४० करोड भुक्तानी नपाउँदा शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचार सेवा बन्द गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । अस्पतालले पाउनुपर्ने दाबी रकम बीमा बोर्डले उपलब्ध नगराएपछि बीमा उपचारका सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । अस्पतालले एक सूचना जारी गर्दै आगामी माघ १ गतेदेखि बीमा सेवा बन्द गर्ने जनाएको छ । अस्पतालका अनुसार स्वास्थ्य बीमामार्फत उपचार गराउने बिरामीको संख्या दिनहुँ बढ्दै जाँदा मासिक झन्डै ५ करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । तर बीमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृत हुने र बाँकी अस्वीकृत हुँदै आएकाले अस्पतालको बीमा दाबी रकम करिब ४० करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, 'अस्पतालमा आउने बिरामीहरूको उपचारका क्रममा बीमा बोर्ड र अस्पतालको दररेट शुल्क फरक रहेको छ। अस्पतालले बारम्बार अस्पतालको दररेटलाई अन्तिम दर मानिदिन विगत दुई वर्षदेखि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको, साथै आफ्नै आन्तरिक स्रोतबाट दैनिक सम्पूर्ण खर्च व्यहोर्नुपर्दा मासिक दुई करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न असमर्थ भएकाले यही २०८२ साल माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण उपचार सेवाहरू बन्द गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो ।' स्वास्थ्य बीमा बोर्ड र त्रिवि शिक्षण अस्पतालबीच २०७७ सालदेखि स्वास्थ्य बीमा उपचार कार्यक्रम सञ्चालन हुने सम्झौता भएको थियो । यसबीच पनि अस्पतालले पटक–पटक दाबी भुक्तानी नपाएको भन्दै कार्यक्रम रोक्दै आएको थियो ।
गुणस्तरहीन पुष्टि भएपछि लेभोफ्लक्स ५०० बजारबाट फिर्ता, एन्टिबायोटिक प्रयोगमा जोखिम
काठमाडौं । औषधी व्यवस्था विभागले लेभोफ्लक्स ५०० ट्याबलेटलाई बजारबाट फिर्ता पठाएको छ । राष्ट्रिय औषधी प्रयोगशालाले बजारमा आएको लेभोफ्लक्स ५०० ट्याबलेट नमुना परीक्षण गर्दा गुणस्तर नभएको पाइएकाले बजारबाट तुरुन्त फिर्ता मगाउन भनेको विभागले जनाएको छ । बारामा रहेको म्याग्नेस फर्मा कम्पनीले उत्पादन गरेको बीबी २४००१ ब्याचको यो औषधी गुणस्तर नभएको पाइएपछि फिर्ता मगाउनुपरेको हो । लेभोफ्लक्स ५०० तेस्रो पुस्ताको एन्टिबायोटिक हो । यो ब्रोंकाइटिस, निमोनिया, छालाको संक्रमण, मुत्रनलीको संक्रमणजस्ता गम्भीर ब्याक्टेरियल संक्रमणको उपचारमा प्रयोग गरिन्छ । यो औषधीको नमुना २०२५ फेब्रुअरीमा संकलन गरेको भए पनि गुणस्तर रहेरनरहेको थाह पाउन झण्डै एक वर्ष लागेको छ । विभागले एकवर्ष अगाडि औषधीको गुणस्तर परीक्षण गर्दा २०२६ को जनवरीमा गुणस्तरबारे पत्ता लागाउँदै फिर्ता मगाउन निर्देशन दिएको हो । बजारमा रहेको औषधी फिर्ता पठाउन भने पनि धेरैजसो औषधी बिक्री भइसकेको वा प्रयोग गरिएको हुनसक्ने अनुमान गरिएको छ । विभागले जनशक्ति अभावका कारण समयमै काम गर्न नसकेको प्रत्रिक्रिया दिएको छ । अहिले यो औषधी बजारमा कति छ भन्नेबारे जानकारी लिन विभागका औषधी निरीक्षकले देशभरका २ हजार ५ सय फार्मेसीमा निरीक्षण गर्ने काम गरिरहेको छ । विभागले बजारको औषधी फिर्ता लिन र गुणस्तर औषधी निर्माण गर्न कम्पनीलाई निर्देशनसमेत दिएको छ । ‘औषधी ऐन २०३५’ ले कुनै पनि औषधी गुणस्तरहीन भएको पाइएको बजारबाट फिर्ता लिनु पर्ने व्यवस्था गरेको छ।
नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना र उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइ नियुक्त
काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त भएकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रानालाई नियुक्त गरेको हो । निवर्तमान अध्यक्ष सरला केसीको कार्यकाल सकिएपछि रानालाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । यस्तै, उपाध्यक्षमा रोशनीलक्ष्मी तुइतुइलाई नियुक्त गरिएको छ भने सदस्यहरूमा हीराकुमारी निरौला, सरला केसी, संगीता श्रेष्ठ, रामानन्द चौधरी नियुक्त भएका छन् ।