आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर

अहिले संसारमा आरोग्य उद्योग अत्यन्तै फस्टाएको छ । शरीर स्वस्थ राख्ने उपायका बारेमा लेखिएका पुस्तक, शारीरिक व्यायामका उपकरणहरू, विभिन्न प्रकारका सौन्दर्य प्रसाधन, विभिन्न प्रकारका अतिरिक्त पौष्टिक तत्व तथा शारीरिक व्यायाम सिकाउने कक्षा सबै आरोग्य उद्योगका अङ्ग हुन्, जसमा संसारभरिका मानिस खर्बौं डलर खर्च गर्न तत्पर छन् । तर वास्तविक आरोग्यका लागि मनको सुख, मनको आनन्द, अनि शरीर र मस्तिष्कको स्वस्थता र आनन्द आवश्यक पर्दछ, जुन इन्द्रीयको प्रयोगका साथै योग र ध्यानबाट मात्र प्राप्त हुन्छ । नेपाल ध्यानको उद्गम बिन्दु हो । योगको आविष्कार पनि हाम्रै वरिपरि भएको हो । वैदिककालमै हाम्रा ऋषिमुनिहरूले योग र ध्यानको आविष्कार गरेका थिए । योग, ध्यान, हाम्रो प्रकृति, संस्कृति, व्यवहार, उत्पादन, जडीबुटीलगायत वन पैदावार र जैविक विविधता सबै आरोग्य प्राप्तिका लागि सहायक तत्व हुन् । जसलाई एउटै शृङ्खलामा आबद्ध गरी आरोग्य पर्यटनको विकास र प्रवर्द्धन गर्न सक्दछौँ र नेपाल आरोग्य पर्यटनका लागि नमुना मुलुक हो भनेर संसारलाई चिनाउन सक्दछौँ । त्यसैले हामीले हाम्रो पर्यटनको ब्राण्डिङ गर्नुपर्ने मूल तत्व हो–आरोग्य । नेपालमा उपलब्ध सम्पूर्ण स्रोत र साधनलाई आरोग्यतर्फ लक्षित गरी आरोग्य पर्यटनका लागि नेपाल विश्वको अग्रणी मुलुक हो भनेर स्थापित गर्न सक्नुपर्दछ । प्रत्येक मानिस आरोगी वा स्वस्थ हुन चाहन्छ । सामान्य अर्थमा आरोग्य भन्नाले कुनै किसिमको रोग नभएको र आन्तरिक ऊर्जाले भरिभराउ भन्ने बुझिन्छ । तर, कस्तो रोग नभएकोलाई आरोग्य भन्ने त ? मैले कुनै पनि प्रकारको औषधि सेवन गर्नु पर्दैन, मैले अहिलेसम्म कुनै चिकित्सक वा स्वास्थ्यकर्मीको सेवा लिनुपरेको छैन, म आजसम्म कुनै अस्पताल वा स्वास्थ्य केन्द्रमा जानुपरेको छैन, त्यसैले म आरोगी हो भनेर कसैले भन्न सक्दछ । तर, यो शारीरिक निरोगिता मात्र हो । वास्तविक आरोग्य प्राप्त गर्न शरीर मात्र स्वस्थ भएर हुँदैन, व्यक्तिको मन, मस्तिष्क, शरीर, वचन र कर्म नै स्वस्थ हुनुपर्दछ, उसको भावना र चेतना स्वस्थ हुनुपर्दछ । आरोग्य के हो ? आरोग्य बहुआयामिक विषय हो । आरोग्यका आयामहरू शारीरिक, मानसिक, वातावरणीय, सामाजिक, भावनात्मक र आध्यात्मिक हुन्छन् । मानिसलाई आरोगी हुन यी सबै आयामको सन्तुलन आवश्यक पर्दछ । यी आयामहरूले मानिसलाई तीन वटा तापबाट मुक्त हुन सहयोग गर्दछन् । तीनवटै ताप छैन भने मानिस स्वतः आनन्दित हुन्छ, अनि यसरी आनन्दित मानिस नै आरोगी हुन्छ । तसर्थ आनन्दको बाहिरी प्रकट रूप नै आरोग्य हो । आरोग्य पर्यटनको सम्भावना पर्यटन विकासका लागि कुनै एउटा ‘ब्राण्ड’ हुनु जरूरी छ । हालसम्म हामीले प्रकृतिलाई मात्र अघि सार्दै आयौँ । नेपालको प्राकृतिक सौन्दर्य र सामाजिक–सांस्कृतिक सम्पदालाई नै पर्यटनको