काठमाडौं । लामो समय निर्माण अलपत्र परेको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।
महानिर्देशक डा. जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए । उनकाअनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।
उनले भने, ‘नारायणघाट बुटवल सडक लामो समयदेखि समस्याग्रस्त थियो । अहिले निर्माणको यो हामी अन्तिम चरणमा आइपुगेका छौँ । भौतिक प्रगति ९१ प्रतिशत भएको जानकारी प्राप्त भएको छ, मुख्यमुख्य कामहरु सबै सकिएका छन्, फिनिसिङ्, ट्राफिक सेफ्टीका कामहरु, सर्भिस लेन लगायतका केही काम बाँकी रहेको छ ।’
महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षामाझैँ यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने बताए । दाउन्नेमा हाल एकतर्फी दुई लेनको रिपेभमेण्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तिब्र गतिमा अघि बढिरहेको बताए । जेठ १५ गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए । नारायणघाट–बुटवल सडकखण्डको निर्माणमा ढिलाई हुँदा यात्रुहरुले सास्ती खेप्दै आएका थिए ।
उनले भने, ‘विगतको वर्षकोहरुको जस्तो वर्षामा समस्या हुँदैन । हामीले धेरैजस्सो कामहरु गरिसकेका छौँ । एकतर्फको दुई लेनको काम सकिएको छ, तेस्रो लेनको काम भईरहेको छ । जेठ १५ सम्म मुख्य कामहरु सकिन्छ । धेरै पछि अब नेपाली जनताले दाउन्नेको कहर सहन पर्दैन ।’
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको नेतृत्वको प्रतिनिधिमण्डलले शनिवार नागढुंगा नौबिसे र नारायणघाट सडकखण्डको स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले बिटुमिनको अभाव रहेको गुनासो गरेका थिए ।
उनीहरुले विटुमिन आयातको लागी सहजीकरण गरिदिन सरकारसँग माग गरे । प्रतिनिधिमण्डलले नागढुंगा सुरुङमार्गको पनि स्थलगत अनुगमन गरेको थियो ।