गाउँलेले नपत्याएका डाक्टर अहिले उत्कृष्ट न्यूरो सर्जन
काठमाडौं । एउटा १०/१२ वर्षको बच्चालाई आमाले आँखा चिम्लेर काखमा कसेकी छन् । बच्चा जोडले चिच्याइरहेको छ । यता चिकित्सकले मजाले लुगा सिलाएजस्तै चुँडिन लागेको औंला सिलाइरहेका छन् । अब सम्झनूस् त यो क्षण कस्तो थियो होला ? एउटा बालकलाई कति पीडा भएको हुँदो हो ? बच्चा रोएर छट्पटाएको देख्दा आमाले कसरी आफूलाई सम्हालेकी थिइन् होला ? आजभन्दा करिब १८ वर्ष पहिले दुर्गम पहाडी क्षेत्रको स्वास्थ्य अवस्था यस्तै थियो । कुनै अप्रेसन गर्नुपर्दा घाउमा बोरा सिलाएजस्तै गर्नुपर्थ्यो । जहाँ न कुनै अप्रेसन गर्ने मेसिनहरू थिए न त बिरामीलाई दुखाइ कम गर्ने औषधी नै । डा. सुशीलमोहन भट्टराईलाई अहिले त्यो दृश्य सम्झँदा सपना जस्तै लाग्छ । ‘नाइलनको डोरी भकभक उम्लिरहेको पानीमा पकाएर लुगा सिलाए जस्तै सिलाउँदाको त्यो दृश्य अहिले सम्झँदा पनि डर लाग्छ,’ उनी भन्छन्, ‘मैले पहिलोपटक अप्रेसन यसरी नै गरें, त्यतिबेला बेला न राम्रो औषधी, थियो न उपकरण । जे छ त्यसमै प्रयास गर्नुको विकल्प थिएन ।’ अहिले दूरबिनबाट घाउ नबनाएरै शरीरको अंगअंगको अप्रेसन गरिरहेका भट्टराई आफूले १८ औं शताब्दीको तरिकाले उपचार गरेको अनुभव सुनाउँछन् । डा. सुशीलमोहन भट्टराई नेपालको चिकित्सा क्षेत्रका एक प्रतिष्ठित न्यूरो सर्जन हुन् । अहिले उनी वीर अस्पतालको न्यूरो सर्जरी विभागमा कन्सलटेन्ट सर्जनको रूपमा काम गरिरहेका छन् । यस क्षेत्रमा उनको अनुभव, समपर्ण र दक्षता प्रशंसनीय छ । ब्रेन ट्युमर, इस्पाइनल डिसअर्डर र न्यूरोलोजिकल जटिलताहरूको सजिर्कल उपचारमा गहिरो विशेषज्ञता हासिल भएका भट्टराई आजभन्दा १७ वर्ष पहिले विभिन्न ग्रामीण बस्ती पुग्दा गर्नुपर्ने उपचारको प्रक्रिया माथि उल्लेख गरिएअनुसार थियो । उनी चिकित्सा क्षेत्रमा प्रवेश गरेसँगै धादिङ, इलाम, धरान पुग्दा यसरी उपचार गर्नुपर्ने अवस्था थियो । जहाँ काम गर्दा उनले फरकफरक अनुभव सगाल्ने अवसर पाए । भन्छन्, ‘उपत्यका बाहिर काम गर्दा पाइलापाइलामा फरक अनुभव हुन्छ, प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भवती हुन आउने महिलालाई मैनबत्ती बालेर सुत्केरी गराउँदाको क्षण कस्तो दर्दनाक थियो, अहिले त नेपालको स्वास्थ्यले धेरै फड्को मारिसक्यो ।’ अवस्था उस्तै रहेन । अहिले सबै अंगप्रत्यंग सजिलै हेर्नसक्ने प्रविधि नेपाली स्वास्थ्य क्षेत्रमा उपलब्ध छन् । होसमै राखेर पीडा हुन नदिनेदेखि बेहोस पारेर हरेक अंगमा देखिएका विकार झिक्न सक्ने उपकरण छन् । यस्ता प्रविधिले उपचार गरिरहँदा कहिलेकाँही विगतका स्मरणले घोच्दा भट्टराईको मन चिसो हुन्छ । अहिले सहरमा मात्र होइन, हरेक वडामा स्वास्थ्य संस्था छन् । हरेक पालिकामा अस्पताल छन् । १८ वर्षमा पनि नेपालको स्वास्थ्य क्षेत्रले निकै ठूलो फड्को मारेको उनी बताउँछन् । गाउँलेले नपत्याएका डाक्टर भट्टराईको बाल्यकाल पोखरामै बित्यो । कक्षा १० सम्म उनले पोखरामै पढाइ गरे । एसएलसीपछि उनी डाक्टर बन्ने सपनामा काठमाडौं पसे । जुन सपना बोकेर काठमाडौं पसेका थिए, यो सपना पूरा भएको १८ वर्ष भइसक्यो । उनले आइएस्सीपछि काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरे । एमबीबीएस सकेर लगत्तै चिकित्सा