चुनावी रन्कोबीच महोत्तरीमा पानीको चिन्ता
महोत्तरी । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै चुनावी सरगर्मी बढेको छ । मतदानका लागि अब केही दिनमात्र बाँकी रहँदा उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । तर यसैबीच महोत्तरीका आम सर्वसाधारण भने यसपालि हिउँदे वर्षा नहुँदा चाँडै पानीको सङ्कट पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । फागुनको तेस्रो साता बितिसक्दासम्म हिउँदे वर्षा नहुँदा किसान र स्थानीय बासिन्दामा चिन्ता थपिएको हो । 'खै, हिउँद बित्नै लाग्यो, पानी पर्ने छाँट देखिन्न । यो हिउँदमा पानी नपरे बालीनाली मात्र होइन, एकाध महिनाभित्रै खानेपानीकै सङ्कट पर्लाजस्तो छ,' गौशाला नगरपालिका–१ का सुरेन्द्र महतो भन्छन्, 'हिउँदे वर्षा नभए यहाँका पानीका मुहान चैतमै सुक्ने छन् ।' उनका अनुसार केही दिनभित्रै पानी नपरे नयाँ वर्ष २०८३ को सुरुआतमै पानीको हाहाकार हुनसक्छ । विगतमा हिउँदे वर्षा नभएको वर्ष चैतमै खोल्साखोल्सी, जरुवा, नदीका मुहान, इनार र चापाकल सुक्दा खानेपानीको सङ्कट व्यहोर्नुपरेको स्थानीय बासिन्दा सम्झन्छन् । यही चिन्ताले चुनावी उत्साहसमेत जाग्न नसकेको गौशाला–१ कै गणेश महतो बताउँछन् । गाउँ–नगरमा चुनावी प्रचारप्रसार तीव्र भए पनि किसान र सर्वसाधारण त्यसमा रमाउन सकेका छैनन् । हिउँदे वर्षा नहुँदा चैतीबाली राम्रोसँग नफस्टाउने चिन्ता किसानमा छ । 'यसपालि पानी नपरी हिउँद बित्दैछ, रवि (चैती) बालीका बोट पानीबेगर ओइलिन थाले', बर्दिबास–६ किसाननगरका ६५ वर्षीय कुलबहादुर भुजेल भन्छन्, 'चैत नबित्दै पानीको हाहाकार पर्लाजस्तो छ ।' उनका अनुसार पानी नपर्दा उत्तरी भेगका वैशाखी सागसब्जीका बोटसमेत सुक्न थालेका छन् । भुजेलका छिमेकी ७५ वर्षीय जगन्नाथ महतो पनि जग्गा सुक्दै जाँदा सागसब्जी उत्पादनमा असर परेको बताउँछन् । चुनावी चहलपहल बढे पनि किसानको ध्यान खेतबारीमै छ । 'हाम्रा दुःख हामीसँगै छन्, पानीबेगर सुक्दै गएको बाली हेरेर कसरी चुनावले मन तान्ला ?' भुजेलको प्रश्न छ । बर्दिवास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादवले पनि सिँगो हिउँद पानी नपरी बित्न लागेकोमा विरक्ति व्यक्त गरे । 'मजरदै आँपलाई मधुवा रोगबाट जोगाउन वर्षा चाहिन्छ,' उनी भन्छन्, 'तर पानी नपरी गर्मी बढ्न थाल्यो ।' यसले पानीको सङ्कट थप गहिरिने लक्षण देखिएको उनको भनाइ छ । बर्दिवास–९ पशुपतिनगरका ७० वर्षीय विसुनदेव महतोका अनुसार मौसमको वर्तमान सङ्केतले खडेरीको जोखिम बढाएको छ । गत वर्षको खडेरी सम्झँदै उनी यसपालि पानी र अन्न दुवैको सङ्कट आउनसक्ने आशंका व्यक्त गर्छन् । भारतसँग सीमा जोडिएको दक्षिणी भेगमा पनि अवस्था उस्तै छ । जलेश्वर–५ चौरियाका ७५ वर्षीय किसान रहिमन मण्डल भन्छन्, 'खेतीपाती अनुकूल भए न खुसी हुन्छ, विरक्तिएको मनमा के चुनावको रमाइलो हुन्छ र ?' उनका अनुसार गहुँको बालामा दाना पोटिलो हुन नसकेको र आँपको मञ्जरीमा मधुवा रोगको जोखिम बढेको छ । सोनमा–५ का रामप्रताप यादव भन्छन्, 'चुनावले जीवन बदलिए न चासो हुन्छ । भोट त हालिरहेकै छौँ, तर खेतबारीले न सिँचाइ पायो, न समयमा बीउमल ।' किसानका अनुसार पछिल्ला वर्षमा