मूल स्रोतका रूपमा प्रचारप्रसार गर्दै आयौँ । तर, कुनै मूल तत्व अर्थात् ‘ब्राण्ड’लाई भने आधार बनाएनौँ । हामीले नेपालको पर्यटनको साँच्चिकै विकास गर्ने हो भने एउटा ‘ब्राण्ड’ आवश्यक हुन्छ, जुन आरोग्य हो । विश्वमा आरोग्य अर्थतन्त्रको आकार बर्सेनि बढ्दो क्रममा रहेको छ । ग्लेबल वेल्नेस् इन्ष्टितच्युटले प्रकाशन गरेको ‘दि वेल्नेस भकोनोमी : कन्ट्री र्याङ्किङ’ का अनुसार सन् २०२२ मा विश्वको आरोग्य अर्थतन्त्र ५.६ ट्रिलियन अमेरिकी डलर बराबर पुगेको थियो, जुन सन् २०१४ मा ३.४ ट्रिलियन अमेरिकी डलरको मात्र थियो । यसरी आठ वर्षको अवधिमा आरोग्य अर्थथन्त्रको आकार ६४ प्रतिशतले बढेको देखिन्छ । अर्थतन्त्रको आकार बढेसँगै आरोग्य प्राप्तिका लगि गरिने प्रतिव्यक्ति खर्चमा पनि वृद्धि भएको छ । सन् २०२२ मा यस्तो खर्च ७०६ अमेरिकी डलर पुगेको थियो, जुन प्रतिव्यक्ति स्वास्थ्य सेवामा गरिने खर्च (७११ अमेरिकी डलर) कै हाराहारीमा रहेको थियो । अझ उत्तर अमेरिकाको प्रतिव्यक्ति आरोग्य खर्च ५,१०८ अमेरिकी डलर पुगेको छ । यसबाट आरोग्य व्यवसाय र उद्योगको विस्तार व्यापक रूपमा भइरहेको देखिन्छ । आरोग्य अर्थतन्त्रमा सबैभन्दा बढी योगदान व्यक्तिगत हेरचाह र सौन्दर्य (अमेरिकी डलर १,०८९ अर्ब) को छ भने त्यसपछि क्रमशः स्वस्थकर खाना, पौष्टिकता र वजन कम गर्न (अमेरिकी डलर १,०७९ अर्ब), शारीरिक व्यायाम (अमेरिकी डलर ९७६ अर्ब), आरोग्य पर्यटन (अमेरिकी डलर ६५१ अर्ब), जनस्वास्थ्य, निरोधात्मक र औषधि (अमेरिकी डलर ६११ अर्ब), परम्परागत र निःशुल्क औषधि (अमेरिकी डलर ५१९ अर्ब) र आरोग्य घरजग्गा व्यवसाय (अमेरिकी डलर ३११ अर्ब) को रहेको छ । नेपालको आरोग्य अर्थतन्त्रको आकार निकै सानो छ । ग्लोबल वेल्नेस इन्टिच्युटका अनुसार विश्वका १४३ मुलुकमध्ये नेपाल आरोग्य अर्थतन्त्र सूचकाङ्कको ९१औँ स्थानमा छ । सन् २०२२ मा नेपालको आरोग्य अर्थतन्त्रको आकार २.०२ अर्ब अमेरिकी डलरको थियो । यसमा माथि उल्लेख गरिएका सबै प्रकारका खर्च पर्दछन् । नेपालमा उपलब्ध आरोग्य पर्यटनका वस्तु र सेवाले आरोग्यका अन्य आयामहरूमा गरिने खर्चलाई उल्लेख्य रूपमा घटाउन मदत गर्दछन् । हामीले यसको ब्राण्डिङ, प्रवद्र्धन र पर्याप्त प्रचारप्रसार गर्न सक्यौँ र सोही अनुसारको सेवा प्रदान गर्न सक्यौँ भने नेपाल आरोग्य पर्यटनको विश्वव्यापी ‘हब’ बन्न सक्दछ । यसबाट नेपाल समृद्ध हुने त छँदैछ, विश्वभरका मानिसलाई आरोगी बनाउन उल्लेख्य भूमिका खेल्न सकिन्छ । आरोग्य पर्यटनका वस्तु, सम्भावना र अवसर मानिसले सधैँ तीन वटा कुराको लालसा राख्दछ–भौतिक सुख, शारीरिक स्वस्थता र खुसी । आधुनिक युगमा भौतिक सुख प्राप्तिका लागि मानिसले जस्तोसुकै मूल्य पनि चुकाउन तयार हुन्छ । शरीरको स्वस्थता मानिसले खोज्ने अर्को कुरा हो । उसले मानसिक स्वास्थ्यको खासै वास्ता गर्दैन तर शारीरिक स्वस्थतालाई भने प्राथमिकतामा