क्षेत्रमा प्रेवेश गरेका उनी उपत्यकाभन्दा बाहिर कामका लागि गए । ग्रामीण स्थानमा पुग्दा गाउँलेहरूले उनलाई पत्याएनन् । झट्ट हेर्दा भर्खरको २२–२३ वर्षको अल्लारे ठिटो । त्यो बेला गाउँलेहरूलाई उनी डाक्टर हो भन्ने विश्वास नै लाग्दैन्थ्यो । अस्पतालमा आउँदा उनलाई धेरैले सोध्नै चाहँदैनथिए । सोधिहाले पनि उनले प्रेस्क्रिप्सन गरेको औषधी पनि पत्याउँदैनथिए । भन्छन्, ‘ऊ राम्रो डाक्टर हो, भर्खर पढेर आएको भनेर गाउँलेलाई सम्झाउन अस्पतालका नर्स, ल्याब र औषधी पसलेहरूले धेरै मिहिनेत गर्नुपर्यो ।’ उपचार गर्न भारत जानेको लर्को देख्दा अचम्मित भट्टराई जागिरको सिलसिलामा पूर्वी इलाममा पुग्दा अनौठो दृश्य देखे । जहाँ सामान्य बिरामी पर्दा पनि उपचारका लागि नेपालीहरू भारत जान्थे । टाउको दुख्दा होस् या पेट दुख्दा भारतको दार्जिलिङ र सिलगुढीका अस्पतालमा नेपालीको भीड लाग्थ्यो । नेपालमा उपचार हुन्छ, औषधी पाइन्छभन्दा पनि नागरिकहरूले पत्याउँदैन थिए । सामान्य उपचारका लागि भारत पुगेकाहरू फर्किँदा कार्टुनभरि औषधी बोकेर फर्कन्थे। बिस्तारै भट्टराईले जनचेतना अभिवृद्धिका काममा लागे । नेपालमा हुनसक्ने उपचारका लागि भारत गइरहन पर्दैन भन्दै सबै नागरिकलाई सम्झाउन चेतनामूलक कार्यक्रमको आयोजना गरियो । नागरिकले पनि विस्तारै विश्वास गर्दै गए । अहिले त्यो क्षेत्रमा सामान्य उपचारका लागि भारत जाने संख्यामा निकै कमी आएको छ । भन्छन्, ‘यो स्वास्थ्य सेवामा भएको राम्रो प्रगति हो । नागरिक बुझ्न थाले, स्वास्थ्यप्रति ध्यान दिन थाले। यो खुसीको कुरा हो ।’ वीरमा काम गर्दाको अनुभव कोरोना महामारीपछि नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन आएकोे छ । काठमाडौं बाहिर सामान्य सिटामोल नपाइने अवस्था थियो । अहिले विशेषज्ञ डाक्टर हरेक जिल्लाजिल्ला पुगिसकेको छन् भने सघन उपचार कक्ष (आइसीयु), भेन्टिलेटर सेवा, अप्रेसन आदिइत्यादि सेवा पनि पाइन्छ । भट्टराईले वीर अस्पताल काम गर्न थालेको ९ वर्ष भयो । अहिले उनले टाउकाको जटिल अप्रेसन पनि गर्छन् । यस्ता जटिल अप्रेशन गर्न अनुभव र एउटा टिमवर्क चाहिने बताउँछन् । ‘समूहमा काम गर्दा जटिलता धेरै कम हुन्छ,’ उनी भन्छन्, ‘यो बाहेक कतिपय अवस्थामा जटिलता आउँछन् र तिनीहरूको सही समयमा पहिचान र उपचार गर्दा व्यक्तिको ज्यान जोगाउन सफल भइन्छ ।’ यसका लागि प्रविधिले धेरै सजिलो बनाइदिएको छ । उनी विश्वस्तरिय प्रविधि प्रयोग गरेर उपचार गर्न पाउँदा कृतज्ञ बनेको बताउँछन् । भट्टराई कहिलेकाँही उपचारमा जटिलता आउनुलाई स्वभाविक ठान्छन् । भन्छन्, ‘संसारभरि उपचार गर्दा जटिलता नआउने भनेको हुँदैन । जुनसुकै चिकित्सकले गर्दा पनि यस्तो समस्या आउँछ । तर हरेक चिकित्सकले आफ्नो विशेषज्ञाता भित्र आफ्नो उपचारलाई सही सटिक र प्रभावकारी बनाउने हरेक प्रयास गरेको हुन्छ ।’ कहिलेकाँही विरामीको अवस्था देखेर आफन्तहरूले आस मारिसकेको अवस्थामा उपचारपछि बिरामी हिँडेर घर जाँदाको खुसी अर्कै हुन्छ । नसोचेको खुसी केही समय पहिले एकजना महिलालाई प्रहरीले बोकेर अस्पताल ल्यायो । बेवारिसे अवस्थामा सडकमा भेटिएकी उनी अचेत थिइन् । इमरर्जेन्सीमा ल्याएर उनको सिटिस्क्यान गरियो । टाउकोमा ठूलो परिमाणमा रगत जमेको देखियो । ती महिलाको धड्कनमात्र बाँकी थियो । बाँच्ने आशा समेत कमै थियो । अस्पतालले सबै व्यवस्थापन गरेर उपचार गर्यो । भेन्टिलेटरमा राखेर उपचार गर्दा उनको बल्ल प्राण जोगियो । उपचार गरेको तेस्रो दिन बल्ल उनले आँखा खोलिन् भने चौथो दिन बोल्न थालिन्, पाँचौं दिन बुझिने गरी कुरा गर्न थालेपछि चिकित्सकहरूले सोधे । धेरै दिनसम्म उनी को हुन् भनेर पहिचान हुन सकेन । चिकित्सकले आईसीयूमै विभिन्न प्रश्न गरे । लामो प्रयासपछि उनलाई आफन्त कसैको नम्बर याद छ भनेर नम्बर सोध्न सुरु गरियो । उनले नम्बर भन्दै गइन्, चिकित्सकले नम्बर डायल गर्दै फोन गर्न थाले । तर नम्बर जहिल्यै गल्ती हुन्थ्यो । तर एक दिन उनले भनेको नम्बरमा फोन गर्दा फोन सम्पर्क हुन सक्यो । बल्ल सही नम्बर थाहा भयो । छोरीसँग कुरा हुनेबित्तिकै दुई घण्टाभित्र उनको परिवार आइपुग्यो । उनी उपत्यका बाहिरकी रहेछिन् । उनी कसरी काठमाडौं आइपुगिन् भन्ने समेत परिवारलाई थाहा थिएन । प्रहरीले अन्तिम अवस्थामा अस्पताल पुर्याएकी महिलालाई बचाएर परिवासँग मेल गरायो । भट्टराई यो सबैभन्दा खुसीको क्षण भएको बताउँछन् । उनका अनुसार अस्पतालमा यस्ता घटनाहरू प्रायः भइरहन्छन् । नेपालमै पढाइ नेपालमै काम न्यूरो सर्जनका रूपमा काम गरिरहेका डा. सुशील नेपालमै पढेर विशेषज्ञता हासिल गरेका व्यक्ति हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मास्टर रेजिडेन्सटी गरे । विद्यावारिधी तहको एमसीएच न्यूरोसर्जरी तालिम वी अस्पतालबाट गरेका हुन् । हरेक व्यक्तिका रुचि, इच्छा र चाहना फरक हुन्छन् र ती सानैदेखि हुन्छन् । कसैलाई परिवारले गाइड गर्छन् । कोही सानै उमेरमा कसैलाई देखेर पनि सपना बुन्छन् । त्यही सपनालाई पच्छ्याउँदै जाँदा कतिपय सफल हुन्छन् त कोही असफल । कसैले अर्कै बाटो रोज्छन् जुनमा सफल हुन्छन् । यही क्रमम आफू चिकित्सक बनेको भट्टराई बताउँछन् । उनी डाक्टर बन्नुको पछाडि डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइराला हुन् । उनीहरूलाई नदेखेर नचिनेर पनि उनले रोलमोडलको रूपमा देखे । उनीहरूका अन्तर्वार्ता टिभीमा आउँदा कहिल्यै नछुटाएर हेर्थे । उनले पढ्नेक्रममा थुप्रै चिकित्सकलाई भेट्ने चिन्ने अवसर पाए । त्यसपछि उनको मनमा झन् चिकित्सकप्रति सम्मान बढ्दै गयो । डाक्टर हुनु र बन्नुमा फरक धेरैजसो अभिभावकको सपना आफ्ना बच्चाहरू डाक्टर बनून् भन्ने हुन्छ । विद्यार्थीहरूको इच्छा पनि यसैमा हुन्छ । तर डाक्टर बन्ने चाहना राख्नु र बन्नुमा धेरै फरक हुन्छ । अहिले नेपालमा शिक्षाको नाममा चरम व्यापारीकरण हुँदै गएको छ । डाक्टर बन्न खोज्नु र हुनुमा के फरक छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिक्षा किन्न सक्ने क्षमता छ भने डाक्टर हुन त्यति गाह्रो छैन । तर चिकित्सक बन्न एक तहको तपस्या, मिहिनेत गर्नैपर्छ । अहिले यो पेशामा लाग्ने अठोट सानै उमेरमा बनाइसक्नुभएको छ भने योसँग सम्बन्धित संघर्षलाई अगाल्ने अठोट गर्नुपर्छ ।’ ‘यो पेशा भनेको यस्तो हो कि यसले प्रतिफल दिन्छ तर सधैं दिन्छ भन्ने हुँदैन । कहिलेकाँही तपाईंले गरेका संघर्षभन्दा ठूलो प्रतिफल दिन्छ, कहिले कम दिन्छ । कहिल्यै यो प्रतिउत्पादक पनि हुन सक्छ,’ उनले थपे ।
एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले भविष्यमा संकट निम्त्याउन सक्ने डाक्टरहरूको चेतावनी
सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो । एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ । चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए । उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए । मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, 'बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।' नेपालको कूल ग्राहस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए । कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा। केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएको बताए । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ । 'बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ,' उनले भने, 'यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।' औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने बताउँछन् । कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औंल्याए । गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव यसैबीच सरोकारवालाले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीको प्रयोगले पु¥याउने हानिका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन्टिबायोटिकको प्रयोग जथाभावी गर्दा भविष्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आमनागरिकलाई जानकारी दिन आवश्यक रहेको औंल्याएका हुन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा एन्टिबायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आमनागरिकमा दिनुपर्ने सुझाव दिए । वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीकै कारण मानिसमा गम्भीर असर परिरहेकोतर्फ सचेत हुनुपर्नेबेला आएको बताए । नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताए । केही व्यवसायी र बिरामी आफै पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उनको भनाइ छ । सरोकारवालाहरुले मानव, पशुपक्षी र बोटबिरुवामा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निर्क्यौल गरेरमात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने सुझाव दिएका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दि‍ए । सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यससम्बन्धी बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुने प्रतिबद्धता जनाए ।
स्वास्थ्य सेवा विस्तारको तयारी : साउनदेखि अलपत्र अस्पतालहरू सञ्चालनमा ल्याइने
काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन् । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ । मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पतालहरु सञ्चालनका मन्त्री पौडेलले सक्रियता देखाएका थिए । हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ । अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्न मन्त्री पौडेलले कार्ययोजना तयारी अघि बढाएका छन् । यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ । मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।