प्रकृति पनि प्रतिकूल बन्दै गएको छ । भङ्गाहा–४ रामनगरका ८० वर्षीय दीपबहादुर फुँयाल भन्छन्, 'पहिले हिउँदमा एक पटक पानी परे बालीनालीदेखि गर्मीमा खानेपानीको समस्या हुँदैनथ्यो । अहिले भने हिउँदभरि पानी नपर्दा चैतमै मुहान सुक्न थालेका छन् ।' हिउँदे वर्षा नहुँदा जमिनमुनिको पानीको सतह गहिरिँदै जानु र स्रोतका मुहान चैतमै सुक्नु यहाँको दीर्घकालीन समस्या बनेको छ । उत्तरी क्षेत्रमा खोल्साखोल्सीको जरुवा पानी र इनार मुख्य स्रोत हुन् भने मध्य तथा दक्षिणी भेगमा चापाकलमा निर्भरता बढी छ । चुनावका बेला भोट माग्न आउने उम्मेदवारलाई यी समस्या सुनाइए पनि समाधानप्रति विश्वास जाग्न नसकेको किसान बताउँछन् । 'हामीले भोट दिँदै आएका छौँ, दुःख सुनाएकै हौँ,' गौशाला–४ का रिझन साह भन्छन्, 'चुनाव नहुँदासम्म आशा हुन्छ, सकिएपछि फेरि जस्ताको त्यस्तै ।' पाका किसानका अनुसार वन, चुरे क्षेत्र र नदीकिनारमा बढ्दो उत्खनन तथा अतिक्रमणले प्राकृतिक सन्तुलन बिग्रिँदा वर्षा चक्र प्रभावित भएको छ । यसपालिको निर्वाचनमा विकासका गफभन्दा प्राकृतिक स्रोत संरक्षण र समुचित प्रयोगबारे ठोस प्रतिबद्धता आवश्यक रहेको बर्दिवास–८ हात्तीलेटका ६० वर्षीय जगदीश काफ्लेको धारणा छ । रासस
चुनाव आउँदा पनि रित्तै छ धारापानी, यहाँका जनताले आश्वासन पनि सुन्न पाएनन्
कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकका अन्य भागमा जस्तै कञ्चनपुरका सहरी र सुगम ग्रामीण भेगमा चुनावी सरगर्मी निकै बढेको छ । उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । चोक–चोकमा कोण सभासँगै र्‍यालीलगायतका कार्यक्रमको व्यस्तता छ । तर, शुक्लाफाँटा नगरपालिका–८ स्थित चुरे फेदीमा रहेको धारापानी गाउँमा भने यसपटकको चुनावको कुनै रन्को छैन । चौबीस घरधुरी रहेको यस बस्तीमा अहिलेसम्म कुनै पनि उम्मेदवार मत माग्न पुगेका छैनन् । चुरे पहाडको काखमा अवस्थित धारापानी प्राकृतिक रूपमा जति मनोरम छ, यहाँका बासिन्दाको जीवनशैली त्यत्तिकै कष्टकर छ । गर्मीका बेला धारापानी खोलामा नुहाउन, पिकनिक खान र नजिकैको झरनामा रमाउन जाने मानिसहरूको कमी हुँदैन, तर विडम्बना ! त्यही झरना र खोलाको पानीले सिञ्चित गाउँलाई आधारभूत पूर्वाधारले भने छुन सकेको छैन । २०१२ सालदेखि बस्ती बस्न सुरु भए पनि आजसम्म यो गाउँ राज्यको नजरमा ‘अदृश्य’ जस्तै बनेको छ । कुनै समय गुल्जार रहेको धारापानी गाउँ अहिले बिस्तारै रित्तिँदै गएको छ । रोजगारी र पूर्वाधारको अभावमा १५ परिवारले घरमा ताला लगाएर जीविकोपार्जनका लागि भारततर्फ पलायन भइसकेका छन् । हाल यहाँ केवल नौ परिवार मात्रै बस्दै आएका छन् । स्थानीय बालाराम गौतमले गहभरि आँसु पार्दै भने, 'मुख्य समस्या भनेकै युवालाई स्वदेशमै रोजगारी नहुनु हो, यदि यहाँ काम पाइने भए भारतमा जुठो भाँडा माझ्नका लागि घरका छोराहरूलाई किन पठाउँथ्यौँ र ? यो हाम्रो बाध्यता हो ।' उनका अनुसार गाउँमा अहिले केवल बूढापाकाहरू मात्रै बाँकी छन् । छोराछोरीलाई उच्च शिक्षा हासिल गराउने रहर हरेक अभिभावकको हुन्छ, तर जीवन जिउने आधार नै नभएपछि सानै उमेरमा श्रमका लागि मुग्लान पठाउनु यहाँको नियति बनेको छ । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा धारापानीवासीले वर्षौँदेखि खोलाको पानी पिउँदै आएका छन् । गौतम भन्छन्, “खोलाको पानी पिउनु हाम्रो बाध्यता हो, बर्खाका बेला त झन् धमिलो पानी थिग्र्याएर पिउनुपर्छ ।” पिउने पानीको त कुरै छोडौँ, बस्तीसम्म पुग्ने भरपर्दो बाटोसमेत छैन । स्थानीय रायभान ठगुन्नाका अनुसार हिउँदमा मुस्किलले हिँड्न सकिने बाटो बर्खा लाग्नेबित्तिकै पहिरोले पुरै थुनिदिन्छ । 'बर्खा सुरु भएपछि हाम्रो अन्य क्षेत्रसँगको सम्पर्क टुट्छ', ठगुन्नाले भने, 'त्यसैले बर्खा आउनुअगावै घरका लागि चाहिने नुन, तेल र खाद्यान्नको जोहो गरिसक्नुपर्छ ।' गाउँमा बिजुली पु¥याउनका लागि भन्दै हालै केही पोलहरू गाड्ने काम त सुरु भएको छ, तर बिजुलीको स्विच थिच्न कति वर्ष कुर्नुपर्ने हो, कसैलाई पत्तो छैन । धारापानीको माटो सुन फलाउने खालको छ । यहाँको बारीमा लटरम्म कागती, अमिलो, आँपलगायतका फलफूल फल्छन् । मौरीपालनबाट प्रशस्त मह उत्पादन हुन्छ । तर, सडक सञ्जालको अभावमा यी सबै उत्पादन खेर गइरहेका छन् । 'गाउँमा बूढापाका मात्रै छौँ, पिठ्युँमा बोकेर बजारसम्म लैजान सकिँदैन', ठगुन्नाले दुखेसो पोखे, 'गाउँसम्म न त व्यापारी आइपुग्छन्, न त सवारी साधन नै चल्छन्, त्यही भएर उत्पादित फलफूल बारीमै कुहिएर जान्छ ।' उनले यसपटक आफ्ना उत्पादनको बजारीकरणका लागि पहल गर्ने उम्मेदवारलाई मात्र मत दिने सोच बनाएको बताए । बर्खायाममा धारापानी खोला उर्लेर आउँदा बस्ती नै जोखिममा पर्ने गरेको छ । स्थानीय साइमले धामी भन्छन्, 'धेरै वर्षा हुँदा बाढी बस्तीमै छिर्छ, कुन दिन बाढीले बगाउने हो भन्ने चिन्ता छ, बाढी रोकथामका लागि केही वर्ष पहिले तटबन्ध निर्माण भएको थियो, त्यो पूरा हुन सकेको छैन पूरा गरिदिए हुन्थ्यो भन्ने हाम्रो ठूलो इच्छा छ ।' उनका अनुसार चुनाव आए पनि नेताहरू बस्तीमा नछिर्दा गुनासो सुनाउने ठाउँसमेत पाएका छैनन् । स्वास्थ्य र शिक्षाको अवस्था झनै नाजुक छ । गाउँमा कोही बिरामी पर्दा प्राथमिक उपचारसमेत पाउने अवस्था छैन । उपचारका लागि बजार पुग्न १२ किलोमिटर पैदल हिँड्नुपर्छ । साना बालबालिकाहरू चार किलोमिटर टाढाको विद्यालय पुग्न वन र नदी क्षेत्रको जोखिमपूर्ण बाटो छिचोल्दै जानुपर्छ । स्थानीय पार्वती धामीले भने, 'गाउँमै बालविकास केन्द सम्म भइदिएको भए हाम्रा बच्चाहरूले दुःख पाउने थिएनन् ।' बस्तीका बासिन्दालाई वन्यजन्तुले पनि उत्तिकै दुःख दिएको छ । खेतबारीमा लगाएको बाली बाँदरले खाइदिन्छ भने वनमा चराउन लगिएका बाख्रा चितुवाले सिकार बनाइदिन्छ । स्थानीय सुरेन्द्र महराले भने, 'वनमा मात्र होइन, चितुवाले त कहिले त गोठबाटै तानेर बाख्रा खाइदिन्छ । वन्यजन्तु नियन्त्रण र सुरक्षित गोठ निर्माणका लागि सहयोग गर्ने उम्मेदवारको खोजीमा छौँ ।' विगतको स्थानीय तहको निर्वाचनमा केही उम्मेदवार मत माग्न आए पनि यसपटक भने कोही नआउँदा धारापानीवासी अचम्मित छन् । यद्यपि, उनीहरूले यसपटक सल्लाह गरेर एकमुष्ट मतदान गर्ने निर्णय गरेका छन् । 