नमोबुद्ध–तेमाल सडक छेउका संरचना भत्काउन ६ महिना समय थपियो
काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडकअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानमा मापदण्ड विपरीत बनाइएका भौतिक संरचना भत्काउन ६ महिनाको समयसीमा थपिएको छ । उक्त क्षेत्रका ५९ घरटहरा तथा अन्य भौतिक संरचना भत्काउन गाउँपालिका र स्थानीय व्यवसायीबीच छ महिना समय थप्ने सहमति भएको हो । सडक दायाँबायाँ सार्वजनिकस्थलमा बनाइएका संरचना भत्काएर खाली गरिदिन यसअघि गाउँपालिकाले गत चैतमा ३५, १५ र सातदिने सार्वजनिक सूचना जारी गर्दै आएको थियो । स्थानीय व्यवसायीले थप समयसीमाका लागि लिखितरुपमा माग गरेपछि सरोकार भएका व्यक्तिबीचको छलफलपछि समय थप्ने सहमति भएको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले बताए । सडक विस्तारसँगै सुन्दर तेमाल निर्माण गर्न व्यवसायीले देखाएको चाहनाअनुसार घरधनी आफैँले ६ महिनाको समयसीमा माग गरेपछि दिइएको उनले बताए । हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको दुई खण्ड १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको अध्यक्ष तामाङले जानकारी दिए । नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचना निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा स्थानीयले घर बनाउन थालेका उनको भनाइ छ । नारायणस्थानमा रहेको सार्वजनिक पोखरीमा वरिपरि निर्माण गरिएका पक्की संरचना हटाई पहिलाकै अवस्थामा ल्याउने प्रयास भइरहेको गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताए । उनका अनुसार गाउँपालिकाद्वारा जारी सूचनामा थप गरिएको समयसीमाभित्र आफैँले भत्काउन अटेर गरे पालिकाले भत्काउने उल्लेख गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी विसं २०७९ साउन १६ गते निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुई वर्षभित्र सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सवबेस (माटो, बालुवा र गिट्टीको मिश्रण), कालोपत्रलगायत काम गर्नुपर्नेछ ।
कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?
सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको एक वर्षभित्रै सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ । भारत सरकारको पब्लिक कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) को करिब १ खर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको आयोजनाको अहिले करिब ७५ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ । विद्युत उत्पादन सुरु भएपछि यो नेपालमा सञ्चालित सबैभन्दा ठूलो क्षमताको जलविद्युत आयोजना बन्नेछ । हाल सबैभन्दा ठूलो आयोजनाका रूपमा चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना रहेको छ । आयोजनाको ११ दशमलव आठ किलोमिटर लामो मुख्य सुरुङ (हेडरेस टनेल) को ‘ब्रेक थ्रु’का अवसरमा निर्माण कम्पनी एसएपिडिसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुशीलकुमार शर्माले आयोजनाको काम तालिकाअनुसार भएमा आगामी एक वर्षभित्रमा विद्युत उत्पादन हुने जानकारी दिए । ‘काम नियमित भयो भने आगामी एक वर्षभित्रमा आयोजनाबाट विद्युत उत्पादन सुरु हुनेछ तर त्यसका लागि सरकारको सहयोग आवश्यक छ,’ उनले भने । सरकारको सक्रियतामा आयोजनास्थलसम्म पुग्ने कोशी राजमार्गको मर्मत र स्तरोन्नति तीव्रगतिमा अघि बढेको भन्दै उनले प्रसारण लाइन निर्माणका लागि जग्गाप्राप्तिमा पनि सरकारबाट सोहीअनुरूप सहयोगको अपेक्षा गरेको उल्लेख गरे । उनले भने, ‘आयोजनाको निर्माण पूरा भएर विद्युत् उत्पादन हुने समयमा पनि प्रसारण लाइन निर्माण हुँदैन कि भन्ने चिन्ता छ, यसबारे सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरेका छौँ ।’ शर्माले समयमै आयोजना निर्माण गर्न र समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत एक उच्चस्तरीय समिति गठन गर्न आग्रह गरे । आयोजनाबाट उत्पादित विद्युत्को पिकिङ (पूर्ण क्षमतामा चल्ने घण्टा) तीन दशमलव ६५ घण्टा प्रतिदिन हुनेछ । आयोजनाको बाँध मकालु गाउँपालिका वडा नं ३ र ५ मा पर्छ । कम्पनीका अनुसार कूल ७० मिटर अग्लो र एक सय ९७ दशमलव तीन मिटर लम्बाइको बाँध उत्खनन कार्य ९९ दशमलव ७० प्रतिशत पूरा भएको छ भने बाँध निर्माणको काम पनि २६ दशमलव ५० प्रतिशत भइसकेको छ । यस्तै मुख्य सुरुङमार्गको निर्माण सम्पन्न भइसकेको छ भने सुरुङको कङ्क्रिट लाइनिङ ६८ प्रतिशत पूरा भएको छ । साथै एक सय ५५ मिटर गहिरो ‘सर्ज साफ्ट’ निर्माण भइसकेको र कङ्क्रिटिङ ७० प्रतिशत पूरा भएको जनाइएको छ । यसैगरी चिचिला गाउँपालिका–३ पुकुवामा रहने विद्युत्गृहमा चारवटा टर्वाइनमध्ये दुईवटा टर्वाइनको जडान सकिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनमा जोडिने छ । त्यसका लागि पाँच सय ९७ वटा टावर निर्माण हुनुपर्नेमा हालसम्म ५१ प्रतिशत अर्थात् तीन सय पाँचवटा टावर निर्माण भइसकेको छ । साथै, दुई सय १७ किलोमिटर तार तान्नुपर्नेमा हालसम्म २२ प्रतिशत अर्थात् ४६ दशमलव ८२ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाको शिलान्यास विसं २०७५ वैशाख २८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौँमा संयुक्त रूपमा गरेका थिए । विसं २०७१ मङ्सिर १० मा आयोजना विकास सम्झौता ९पिडिए० भएको थियो । सुरुङ ‘ब्रेक थ्रु’का अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सन् २०२६ मा विकासशील मुलुकमा फड्को मार्ने र सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्राथमिकता निर्धारण गरेर काम गरिरहेको वर्तमान सरकारले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीले यस आयोजनाबाट उत्पादन हुने नौ सय मेगावाट विद्युतसहित राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार पाँच सय मेगावाट पुर्याइने बताए । त्यसअवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यलाई यस आयोजनाले सहयोग पुर्याउने बताएका थिए । साथै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारतबीच आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि भएको सम्झौता कार्यान्वयन गर्न यो आयोजना महत्त्वपूर्ण भएको बताए । रासस
ठूलाबेँस-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-४ च्युरीबोटमा रहेको ठूलाबेँसी-गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताएका छन् । उनका अनुसार चालु आर्थिक वर्षमा विनियोजन भएको ३० लाख बजेटबाट ६ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो । ‘दाजुङखोला लघुजल विद्युत आयोजनाको विद्युत गृहबाट मुहानसम्म एक हजार ६ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५ मिटर कुलो निर्माण सकिएको छ’, अध्यक्ष घर्तीले भने, ‘गत वर्ष १० लाख बजेटबाट दुई सय २५ मिटर कुलो निर्माण गरेका थियौँ ।’ उनका अनुसार गत चैतदेखि निर्माण सुरु गरिएको कुलो सम्पन्न भइसकेको छ । कूल लागतको १० प्रतिशत उपभोक्ताले श्रमदान गरेका छन् । थप सात सय ९५ मिटर कुलो निर्माण गरेर योजनालाई पूर्णता दिन आगामी वर्षको योजना तथा कार्यक्रममा प्रस्ताव गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जनाएको छ । सो योजनाबाट ५८ घरका कृषकको तीन सय रोपनी जमिनमा सिँचाइ सुविधा पुग्ने कार्यालयका प्रमुख झलकमोहन ओझाले जानकारी दिए । ‘कच्ची कुलोबाट पानी ल्याउँदा सोसिएर खेतबारीसम्म नपुग्ने समस्या थियो’, उनले भने, ‘पक्की कुलो बनेपछि मुहानबाट पठाएको पानी सबै खेतबारीसम्म पुग्न थालेको छ ।’ सिँचाइ सुविधा पुगेसँगै बार्है महिना खेतीबाली लगाउन सकिने भएको स्थानीय कृषक रेशम पुनले बताए । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आवमा म्याग्दीमा ६० वटा सिँचाइ आयोजना कार्यान्वयन गरेको छ । दुई वटा योजनाको बहुवर्षीय ठेक्का आह्वान भएको कार्यालयका सबइञ्जिनियर अञ्जन खत्रीले बताए। उनका अनुसार उपभोक्ता समितिसँग सम्झौता भएका अधिकांश आयोजना सम्पन्न हुने चरणमा छन् ।