काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई तीन वटा जैविक सूक्ष्मदर्शी (बायोलोजिकल माइक्रोस्कोप) हस्तान्तरण गरेको छ ।
बैंकका अनुसार उक्त उपकरणले नेपाल रेडक्रस सोसाइटीको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने अभियानलाई सहयोग पुग्नेछ । माइक्रोस्कोपको प्रयोगबाट रगतमा रहेका राता रक्तकण, सेता रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यता पहिचान गर्न सहज हुने जनाइएको छ ।
यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत सङ्कलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन पनि उपकरणले महत्त्वपूर्ण भूमिका खेल्ने बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय र भरपर्दो रक्तसञ्चार सेवा सुदृढ गर्न तथा सार्वजनिक स्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।