'जसले गाउँका आधारभूत समस्या– बाटो, बिजुली, पानी र स्वास्थ्य हल गर्छ, उसैलाई हाम्रो मत जान्छ', स्थानीयले एकै स्वरमा भने । वर्षौंदेखि बस्तीमा बसोबास हुँदै आए पनि जग्गाको स्वामित्व पनि यस क्षेत्रका बासिन्दाले पाएका छैनन् । जग्गा नापी गरी जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन पहल गर्ने उम्मेदवारको खोजीमा बस्तीका बासिन्दा रहेका छन् । प्राकृतिक रूपमा धनी भएर पनि विकासको दृष्टिकोणले पछाडि पारिएको यो दुर्गम बस्तीका बासिन्दाले कहिलेसम्म राज्यको उपेक्षा सहनुपर्ने हो ? निर्वाचनको यो महाकुम्भले धारापानीको मुहार फेर्छ कि आश्वासनमै सीमित हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । अझै वर्षौंअघिजस्तै उपेक्षामा रहन्छ । रासस
दरखोलामा पुल नबन्दा दर र मुदीका बासिन्दालाई समस्या
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित दरखोलामा मोटरेबल पुल निर्माण नहुँदा दर र मुदीका बासिन्दालाई समस्या भएको छ । दरखोलामा मोटरेबल पुल निर्माणका लागि चार वर्षअघि सर्वेक्षण भए पनि बजेट र योजनाको अभावका कार्यान्वयन हुन सकेको छैन । पुल नहुँदा धौलागिरि गाउँपालिकाको वडा नम्बर ३ दर र वडा नम्बर ४ को मुदीका बासिन्दा मर्कामा परेका दर गाउँका पारस बुढाले बताए। हिउँदमा ह्युम पाइप राखेर सवारीसाधन आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । बर्खामा दरखोलामा बाढी आउँदा असारदेखि कात्तिक महिनासम्म सवारीसाधन आवतजावत गर्न सक्दैनन् । दर, मुदी, बगर, नाउरा, नेरवाङ, चेचुङ, खिवाङ र खाम्ला बस्तीलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने सडकमा नियमित यातायात सञ्चालनका लागि दरखोलामा पुल आवश्यक रहेको छ । यी गाउँहरूमा करिब ७०० घरपरिवारको बसोबास रहेको छ । मुदीको धौलागिरि युवा क्लबका अध्यक्ष विशाल घर्तीले दरखोलाको मोटरेबल पुल आफूहरूको प्रमुख माग र आवश्यकता भएको बताए। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गाउँमा आएका उम्मेदवारहरूसँग दरखोलामा पुल बनाउन माग गरिएको उनले बताए । पुल नहुँदा बर्खा याममा खाद्यान्न र निर्माण सामग्री ढुवानी, बिरामीलाई अस्पताल लैजान, कृषि र पशुजन्य वस्तु बजार पठाउन समस्या भएको दरका हरिप्रसाद बुढाले गुनासो गरे। दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि धौलागिरि गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो । गण्डकी प्रदेश सरकारले आव २०८०/०८१ म रु ५० लाख र २०८१/०८२ मा रु ३० लाख बजेट विनियोजन भए पनि राजनीतिक अस्थिरता र सरकार परिवर्तनका कारण बजेट थपेर स्रोत सुनिश्चितता गराउन नसक्दा कार्यान्वयन हुन सकेन । आव २०८२/०८३ मा संघीय सरकारसँग माग गरेको योजना सम्बोधन नभएपछि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष रेशम पुनमगरले बताए । गाउँपालिकाको नीति तथा कार्यक्रममा दर, मुदी क्षेत्रमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूसँग समन्वय गरेर दरखोलामा बेलिब्रिज बनाउने उल्लेख गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाहरू जलविद्युत् आयोजनाको सामाजिक उत्तरदायित्वको रकम पुलमा खर्च गर्न नहुने अडानमा छन् । जलविद्युत् आयोजनाहरू थप व्ययभार बेहोर्न चाहँदैनन् । गाउँपालिकासँग आवश्यक पर्ने पर्याप्त आर्थिक स्रोतको अभावका कारण दरखोलामा पुल बनाउने योजना कार्यान्वयनमा ढिलाइ भएको जनप्रतिनिधिको भनाइ छ । रासस