राख्छ । धेरै मानिसलाई दिगो र अविनाशी खुसीका बारेमा खासै ज्ञान छैन, उसले केवल क्षणिक खुसीलाई नै सर्वोपरि ठान्दछ । यी तीनवटै कुराको परिमार्जित सम्मिश्रण हो–आरोग्य । हामीलाई भौतिक सुख पनि चाहिन्छ, शारीरिक स्वस्थता मात्र पर्याप्त हुँदैन, मानसिक स्वस्थता पनि उत्तिकै आवश्यक हुन्छ । अनि खुसी भएर मात्र हुँदैन, त्यो खुशी दिगो र शास्वत हुनुपर्दछ । पर्यटकले खोज्ने पनि यत्ति नै हो–भौतिक सुविधा पनि होस्, स्वास्थ्य पनि सुदृढ होस् र खुसी मिलोस् । नेपालमा यी तीनै कुरा छन्मात्र हामीले खोज्न सक्नुपर्दछ, तिनको प्रवद्र्धन गर्नुपर्दछ र पर्यटकलाई दिनुपर्दछ । हाम्रा ऋषिमुनिहरूले भौतिक सुखलाई वास्ता गरेनन्, मानसिक सुख, स्वास्थ्य र शान्ति, त्यसपछि खुसीलाई जोड दिए । भौतिक सुखले मानिस दीगो रूपमा खुसी हुन पनि सक्दैन र मानसिक सुख पनि प्राप्त हुँदैन भन्ने उनीहरूको मान्यता थियो । आधुनिक युगमा मानिसले भौतिक सुखलाई सर्वोपरि ठान्दै स्वास्थ्यलाई कम प्राथमिकतामा राखेको छ । यी दुवै अतिवादबाट माथि उठेर हामीले आरोग्य पर्यटनको प्रवद्र्धन गर्नुपर्दछ । उपाय सरल छ– भौतिक सुख प्राप्तिमा योग र ध्यानलाई जोड्ने । यसले शारीरिक तथा मानसिक स्वास्थ्य सबल बनाउन मद्दत गर्दछ । जब शारीरिक र मानसिक सुख प्राप्त भई दिगो खुसी मिल्दछ, अनि आरोग्य खोज्न कतै जानुपर्दैन–आफैँभित्र पाइन्छ । नेपालमा के छ ? नेपालमा के छ भन्नुभन्दा पनि के छैन भन्ने प्रश्न बढी सान्दर्भिक हुन्छ । नेपालको आरोग्य पर्यटनका नौ वटा अवयब छन् । १ प्रकृति, भौगोलिक र जैविक विविधता नेपाल प्राकृतिक सौन्दर्यका लागि विश्वमै अद्वितीय मुलुक हो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै पर्दछन् । हिमाल बाहेक हामीसँग भएका अपार जलसम्पदा, घना जङ्गल, पदयात्राका लागि विकल्प नै विकल्प भएका स्थानहरू उपलब्ध छन् । हिमाल आरोहण होस् वा पदयात्रा होस्, वनजङ्गल विचरण होस् वा अत्यधिक बहाव भएका नदीनालामा जलयात्रालगायतका मनोरञ्जनपूर्ण क्रियाकलाप हुन्, यी सबैले शारीरिक तन्दुरुस्ती दिन्छ । नेपालको भौगोलिक र जैविक विविधता विश्वमै अनुपम छ । समुद्री सतहबाट ७० मिटरमाथिको केचनाकलन र ८८४८.१५ मिटरको सगरमाथा छ । त्यति नै दूरीमा माइनस ४४ देखि प्लस ४४ डिग्री सेल्सियसको तापक्रम पाइन्छ । एउटै अरुण उपत्यकामा मात्र ६०० जातिका चराचुरुङ्गी पाइन्छ । नेपालभर १०० भन्दाबढी जातजाति बस्दछन् भने ९० भन्दाबढी भाषा बोलिन्छन् । एउटै भाषा बोल्दा पनि स्थान विशेषका उच्चारण र भाव फरक रूपमा प्रकट हुन्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधताको सामीप्य र भौगोलिक विविधताले दिने शारीरिक तथा इन्द्रीय सुख नेपालमा सजिलै पाइन्छ । २ साहसिक पर्यटनका वस्तु र सेवा साहसिक पर्यटनका लागि लगभग सबै अवसर नेपालमा उपलब्ध छन् । हिमाल आरोहण, स्कीइङ, ट्रेकिङ, अत्यधिक बहाव