१४० मेगावाटको तनहुँ जलविद्युतका सरकारले छुट्यायो ६ अर्ब बजेट

काठमाडौं । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाका लागि सरकारले ६ अर्ब रुपैयाँ बढी बजेट विनियोजन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षका लागि उक्त बजेट उपलब्ध गराएको हो ।

ऋषिङ गाउँपालिका-१ झापुटारमा जलविद्युत आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।

आयोजनामा हालसम्म ७५.५ प्रतिशत प्रगति भएको छ । आयोजनाको प्याकेज १ अन्तर्गत बाँधलगायत संरचना (हेडवक्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरण तथा प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण जारी छ । 

बाँधलगायतका संरचनाको भौतिक प्रगति ५९ प्रतिशत बराबर पुगेको छ । यस्तै, मुख्य बाँध निर्माणका लागि डाँडा कटान, पहुँच सडक, सेती नदीको धार फर्काउन आवश्यक अस्थायी बाँध, दुइवटा डाइभर्सन सुरुङ लगायतका संरचनाको निर्माण सम्पन्न भएको छ । 

यस्तै, विद्युतगृह, केवल सुरुङ, सर्च ट्याङ्क, टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भएको छ । त्यसको भौतिक प्रगति ७७ प्रतिशत छ । उनका अनुसार जलाशयको पानीलाई विद्युतगृहतर्फ लैजान प्रयोग हुने मुख्य सुरुङको कङ्क्रिट ‘लाइनिङ’ कार्य जारी छ । प्रसारण लाइनअन्तर्गत ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने काम सम्पन्न भएको छ । 

Share News