स्वास्थ्यमा प्रशासन होइन, उपचारमा जनशक्ति चाहिन्छ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा प्रशासनिक जनशक्ति विस्तार होइन, उपचार सेवामा जनशक्ति बढाउनु पर्ने स्पष्ट पारेका छन् । आइतबार भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर (पेडियाट्रिक अन्कोलोजी) वार्ड र पिआइसियु कक्षको उद्घाटन गर्दै उनले प्रशासनलाई साँघुरो बनाउँदै उपचार केन्द्रित पूर्वाधार र सेवामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, 'डाक्टर चाहिएको बेला प्रशासक ल्याएर त हुँदैन, अस्पतालका कोठाहरू उपचारका लागि प्रयोग गर्नुपर्छ ।' मन्त्री पौडेलले अस्पतालको सेवा विस्तारका लागि आवश्यक जग्गा अभाव भएको उल्लेख गर्दै स्थानीय तह र सम्बन्धित निकायले शीघ्र सहकार्य गर्नुपर्ने बताए । 'भूमिसुधार कार्यालयबाट ढिलो भएकोले पूर्वाधार निर्माणको काम अगाडि बढ्न सकेको छैन,' उनले भने । मन्त्री पौडेलका अनुसार सरकारले १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको उपचार पूर्णरूपमा निःशुल्क गरिरहेको छ भने करिब ८० प्रतिशत औषधि पनि अस्पतालमा निःशुल्क उपलब्ध छ । त्यस्तै, स्टोक र हेमोफेलियाजस्ता जटिल रोगका औषधिहरू पनि तीनवटा अस्पतालमा निःशुल्क वितरण भइरहेको जानकारी दिए । 'श्रोत छैन भनेर बसिरहने बेला होइन,' मन्त्री पौडेलले भने, 'हामी आन्तरिक स्रोत र साधनको अधिकतम उपयोग गर्दै स्थायी र गुणस्तरीय स्वास्थ्य सेवा दिन प्रतिबद्ध छौँ ।' उनले प्रशासनलाई खुम्च्याएर उपचार सेवामा बढी लगानी गर्नुपर्ने बताए । मन्त्री पौडेलले स्वास्थ्यसेवा विस्तारका लागि घोषणा मात्र होइन, कार्यान्वयनमै ध्यान केन्द्रित गर्दै अस्पतालको पूर्वाधार, सेवा र पहुँच विस्तारमा सरकार दृढ रहेको सन्देश दिएका छन् ।
५० वर्ष पुरानो भवनको सट्टामा सुविधा सम्पन्न चौकी, गलकोटमा स्वास्थ्य सेवा बलियो
ढोरपाटन । गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका भवन निर्माण गरिएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ मा मल्म स्वास्थ्य चौकी निर्माण गरिएका हुन् । वर्षौँ पुराना भवनबाट सञ्चालन हुँदै आएका स्वास्थ्य चौकीलाई व्यवस्थित गरी नगरपालिकाले प्रभावकारी सेवा प्रदान गर्न नयाँ संरचना थप गर्दै आएको छ । दुईवटै स्वास्थ्य चौकी निर्माण अघिल्लो वर्ष सुरु गरिएको थियो । दुदिलाभाटी स्वास्थ्य चौकी २०८० मङ्सिरमा सम्झौता गरी काम सुरु भएको थियो । विष्णु निर्माण सेवाले रु एक करोड ८१ लाख ५८ हजार ६८० लागतमा निर्माणको जिम्मा पाएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उक्त भवन गत माघमा सम्पन्न भएको थियो । मल्म स्वास्थ्य चौकी २०८० असारमा सम्झौता भई काम सुरु भएको थियो । जयकालिका भगवत/केसी निर्माण सेवा जेभीले रु दुई करोड ३१ लाख ३६ हजारको लागतमा निर्माण गर्नेगरी जिम्मा पाएको उक्त भवन गत वर्ष पुसमा सम्पन्न भएको थियो । प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ । पालिकाका सबै स्वास्थ्य चौकीको सुविधायुक्त भवन बने, यहाँबाट दिइने सेवालाई पनि गुणस्तरीय र प्रभावकारी बनाउन सकिन्छ । आम नागरिकले विश्वास गर्नेगरी स्वास्थ्य संस्थाबाट सेवा दिने प्रयास भइरहेको छ । कोही बिरामी भए गाउँमै उपचार पाउने भएका छन् । दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले ५० वर्ष अगाडि बनेको साँघुरो कच्ची भवनबाट सेवा प्रभावकारी हुन नसकेको बताए । एउटै कोठाबाट धेरै सेवा दिँदा बिरामीलाई लाइनमा बसाल्नुपर्ने समस्या भएको भन्दै अब उक्त समस्या समाधान हुने उनको भनाइ छ । पालिकाको ११ वटै वडामा नगरपालिकाले स्वास्थ्य सेवा पुर्याएको छ । गलकोटमा एउटा नगर अस्पतालसहित १४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार नगरपालिकामा सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । नगरपालिकाले नौ स्थानमा बर्थिक सेन्टर र पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा दिँदै आएको छ । गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना गरी बर्थिङ सेन्टर सञ्चालन गरेपछि दूरदराजका नागरिकले सहज रूपमा सेवा पाउनुका साथै घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको प्रमुख पौडेलले जानकारी दिए । रासस
अस्पताल भवनमा ८० प्रतिशत प्रगति, निर्माण व्यवसायी जरिवाना तिरेर निरन्तरता दिँदै
कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–४ असैनामा १० शय्याको नगर अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । पाँच वर्षअघि निर्माण थालिएको सो अस्पतालको भवन बल्ल अन्तिम चरणमा पुगेको हो । हालसम्म भवन निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि पटकपटक म्याद थप गरे पनि निर्माण सम्पन्न भएको थिएन । अब भने निर्माण सम्पन्न हुने आशा गरिएको नगरपालिकाको पूर्वाधार विकास तथा व्यवस्थापन शाखाका प्रमुख दीपक धाँमीले बताए । अस्पताल भवन निर्माणका लागि विसं २०७८ असार ७ गते छ करोड २४ लाख ५८ हजार १०३ रुपैयाँमा एमके निरज जेभीले ठेक्का लिएको थियो । भवन निर्माणका लागि थप गरिएको म्याद गत मङ्सिरमै सकिएको छ । निर्माण व्यवसायीले जरिवाना तिर्दै भवन निर्माणलाई निरन्तरता दिएको छ । अब भवनको प्रवेशद्वार, विद्युत् जडान, खानेपानी जडान, रङ्गरोगन, झयाल, ढोकालगायत ‘फिनिसिङ’को काम बाँकी छ ।