भएका नदीहरूमा गरिने जलयात्रा, अनेकौं प्रकारका जङ्गली जनावरहरू, अत्यधिक उचाइबाट गरिने बञ्जी जम्पिङलगायतका साहसिक खेलका लागि नेपाल आकर्षक भूमि हो। यी सबैले एकातिर शारीरिक तन्दुरुस्ती दिन्छन् भने अर्कातिर प्राकृतिक सुन्दरता र मनोरमताले इन्द्रीय सुख प्रदान गर्दछन् । शरीर र मन दुवै स्वस्थ भएपछि स्वतः मानिसले आनन्दको अनुभव गर्दछ । साहसिक पर्यटनको प्याकेजमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्तिले आन्त्यतिक अर्थात् अन्त नहुने सुख प्राप्त गर्दछ । ३ धर्म, धार्मिक सद्भाव र सहिष्णुता नेपाल हिन्दू धर्मावलम्बी बहुल मुलुक भए तापनि यहाँ धार्मिक सहिष्णुता र विविधता छ । व्यक्तिका धार्मिक आस्था फरकफरक होलान्, तर यहाँ कहिल्यै धार्मिक कारणले द्वन्द्व वा अशान्ति भएको छैन । नेपाल सधैँ बहुधार्मिक सद्भाव भएको मुलुकको रूपमा परिचित छ । एउटै धर्म मान्ने सम्प्रदायभित्र पनि अलग परम्परा र रीति कायम छ । कतिपय धर्मका अनुयायीहरू प्रकृति पूजक छन् । प्रकृतिसँग सामीप्य राख्दा स्वाभाविक रूपमा मानसिक शान्तिको अनुभूति हुन्छ । हाम्रा सबै धर्मले हामीलाई शान्ति, सद्भाव र मानसिक सुखका लागि प्रेरित गरेका हुन्छन् । आ–आफ्नो धर्मको पालना गर्दा होस् वा प्रकृतिको पूजा गरेर प्रकृतिसँग रमाउँदा होस्, मानिसले मानसिक सुखका साथै आफ्नो व्यवहारमा परिवर्तन भएको अनुभव गर्दछ । यी सबैले व्यक्तिलाई इन्द्रीय र मानसिक सुख त दिन्छ नै, यिनमा योग र ध्यान समावेश गर्न सकिएमा व्यक्ति ध्यानयोगी हुन्छ, जसले वास्तविक आनन्दको अनुभूति दिलाउँछ । ४ संस्कृति तथा सांस्कृतिक सम्पदा नेपालको संस्कृति विविधताले भरिपूर्ण छ । नेपालका विभिन्न स्थानमा वर्षैभरि कुनै न कुनै सांस्कृतिक पर्व, उत्सव वा कार्यक्रम भइरहेका हुन्छन् । संस्कृति मात्र होइन, नेपालका सांस्कृतिक सम्पदा पनि उत्तिकै विविधतायुक्त छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका कुल १० मध्ये आठ वटा सम्पदा संस्कृतिसँगै सम्बन्धित छन् । यी स्थानमा पुग्दा मात्र पनि व्यक्तिले इन्द्रीय आनन्द प्राप्त गर्दछ, मानसिक शान्तिको महसूस गर्दछ । नेपालका कतिपय संस्कृति प्रकृति पूजासँग सम्बन्धित छन् । पृथ्वीमा उपलब्ध पक्षी, जनावर, प्रकृतिका सबै स्वरूपको कुनै न कुनै तवरले पूजा गरिन्छ । अझ किराँत र बोन समुदाय त प्रकृतिको पूजारीकै रूपमा चिनिन्छन् । नेपालको संस्कृतिले प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँधेको छ । यहाँ धर्मको बन्देज छैन, जातपातको बन्देज नै छ । नेपालका सांस्कृतिक सम्पदा सबैका लागि खुला सङ्ग्रहालयका रूपमा रहेका छन्, जहाँबाट यिनको आनन्द लिने मात्र होइन यिनको खोज र अनुसन्धान पनि गर्न सकिन्छ । यी संस्कृति र सम्पदा विश्वको हरेक कुनाका पर्यटकका लागि अत्यन्त आकर्षक पर्यटकीय सम्पदा तथा खोज केन्द्रका रूपमा रहेका छन् । ५ सामाजिक जनजीवन, रहनसहन, व्यवहार नेपालीको सामाजिक जनजीवन र रहनसहन विशिष्ट प्रकृतिको छ । धर्म र संस्कृति नै विविधतापूर्ण भएकाले पनि यहाँको जनजीवन र रहनसहनलाई विविधतापूर्ण बनेका छन् । विविध खाले सामाजिक मूल्य, मान्यता र परम्परा भए तापनि एक आपसमा द्वेष, राग र उपेक्षाभाव छैन । यसले नेपाल विश्वभरका पर्यटकका लागि एक अनुपम विविधतायुक्त मुलुकका रूपमा परिचित छ । नेपालीले एक अर्काप्रति गर्ने व्यवहार अन्यत्रको भन्दा फरक छ । नेपालीहरू जस्तोसुकै दुःख परेको बेलामा पनि अतिथिलाई आदर गर्ने स्वभावबाट पर्यटकहरू प्रभावित हुने गरेका छन् । विविध प्रकारका सामाजिक रहनसहन, जनजीवन र रीतिले मात्र होइन, सबैलाई आत्मीय र आदरणीय व्यवहार गर्ने नेपालीको स्वभाव पर्यटकका लागि इन्द्रीय आनन्द र मानसिक शान्ति प्राप्त गर्ने माध्यम बन्दछ । त्यति मात्र होइन, यसले सोचाइमा परिवर्तन गर्न र अरुसँगको व्यवहारमा सुधार गर्न समेत मदत गर्दछ । ६ कृषि उत्पादन, खाद्यशैली र स्वच्छ पानी, वन पैदावार नेपालको कृषि प्रणाली विशिष्ट प्रकारको छ । खेती गर्ने आफ्नै शैली मात्र होइन, उच्च हिमाली भूभागमा समथर भूमिमा उत्पादन हुने खाद्यवस्तु उत्पादन हुन्छ । जुम्लामा दुई हजार ५०० मिटरको उचाइमा धान उत्पादन हुन्छ । यहाँको खाद्यशैली स्वस्थकर छ । परम्परागत र रैथाने खाद्यान्न पौष्टिक र स्वस्थकर छन् । विविध प्रकारका मसलाजन्य पदार्थको उत्पादनले खानाको स्वाद बढाउन मात्र होइन, औषधिका रूपमा समेत काम गर्दछन् । स्वच्छ पानीको स्रोत नेपालमै छ । नेपालका हिमालले विश्वको कुल जनसङ्ख्याको ठूलो हिस्साको पानीको आवश्यकता पूरा गर्दछन् । हिमालको हिउँ पग्लेर नदी किनारमा रहेका जडीबुटीको पौष्टिकता लिँदै बहने कञ्चन नदीका पानी स्वच्छ र शरीरका लागि आवश्यक खनिज तत्वले भरिएका छन् । कूल भू–भागको करिब ४५ प्रतिशत भाग वनक्षेत्रले ओगटेको छ । यहाँ टिम्बर र गैरटिम्बर दुवै प्रकारका वन पैदावार पाइन्छन् । जडीबुटी नेपालको सबैभन्दा महत्वपूर्ण गैरटिम्बरजन्य वन पैदावार हो । नेपालका यी खाद्यान्न, खाद्यशैली, पानी र वन पैदावारले इन्द्रीय सुख र शारीरिक स्वस्थता प्रदान गर्दछन् । ७ शिक्षा, स्वास्थ्य र खेल पर्यटनका लागि अनुकूल वातावरण नेपालको जलवायु शैक्षिक गतिविधिका लागि उपयुक्त छ । न यहाँ असाध्यै जाडो हुन्छ, न असाध्यै गर्मी । आधुनिक शिक्षाका लागि मात्र होइन, नेपाल वैदिक सनातनी शिक्षाका लागि पनि उपयुक्त स्थल हो । वैदिक सनातन युग होस् वा बुद्ध युग, कुनै पनि खोज र अनुसन्धानको अवसर नेपालमा उपलब्ध छ । आधुनिक शिक्षाका साथै सनातन शिक्षा एवं खोज तथा अनुसन्धानका लागि समेत नेपाल आकर्षक शैक्षिक हब बन्न सक्दछ । कुनै व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यका लागि उपचार र स्वास्थ्य सामग्री मात्र पर्याप्त हुँदैन, अपितु उपयुक्त हावापानी र वातावरण नेपालमा