अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
लस एन्जलस । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट संक्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ । सीडीसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि संक्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ। यस सिजनमा इन्फ्लुएन्जा ए (एच३एन२) भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ। जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सीडीसीले जनाएको छ। यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको संख्या ३२ पुगेको छ। सीडीसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्ण रूपमा खोप नलगाएका थिए। सीडीसीले अमेरिकामा फ्लु प्रायः शरद र जाडो याममा देखिने र यसको चरम अवस्था प्रायः डिसेम्बरदेखि फेब्रुअरी महिनासम्म रहने जानकारी दिएको छ। हालको अवस्थालाई ध्यानमा राख्दै सीडीसीले ६ महिनाभन्दा माथिका सबै व्यक्तिहरूलाई, यदि यस सिजनको फ्लु खोप नलगाएका भए, सकेसम्म छिटो खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले समयमै खोप लगाउने, सरसफाइमा ध्यान दिने र लक्षण देखिएमा स्वास्थ्य सेवा लिनु नै फ्लुबाट जोगिने प्रभावकारी उपाय भएको बताएका छन् । रासस
कामना सेवा विकास बैंकद्वारा झापाको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको एक आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय इट्टाभट्टामार्फत मेचीनगर नगरपालिका–०८, झापा स्थित सृजनाचोकको आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर प्रदान गरिएको हो । बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले मेचीनगर नगरपालिका–०८, सृजनाचोक, झापाका वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितिमा स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेका हुन् । बैंकको यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्दै प्रमुख पौडेलले विशेषगरी गरिब तथा असहाय सेवाग्राहीका लागि यो सुविधा थप सहज हुने बताए । साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस परोपकारी कार्यप्रति उनले बैंकप्रति धन्यवाद ज्ञापन गरे । बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
बेनी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपछि जिल्लावासीलाई सहज
म्याग्दी । प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताइन् । 'पोखरा जानुपरेको भए एक लाखभन्दा बढी खर्च हुने रहेछ', उनले भनिन्, 'बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।' सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रूपमा विपन्न, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरूलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ । रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोगसम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गरिन् । 'भर्ना भएको भोलिपल्टै शल्यक्रिया भयो', उनले भनिन्, 'शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।' विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङ्सिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए । प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग र सर्जन चिकित्सकको व्यवस्था मिलाएपछि पुस महिनायता सेवा नियमित छ । प्रदेश अस्पताल बेनीका प्रमुख डा हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिए । 'जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रियामार्फत प्रसूति गराएका छौँ', उनले भने, 'सिमित स्रोत, साधन र जनशक्तिका बाबजुत यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौँ ।' बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् । बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताए । बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् । वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो । रासस