनले भने, ‘पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ ।’ सिँचाइ सुविधा पुगेसँगै बार्है महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ । दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए। उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन् ।

४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन तयार, बन्यो ४ हजार मेगावाट विद्युत प्रवाह गर्ने पूर्वाधार

काठमाडौं । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित स्वचालित नेपालको तेस्रो ठूलो ४०० केभी हेटौंडा सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारबाट सञ्चालन (चार्ज) मा ल्याइएको छ । यसैगरी नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाबाट थानाभर्‍याङमानै २२० र १३२/११ केभी क्षमताका सबस्टेसन निर्माण सम्पन्न गरी शुक्रबारनै चार्ज गरिएको छ । मुलुकभित्रको पूर्व–पश्चिम विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र भारतसँगको विद्युत् व्यापारका लागि निर्माण गरिएको जिआइएस प्रविधियुक्त स्वचालित ढल्केबर मुलुककै पहिलो, इनरुवा दोस्रो र हेटौंडा तेस्रो ठूलो सबस्टेसन हो । हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएसँगै करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने पूर्वाधार संरचना तयार भएको छ । हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएपछि ढल्केबरबाट पूर्व–पश्चिम ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिने हुँदा आन्तरिक रूपमा विद्युत् आपूर्ति थप सुदृढ हुने र भारतसँगको विद्युत व्यापार थप विस्तार हुने छ । आयोजनाअन्तर्गत ढल्केबर–इनरुवा खण्ड निर्माण अन्तिम चरणमा छ भने हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ । हेटौंडा उपमहानगरपालिकका १५, १६, १७ र ११ नम्बर वडाहरुमा स्थानीयहरूको अवरोधका कारण प्रसारण लाइन निर्माण सम्पन्न हुन सकिरहेको छैन । अवरोध नभएका ठाउँमा निर्माण भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हेटौंडा सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने हुँदा हेटौडा, भरतपुर, सिमरा तथा वीरगञ्ज क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सहयोग पुग्ने बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘नेपालका मध्य क्षेत्रका नदी कोरिडोरका जलविद्युत आयोजनावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा प्रवाह गरी देशभित्र खपत गरी बचत भएको विद्युत् हेटौडा– ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत भारततर्फ निर्यात गर्न थप सहज हुने छ, सबस्टेसनले हेटौंडाबाट भरतपुर बर्दघाट हुँदै नयाँ बुटवल सबस्टेसनसम्म विद्युत प्रवाहका लागि सहजता प्रदान गर्ने छ ।’ हेटौंडा सवस्टेसनलाई आवश्कता अनुसार भविष्यमा थप विस्तार गर्दै जान मिल्ने गरि निर्माण गरिएको आयोजना प्रमुख शुक्र देवकोटाले बताए । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बाट नुवाकोटको रातमाटेबाट निर्माण हुने ४०० केभीको डबल सर्किट प्रसारण लाइन हेटौंडा सबस्टेसनमा ल्याएर जोडिने छ । यसका लागि हेटौंडा सबस्टेसनमा आवश्यक पूर्वाधार संरचना निर्माण गरिसकिएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत सरकार र प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सवस्टेसन विस्तार आयोजना सुरु गरिएको थियो । आयोजनाअन्तर्गतका तीन वटै सबस्टेसन निर्माण सम्पन्न भएका छन् ।