उपलब्ध छ । पहाडी र उच्च पहाडीस्थल आधुनिक र प्राकृतिक चिकित्साका लागि उर्वर भूमि हुन् । आयुर्वेदका लागि नेपाल पर्याप्त सम्भावना भएको मुलुक हो । चरक ऋषिबाट प्रतिपादित उपचार पद्धति होस् वा धन्वन्तरीबाट विकसित औषधि हुन्, नेपालमा यी प्रचुरमात्रामा उपलब्ध छन् । आधुनिक र आयुर्वेदिक उपचार पद्धतिका साथै प्राकृतिक चिकित्साका लागि नेपाल अवसरयुक्त मुलुक हो । यहाँका परम्परागत उपचार विधि, प्राकृतिक चिकित्सा, योग, ध्यान, स्पा, एक्युपङ्कचर, मसाजलगायतका उपचार पद्धतिमध्ये धेरै नेपालको आफ्नै खोज र अभ्यासबाट विकास भएका छन् । ध्यान र योगको नियमित अभ्यासले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ । हाम्रो शरीरमा रहेका सात चक्रहरूले शरीरमा भएका ग्रन्थिहरूबाट स्वास्थ्यका लागि आवश्यक विभिन्न किसिमका हर्मोन उत्पादन गर्दछन् । यसरी योग र ध्यानले मानिसको स्वास्थ्यमा प्रत्यक्ष भूमिका खेल्ने भएकाले नेपालमा उपलब्ध हुने स्वास्थ्य सेवामा योग र ध्यानलाई जोड्न सकिएमा स्वभाविक रूपमा आरोग्य प्रवद्र्धन गर्न सकिन्छ । नेपालको हावापानी साहसिकलगायत सबै प्रकारका खेलकुदका लागि उपयुक्त छ । वर्षैभर कुनै न कुनै प्रकारको खेल यहाँ हुन सक्दछ । विश्व राजनीति, धार्मिक र साम्प्रदायिक रूपमा तटस्थ भएकाले जुनसुकै प्रकारका खेल प्रतियोगिताको आयोजना नेपालमा सम्भव हुन्छ । विश्वभर प्रख्यात हात्तीपोलो होस् वा सर्वाधिक रुचाइने फूटबल तथा क्रिकेटका लागि नेपाल तटस्थ खेल मैदानको रूपमा रहन सक्दछ । विपरीत राजनीतिक, धार्मिक र साम्प्रदायिक आस्था बोकेका मुलुकलाई खेल पर्यटनका माध्यमबाट नेपालले एकैथलोमा जुटाउन सक्दछ । ८ वैदिक खोज, अनुसन्धान र सामग्री नेपाल वैदिक खोज र अनुसन्धानका लागि अद्वितीय मुलुक हो । योग र ध्यानको उद्गमस्थल नेपाल नै हो । बौद्ध धर्मको उत्पत्ति नेपालमै भएको थियो । भगवान् बुद्ध यहीँ जन्मिनुभएको थियो । लुम्बिनीको सङ्ग्रहालयमा करिब एक लाख खोज सामग्री सुरक्षित छन् । हिन्दू र बुद्ध धर्मको सम्मिश्रण, सद्भाव र एक अर्काप्रतिको आदरभाव अनि अपनत्वमात्र पनि खोजकर्ताका लागि महत्त्वपूर्ण विषय हुन सक्दछ । ९ ध्यान र योग नेपाल त्यस्तो मुलुक हो जहाँ ध्यानको उत्पत्ति भएको थियो, ध्यानी र योगीको बासस्थान रहेको थियो, जहाँ योग र ध्यानका लागि शान्त र स्वच्छ वातावरण अनि ऋषिमुनिले ध्यान गरेको हिमालको काखमा शान्त वातावरणमा ध्यान गर्न सकिने स्थल उपलब्ध छ । यति मात्र होइन, भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा ध्यान गर्न पाउनु कुनै पनि व्यक्तिका लागि बिरलै पाइने अवसर हुनसक्छ । योगका लागि नेपाल उपयुक्त मुलुक हो । यहाँको हावापानी र वातावरणले योगबाट प्राप्त हुने फाइदालाई कैयौँगुणा बढाइदिन्छ । योग र ध्यानको महत्त्व बुझेरै संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको जून २१ लाई अन्तरराष्ट्रिय योग दिवस र डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको छ । हाम्रा ऋषिमुनिहरूले प्रतिपादन गरेका योग र हाम्रो भूमिबाट उत्पन्न ध्यानलाई विश्वभर फैलाउने अवसर प्राप्त भएको छ । यसरी नेपाल आरोग्य पर्यटनका माध्यमबाट समृद्धिको यात्रामा हिँड्न सक्छ । रासस (जीवन विज्ञान विशेषज्ञ शर्मासँग गरिएको कुराकानीमा आधारित)  

