काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिको समस्या समाधान गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ ।
महासंघले तय गरेको पूर्वनिर्धारित शान्तिपूर्ण विरोध कार्यक्रमअन्तर्गत बिहीबार केन्द्रमा एशोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशकहरूलाई ज्ञापनपत्र बुझाउँदै ती कार्यालयहरूमा आधा घण्टा धर्ना दिएको छ ।
एशोसिएट सदस्य समन्वय समितिका संयोजक नवराज श्रेष्ठले ज्ञापनपत्र बुझाउँदै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा उत्पन्न विकराल अवस्थाबारे ध्यानाकर्षण गराएका छन्।
यसैबीच महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघहरूले पनि बिहीबार नै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण रूपमा आधा घण्टा धर्ना दिएका छन्।
महासंघका महासचिव शिवहरि घिमिरेका अनुसार मूल्यवृद्धिका कारण अब निर्माण कार्य नै ठप्प हुने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको हो।
उनका अनुसार जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन तथा सिँचाइ कार्यालयहरूमा समेत ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिने कार्यक्रम तय गरेका छन्।
यस्तै विरोधका कार्यक्रमअन्तर्गत सातै प्रदेशका निर्माण व्यवसायी महासंघहरूले शुक्रबार मुख्यमन्त्रीहरूलाई ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री कार्यालयमा आधा घण्टा धर्ना दिने महासंघका नीतिगत उपमहासचिव तथा प्रवक्ता मंगलबहादुर शाहीले जानकारी दिएका छन्।