सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्लास्थित हरिवन नगर अस्पताललाई विभिन्न अत्याधुनिक प्रसूति उपकरण हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते आयोजित कार्यक्रममा उक्त उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरण कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । बैंकले हाइड्रोलिक शल्यक्रिया टेबल, चार सेटयुक्त एलईडी शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पाँच कार्य गर्न सक्ने पूर्ण सुविधायुक्त इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर तथा इलेक्ट्रिक डबल जार हाई–भ्याकुम सक्सन मेसिन गरी सबै उपकरण एक–एक थान अस्पताललाई उपलब्ध गराएको हो । हरिवन नगर अस्पतालको नवनिर्मित भवनमा शल्यक्रियासहित बर्थिङ सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवाको पहुँच विस्तार गर्ने तथा आमा र नवजात शिशुका लागि सुरक्षित र सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले उपकरण सहयोग गरिएको बैंकले जनाएको छ । सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाज विकासमा योगदान पुर्याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने योजना बैंकको रहेको छ ।
गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी
गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उनले बताए । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
ज्योति विकास बैंकद्वारा चार जिल्लाका स्वास्थ्य संस्थामा बेबी वार्मर जडान
काठमाडौं । ज्योति विकास बैंकले प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । दुर्गम क्षेत्रसम्म सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहल गर्दै आएको हो । बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको छ । यस्तै, खोटाङको जालपा वडा–१२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन हेल्थ पोस्टमा पनि सो उपकरण जडान गरिएको बैंकले जनाएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो । बैंकका अनुसार हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकिएको छ । यसअघि विभिन्न चरणमा जडान गरिएका ६६ वटा बेबी वार्मरमार्फत हरेक वर्ष करिब २ हजार ४४२ भन्दा बढी नवजात शिशुले सेवा पाउँदै आएका छन् । हालसम्म करिब १२ हजार २१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइसकेका छन् । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले बैंकले यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जीवनरक्षक स्वास्थ्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थामध्ये अग्रस्थानमा रहेर काम गर्ने संस्थाका रूपमा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बैंकले खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ । साथै, गएको आर्थिक वर्षमा बैंकले करिब ४१ करोड रुपैयाँ कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गरेको जनाएको छ ।