स्वास्थ्यकर्मीको व्यवहारले थप बिरामी बन्छन् बिरामी

काठमाडौं । दाङकी गोमती गाह मगर बहिनीको उपचारको लागि पाटन अस्पताल पुगिन् । दुई घण्टा लामो लाइन बसेर बल्ल टिकट पाइन् । त्यसपछि उनी चिकित्सकलाई भेट्न गइन् । त्यहाँ पनि लाइन उस्तै थियो । चिकित्सकलाई भेटिसकेपछि उनले बहिनीको समस्याबारे सबै कुरा बताइन् ।  समस्या अनुसार चिकित्सकले रगत जाँच अल्ट्रासाउण्ड गरेर आउन सल्लाह दिए । प्रायः सरकारी अस्पतालमा उपचार गर्नेहरूको सबैभन्दा ठूलो सास्ती नै लाइनमा बस्नु हो । यो स्वाभाविक पनि हो । किनकि जतिधेरै सेवाग्राहीको भीड हुन्छ त्यति अस्पतालको लाइनमा बस्नुपर्छ ।  २ घण्टा टिकटको लाइनमा, एक घण्टा चिकित्सक भेट्ने लाइनमा समय बिताइसकेकी गोमतीलाई झण्डै पौने घण्टा फेरि काउण्टरको लाइनमा उभिनुपर्ने भयो ।  ‘लाइनमा बस्नु त स्वाभाविक नै हो तर कर्मचारी नर्सहरूको बोली व्यवहार फिटिक्कै भएन,’ उनी भन्छिन्, ‘बिरामीले थाहा नपाएको कुरा बुझाइ दिनुपर्ने कर्तव्य, कर्मचारी, नर्स अनि चिकित्सक सबैको होला, तर अस्पतालमा दुई पटक भन्दा बढी सोध्दा कर्मचारी झर्को मान्छन् ।’  थाह नपाएको कुरा सोध्दासमेत नसुनेजस्तो गर्ने, झर्केर बोल्ने प्रवृत्तिले पीडा माथि झन् पीडा थपिने गरेको उनले दुखेसो पोखिन् ।  अधिकांश सरकारी अस्पतालका आउने सेवाग्राहीको गुनासो गोमतीको जस्तै छ । अस्पतालका नर्स, चिकित्सक लगायतको बोली व्यवहार भएन भन्ने गुनासो अहिले मात्र होइन, धेरै पहिलेदेखि उठ्दै आएको हो । तर अस्पताल प्रशासनले यो कुरामा खासै ध्यान दिएको पाइँदैन।  केही दिनअघि पाटन अस्पतालमा बहिनीकै उपचारका लागि एकजना पत्रकारको भोगाइ पनि उस्तै छ । उनी भन्छिन्, ‘नर्स तथा चिकित्सकहरूको व्यवहार रुखो छ, यसले त झन् बिरामीलाई थप पीडा दिन्छ । नजानेको कुरा सोध्दा पनि झर्किन्छन् ।’  दुई महिना अगाडिको कुरा हो- वीर अस्पतालमा छोराको उपचारका लागि पुगेकी एक महिला रुँदै सूचना अधिकारीको कक्षमा  पुगिन् । उनले लाइनमा बस्दाखेरि अस्पतालकै कर्मचारीले आफूमाथि हातपात गर्न खोजेको बताइन् ।  सेवाग्राही र अस्पतालका कर्मचारीबीच बोलाबोल हुँदा हात हालाहालसम्मको अवस्था आएको थियो । अस्पतालका कर्मचारीले नै आफूमाथि यस्तो व्यवहार गरेपछि बिरामीले प्रशासनमा उनको नाममा उजुरी दिइन् । उजुरीका आधारमा उनलाई प्रशासनले सोधपुछ गरेर सम्झाइ छाड्यो ।  