साढे ३ अर्ब लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा, ३५० जनालाई रोजगारी दिने
काठमाडौं । साढे ३ अर्ब रुपैयाँ लगानीमा बुटवलमा ‘होटल ह्यात प्लेस’ सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित बुटवल–नारायणगढ सडकखण्डको छेउमा निर्माण गरी सञ्चालनमा ल्याइएको ‘होटल ह्यात प्लेस’ लुम्बिनी प्रदेशको आर्थिक केन्द्र बुटवलको पहिलो पाँचतारे होटल हो । होटल सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको यो होटलको व्यवस्थापन अन्तर्राष्ट्रियस्तरको हायात होटल समूहले गर्ने भएको छ । सफ्रोन सिके प्रालिले हायतसँग दीर्घकालीन सम्झौता गर्दै होटल सञ्चालनमा अन्तर्राष्ट्रिय मापदण्ड लागू गरेको छ । २५ कट्ठा क्षेत्रफलमा फैलिएको यो होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको संयुक्त लगानी रहेको छ । होटलमा गरिएको ३ अर्ब ५० करोड रुपैयाँ लगानीमध्ये ६५ प्रतिशत बैंक ऋण र ३५ प्रतिशत लगानी सञ्चालक समूहको रहेको सञ्चालक चुन्नुप्रसाद पौडेलले जानकारी दिए । ‘२५ कट्ठा क्षेत्रफलमा ५ वर्षको यो होटल स्थापना भएको छ । होटलमा करिव ३५० करोड लगानी गरेका छौं । जसमा ग्लोबल आइएमइ बैंक लिमिटेड र होटल सफ्रोन सिकेको सयुक्त लगानी रहेको छ । यो होटलमा कुनै नेताको एक पैसा पनि लगानी छैन । होटल पूर्णक्षमतामा सञ्चालनमा आउँदा ३५० जना सम्मलाई रोजगारी दिनेछ । कुक, सरसफाइ गर्नेदेखि म्यानेजरसम्मले काम यो होटलमा गर्नुपर्ने हुन्छ, रोजगारी सबै स्थानीयलाई नै नदिने सक्ने अवस्था पनि रहन सक्छ, ’ सञ्चालक पौडेलले भने । अत्याधुनिक संरचनामा बनेको यो होटलमा जमिनमुनि दुईतले पार्किङ र जमिनमाथि १० तले भवन रहेको छ । होटलमा ६ श्रेणीका १०९ कोठा छन्, जसमा एकैपटक २५० पाहुना बस्न सक्ने व्यवस्था छ । करिब ५ हजार ७४६ वर्गमिटर क्षेत्रमा फैलिएको होटलमा रेस्टुरेण्ट, स्विमिङ पुल, ब्याङ्कवेट हल, क्यासिनो, स्पा, चारवटा सेमिनार हल र अन्य विलासी सुविधाहरू समावेश गरिएको छ । होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २५ किलोमिटर र भारतको बेलहिया सिमानाबाट २८ किलोमिटर दूरीमा अवस्थित छ । होटल ह्यात प्लेसले प्रत्यक्ष रूपमा ३५० जनालाई रोजगारी दिनेछ । ह्यात प्लेस बुटवलले लुम्बिनी प्रदेशको आतिथ्य उद्योगमा नयाँ अध्याय सुरु गर्दै बुटवललाई अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ । होटलको अगाडि नै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र रहेकोले सम्मेलन, व्यापारिक भ्रमण र पर्यटनका लागि बुटवल आउने पाहुनालाई सहज आवासीय सुविधा मिल्ने विश्वास गरिएको छ ।
५३ करोडको लागतमा दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक कालोपत्र गर्ने योजना सुरु भएको हो । पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले धवलागिरि गाउँपालिका–७ मच्छिममा पहिलो चरणमा सडक फराकिलो पार्न थालेको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि रु ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो,' उनले भने, 'योजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान हुनेछ ।' पूर्वाधार विकास कार्यालय र ठेकेदारका प्राविधिक टोलीले संयुक्त सर्वेक्षण सकेपछि गत हप्तादेखि उपकरण र मजदुर परिचालन भएका हुन् । गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मकामध्ये सबैभन्दा ठूलो र धेरै बजेटको आयोजना भएको जुग्जालीले बताए । प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सबैभन्दा कम रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए । सङ्घीय र प्रदेश सरकारको समपुुरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको कार्यालय प्रमुख विष्णु पौडेलले जानकारी दिए । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२/०८३ मा रु २३ करोड २२ लाख विनियोजन भएको छ । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०/८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले करिब ६० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । बेनी–तोलाबाङ खण्डमा १८ किलोमिटर कालोपत्र भएको छ । यो सडकले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको पूर्वाधार र आर्थिक क्षेत्रमा रुपान्तरण गराउने अपेक्षा गरिएको वडा नं.–३ का अध्यक्ष तथा गाउँकार्यपालिकाका प्रवक्ता देवेन्द्र रोकाले बताए । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । हाल कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको व्यवस्था मिलाएको छ । सडक स्तरोन्नति सुरु भएपछि स्थानीयवासीमा खुसीयाली छाएको उनले बताए । सडक निर्माणलाई गुणस्तरीय हिसाबले समयमै सम्पन्न गराउन गाउँपालिकाले समन्वय र सहजीकरण गर्ने रोकाले बताए । मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको गत आर्थिक वर्षमा मार्ग खुलेको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए । 'गत वर्ष मार्ग खुलेको मुना–खोरीया–मरेनी–जलजला खण्डको सडकमा यातायात सञ्चालन गर्न मर्मतका लागि सडक डिभिजनसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीलाई ताकेता गरेका छाैं,' उनले भने 'बेनीदेखि मुना खण्डको सडक स्तरोन्नतिसँगै जलजला हुँदै ढोरपाटनको मार्ग खुलेपछि स्थानीयवासीका साथै ढोरपाटन घुम्न जाने पर्यटकहरुलाई सहज हुनेछ ।' रासस
निर्धारित समय अगावै बन्यो विमानस्थलको टर्मिनल भवन, लागत २ अर्ब ७४ करोड रुपैयाँ
काठमाडौं । नेपालगन्जस्थित राँझा विमानस्थलको सुविधा युक्त नयाँ टर्मिनल भवन निर्धारित समयभन्दा २ महिना पहिले नै निर्माण सम्पन्न भएको छ । वि.सं २०७९ पुसबाट काम सुरू गरेको निर्माण कम्पनीले २०८२ पुसमा काम सक्ने गरी ३ वर्षको समयावधि पाएकामा २ महिना अगाडि नै निर्माण पूरा गरेको राँझा विमानस्थल टर्मिनल भवन आयोजनाका प्रमुख नलविक्रम थापाले जानकारी दिए । आयोजनाको काम सम्पन्न भएसँगै केही दिनभित्रमा निर्माण पक्षबाट हस्तान्तरण हुने र त्यसपछि पनि नागरिक उड्डयन प्राधिकरणको विज्ञ टोलीबाट स्थलगत अनुगमन गरिने उनले बताए । आयोजना प्रमुख थापाले भने, ‘विज्ञले अनुगमन गरे पश्चात् पुरानो टर्मिनल भवनमा रहेको एक्सरे मेसिनलगायत आवश्यक सामान नयाँमा सारेर अबको १५ दिनभित्रमा नयाँ बाट सेवा सुरु हुनेछ । नेपालगन्जमा निर्मित टर्मिनल भवन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएकोले आन्तरिक र बाह्य दुबै उडानका लागि उपयुक्त रहेको छ ।’ उनका अनुसार, भ्याट बाहेक कूल २ अर्ब ७४ करोड २० लाख १८ हजार ९९३ रुपैयाँ लागतमा निर्माण कम्पनीले टर्मिनल भवन निर्माण गरेको हो । नव निर्मित टर्मिनल भवन सेमी बेसमेन्टसहित ३ तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ । जहाँ कुल २४ वटा पसल रहनेछन् । ५ हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु जाँच कक्ष १४, भिआइपी रूम ३, चिल्ड्रेन प्लेइङ एरिया एउटा, भन्सार र क्वारेन्टाइन जाँचका लागि अलग÷अलग कोठा निर्माण गरिएका छन् । भविष्यमा अन्तर्राष्ट्रिय उडान हुने सम्भावनालाई दृष्टिगत गर्दै घरेलु र अन्तरराष्ट्रिय उडानका लागि अलग-अलग यात्रु प्रस्थान र आवागमन ढोका तयार गरिएको छ । नव निर्मित टर्मिनल भवनको यात्रु क्षमताप्रति घण्टा ६२८ छ । नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै ५ देखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको परिसरमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको विकास गरिएको छ । नयाँ टर्मिनल भवन क्षेत्रमा एप्रोन अर्थात् जहाज पार्किङ गर्ने ठाउँ पनि निर्माण गरिएको छ । जसमा एटिआर-७२ जहाज ३ वटा र ट्विअटर जहाज ५ वटा एकै पटकमा पार्किङ गर्न मिल्ने सुविधा रहेको आयोजना प्रमुख थापाको भनाइ छ ।