नेपालको स्वास्थ्य सुधारबारे विश्वलाई जानकारी, स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरे । मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा र दह्रिलो विश्वव्यापी सहकार्य आवश्यक भन्दै महामारी नियन्त्रणका लागि संगठनले गरेको सम्झौताको स्वागत गरे । मन्त्री पौडेलले यसका लागि सदस्यहरूबीच बलियो सहकार्यका लागि आह्वान समेत गरे । नेपालको स्वास्थ्य सुधारबारे विश्व समुदायलाई जानकारी मन्त्री प्रदीप पौडेलले नेपालले मातृ शिशु मृत्युदर न्यूनीकरणमा तथा पोलियो उन्मुलनमा प्राप्त गरेको सफलताबारे विश्व समुदायलाई जानकारी गराएका छन् । नेपालले खोपको पहुँच विस्तारमा समेत प्रगति गरेको उल्लेख गर्दै पोलियो उन्मुलनसँगै सबै तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको उल्लेख गरेका छन् । ‘महिला सामाजिक स्वास्थ्य स्वयंसेविका तथा विद्यालय स्वास्थ्य कार्यक्रममार्फत सकारात्मक नतिजा प्राप्त गरेका छौं,’ मन्त्री पौडेलले भने । सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा नेपालले पहल थालेको भन्दै मन्त्री पौडेलले यसले सकारात्मक नतिजा दिने विश्वास गरे । नेपालले स्वास्थ्य बीमा कार्यक्रम लागु गरेको चर्चा गर्दै उनले निरोधात्मक स्वास्थ्य सेवा, महामारी पूर्वतयारी तथा डिजिटल स्वास्थ्यमा समेत जोड दिएको मन्त्री पौडेलले उल्लेख गरे । जलवायु परिवर्तनको स्वास्थ्यमा प्रभावबारे ध्यानाकर्षण नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए । ‘जलवायु परिवर्तनका कारण हाम्रो स्वास्थ्य क्षेत्रमा गम्भीर असर छ,' उनले भने, ‘हामीले सगरमाथा सम्वादका माध्यमबाट विश्वको ध्यानाकर्षण गर्यौँ ।' मन्त्री पौडेलले जलवायु स्वास्थ्य विषयमा नेपालले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने समेत घोषणा गरे । जेनेभामा रहेका मन्त्री पौडेलले विभिन्न देशका उच्चस्तरीय स्वास्थ्य अधिकारीहरूसँग नेपालको स्वास्थ्य सेवा सुधारबारे सहकार्यको प्रस्ताव गर्दै वार्ता गरिरहेका छन् ।
कुनै समय नाक खुम्च्याउने अस्पतालमा बिरामीको चाप
काठमाडौं । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ । नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईँले बताइन् । ‘चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ । नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ,’ उनले भनिन् । निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । अहिले नगर अस्पताल १५ शय्याको छ । यसलाई २५ शय्याको बनाउने लक्ष्य रहेको छ । नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेको उनको भनाइ छ । नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रालोले बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । ६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको उनको भनाइ छ । नगरपालिकामा एक नगर अस्पताल र ८ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । ३ करोड ९६ लाख रुपैयाँको लागतमा ८ वटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । १५ करोड ३४ हजार रुपैयाँको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगर प्रमुख प्रसाईँले बताइन् । भवन निर्माण भएपछि १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिने छ । आधारभूत स्वास्थ्य केन्द्रबाट १२७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजीव विष्टले बताए। नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार ७६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ । बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउँछन् । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।
विदेश जानुपर्ने दिन गए, मृगौला रोगको उपचारमा नेपाल आत्मनिर्भर
पछिल्लो समय नेपालमा मृगौला उपचारको क्षेत्रमा ठूलो सुधार आएको छ । मृगौला रोगीको संख्या बढे सँगै यसको उपचारमा पनि विशिष्टिकृत हुँदै गएको हो । नेपालमा सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको सुरुवात गरिएको थियो । त्यसअघि मृगौला प्रत्यारोपण गर्नुपरेमा छिमेकी मुलुक भारत र अन्य मुलुक जानुपर्ने अवस्था थियो । पैसा हुनेले विदेश गएर उपचार गर्ने गरे पनि पैसा नहुनेले भने स्वदेशमा राम्रो उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नुपरेको हुन्थ्यो । टिचिङ अस्पतालसँगै क्रमशः अन्य अस्पतालहरुमा यो सेवाको बिस्तार भएको छ । निजी क्षेत्रबाट सबैभन्दा पहिले मृगौला प्रत्यारोपण शुरुवात गर्ने अस्पताल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल हो । हाल एक दर्जनभन्दा बढी अस्पतालहरूमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल वर्षेनी ४०० को हाराहारीमा मृगौला प्रत्यारोपण हुँदै आएको छ । हाल नेपालमा जटिल खालका मृगौला प्रत्यारोपण पनि सम्भव रहेको छ । भिन्न रक्त समूहका व्यक्तिले पनि मृगौला प्रत्यारोपण गर्न पाउनेछन् । मृगौलाका उपचारका लागि विश्वका विकास भएका सबै प्रविधि अहिले नेपालमा भित्रिएका छन् । मृगौला प्रत्यारोपण मात्र नभएर यससम्बन्धी जटिल रोगको पनि नेपालमा उपचार हुँदै आएको छ । मृगौला उपचारका लागि अहिले विदेश जानुपर्ने अवस्था छैन । समयमै मृगौला रोग पत्ता लगाउन सके कम खर्चमा यस रोगको उपचार गरी मृगौला रोग पूर्ण रुपमा निको हुने हुन्छ । मृगौला रोग लागेका विरामीले समयमै जाँच नगर्दा अन्तिम अवस्थामा विरामी अस्पताल आउने गरेको पाइन्छ । मृगौला फेल भइसकेपछि विरामी अस्पताल पुग्दा यसको उपचारका लागि धेरै खर्च लाग्छ । मृगौला प्रत्यारोपण र डायलाइसिस दुबै महँगो विधि हो । मृगौलाको रोग समयमै पत्ता नलाग्दा नेपाल जस्तो मुलुकका लागि मात्र नभई विश्वकै लागि ठूलो आर्थिक भार थपेको छ । हाल सरकारले मृगौला विरामीको उपचारका लागि सहयोग गर्दै आएको छ । सरकारले मृगौला प्रत्यारोपणका लागि सरकारी अस्पतालमा रु चार लाख ५० हजार र औषधीका लागि रु एक लाख सहयोग गर्दै आएको छ । यस्तै, विमामा आवद्ध भएका विरामीलाई विमाबाट पनि औषधी दिने व्यवस्था गरेको पाईन्छ । यस्तै, डायलाइसिसका लागि पनि सहयोग गर्दै आएको छ । डायलाइसिसको सुविधा गाउँमा नहुँदा शहरी क्षेत्रमा आएर उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । शहरी क्षेत्रमा आएर कोठा खोजेर हिमोडायलाइसिस गराउँदा खर्च महँगो हुँदै गएको छ । डायलाइसिस हप्ताको २ देखि ३ पटकसम्म गर्नुपर्ने हुन्छ । अरु रोगको तुलनामा मृगौला उपचारमा ठूलो आर्थिक भार पर्ने गरेको छ । पेटमा हुने डाइलोसिस घरमै बसेर गर्न सकिन्छ । पाँच प्रतिशत विरामीले मात्र पेरिटोनियल (घरमै बसेर गर्न मिल्ने डायलाइसिस) गरिरहेका छन् । हिमो डायलाइसिस (मेसिनबाट गरिने) डायलाइसिस हो । नेपालमा यो डायलाइसिस अस्पतालमा मात्र गरिन्छ । नेपालमा मृगौलाका विरामी दिन प्रतिदिन बढ्दै गएको पाईन्छ । मृगौला रोग हुने मुख्य कारणमा मधुमेह (सुगरको रोग) र उच्च रक्तचाप नै हो । यसबाहेक ग्लोमरुलोनेफ्राइटीस, पत्थरी, वंशाणुगत रोग र विभिन्न किड्नी बिगार्ने औषधिको सेवनले गर्दा हो । विदेशी मुलुकमा श्रम गर्न गएका नेपालीलाई बढी मात्रामा मृगौलाको रोग देखा परेको पाईन्छ । खानपान नमिल्ने, लामो समय काम गर्नुपर्ने, समयमै उपचार नहुनु आदि तनावका कारण यो रोग विदेश काम गर्न गएका नेपालीलाई लाग्ने गरेको पाईन्छ । मृगौला फेल भएपछि गरिने उपचार पद्दती ज्यादै महंगो भएकाले समयमै मृगौला रोग लाग्न नदिनु वा समयमै पहिचान गरि त्यसको उपचार गर्दा यसको जोखिमबाट बच्न सकिन्छ । त्यसैले मृगौला रोगको जोखिममा रहेका विरामीले यसको नियमित परीक्षण गर्नुपर्छ । परिवारमा मृगौला रोग भएका व्यक्ति, मधुमेहका रोगी, उच्च रक्तचाप भएका व्यक्ति, मृगौलामा पत्थरी भएका व्यक्तिले मृगौलाको नियमित जाँच गर्नुपर्छ । त्यो बाहेक कुनै लक्षण देखा परेमा जस्तै, जीउ सुनिन्ने, खुट्टाको गोलीगाँठा सुन्निने, आँखाको डिल सुन्निने, पिसावको रङ धमिलो हुने, घाममा हिँड्दा गाला रातो हुने पिसावमा अत्याधिक फिँज आउने या कोखा दुख्ने, पिसाव छिनछिनमा आउने, जोर्नी, दुख्ने वा पोल्ने यस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सक कहाँ गई उपचार गनुपर्ने हुन्छ । यस्तै, दुखाई कम गर्ने औषधी लामो समय प्रयोग गर्दा मृगौलालाई खराब गर्ने भएकाले त्यसको प्रयोग गर्दा चिकित्सकको सल्लाह लिएर मात्र लिने गर्नुपर्छ । चिकित्सकको सल्लाह विना औषधी प्रयोग नगर्ने, यस्ता रोग सुरुको अवस्थामा पत्ता लागेमा अधिकाशं रोग निको हुन्छ । मृगौला प्रत्यारोपणबाट बच्न सकिन्छ । मृगौलाको रोगबाट बच्न र नियन्त्रणमा राख्न खानपानमा विशेष ध्यान दिने, सुख्खा खाना (जंक फुड) नखाने, प्रशस्त मात्रामा फलफूल, सागपात तथा पानी पिउनुपर्छ । नियमित व्यायाम गर्ने, गुलियो खानेकुरा नखाने, गुलियो पेय पदार्थ सकेसम्म नखाने गर्नुपर्छ । अत्याधिक नुन भएका खानाहरु कम खाने गर्नुपर्छ । यसबाहेक तनाव कम गर्नका लागि व्यायाम, योगा, ध्यान गर्नुपर्ने हुन्छ । दैनिक ६ घण्टादेखि ८ घण्टासम्म सुत्ने गर्नुपर्छ । आफ्नो तौल नियन्त्रण गर्ने गर्नुपर्छ । कुनै रोग नलागे पनि ३० वर्षभन्दा माथिका व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण गर्ने गर्नुपर्छ । मृगौला रोगको जोखिममा रहेका ब्यक्तिहरुले आफनो ब्लडप्रेसर, सुगर र पिसावको जाँच नियमित गर्नुपर्छ । (प्रा. डा. दिव्या सिंह शाह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको वरिष्ठ मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ हुन् )