अस्पतालका सूचना अधिकारी सीताराम खड्का अस्पताल पुगेका बिरामीहरू यस्ता उजुरी लिएर धेरै आउने गरेको बताउँछन् । ‘हामीले कतिपय कर्मचारीलाई सम्झाइबुझाइ पनि गरेका छौं, कतिपयलाई कारबाही पनि गरेका छौं,’ खड्का भन्छन्, ‘कहिले कर्मचारीले गाली गर्यो, कहिले हाम्रो पालो मिचेर अर्कोलाई राख्यो भन्ने गुनासा दिएर दैनिक सेवाग्राहीहरूको गुनासो आइरहन्छ ।’ चिकित्सकको व्यवहार पनि उस्तै  अस्पतालका कर्मचारी मात्र होइन, नर्स र चिकित्सकको बोली पनि उत्तिकै कठोर छ । चिकित्सकले बिरामीको प्रेस्क्रिप्सनमा लेखिएका अक्षर बिरामीले सितिमिति बुझ्दैनन् । एक पटक भनेको कुरा सबै बिरामीले बुझन सक्दैनन्, दोस्रो पटक सोध्न खोज्दा झनक्क झन्कने गरेको गुनासो पनि सेवाग्राहीको छ ।   सिन्धुलीकी एक महिला स्त्री तथा प्रसूतिरोग अस्पतालको आईभीएफ केन्द्रमा उपचारको लागि पुगेकी थिइन् । चेकजाँच सकिएपछि चिकित्सकले फेरि तीन दिनपछि आउनू भनेर पठाए । उनले कुनै समस्या देखियो भनेर सोध्दा चिकित्सिकले सबै नर्मल छ भने तर कार्डमा धेरै लामो कुरा लेखिदिए । उनलाई कागजमा केके लेखियो भनेर जान्ने इच्छा भयो । त्यसपछि उनले अस्पताल बाहिर रहेकी एकजना महिला चिकित्सकलाई सोधिन् । ती चिकित्सकले झर्किँदै ‘सबै कुरा बुझ्नै पर्छ भन्ने छ र ?’ भनिन् । उनको तितो बोली स्मरण गर्दै उनी भन्छिन्, ‘अस्पताल जाँदा शारीरिक बिरामीभन्दा स्वास्थ्यकर्मीको बोली र व्यवहारले ठूलो मानसिक पीडा पर्छ ।’  'भाषा र व्यवहार पनि औषधी हो'  बिरामीहरू रोग निको पार्न अस्पताल जान्छन् । अस्वस्थ शरीरले थाकेका बिरामीहरूलाई बोली र व्यवहारले ठूलो ऊर्जा दिन्छ । पूर्वमन्त्री एवं संस्कृतिविज्ञ कान्ता भट्टराई नेपालका अस्पतालमा उपचार गर्न गएका बिरामीहरू चिकित्सक नर्सको व्यहारले झन् बिरामी पर्ने गरेको बताउँछिन् ।  अन्य देशमा अस्पताल पुगेका बिरामी नर्स डाक्टरको बोली व्यवहारले मजबुत भएर आउँछन् तर यहाँ ठ्याक्कै उल्टो अवस्था रहेको उनी बताउँछिन् । ‘यो विषयमा ठूलो बहस छलफल गर्न आवश्यक छ,’ उनी भन्छिन्,‘ नेपालका सरकारी अस्पताल आफैमा लथालिंग छन्, त्यसमाथि कर्मचारी अनि स्वास्थ्यकर्मीको रुखो व्यवहार छ । अब उहाँहरूलाई बिरामीसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने भन्ने विषयमा पनि सिकाउन आवश्यक छ ।’ चिकित्सकको एउटा मुस्कान र बोलीले पनि बिरामीको आधा रोग निको भएको अनुभव हुन्छ । जीवन मरणको दोसाँधमा रहेका बिरामी तथा आफन्त यस्तो बेला मानसिकरूपमा पनि उत्तिकै विछिप्त हुन्छन् ।  मनोविद सुकीर्ति देवकोटा ‘एकातिर के हुन्छ, कसो हुन्छ भन्ने डर, अर्कोतिर आर्थिक जोहो गर्नुपर्ने पीरले तनावमा हुने बताउँदै भन्छिन्, ‘यस्तो अवस्थामा चिकित्सक, नर्स वा कर्मचारीको रुखो बोलिले झन् दिकदार लाग्छ । शारीरिक समस्याभन्दा मानसिक समस्याले झन असर गर्ने भएकाले यस्ता कुरा सुधार गर्न आवश्यक देख्छु ।’  मानसिक पीडा शारीरिक जस्तो नदेखिएपनि यसले ठूलो असर पार्ने उनको भनाइ छ । ‘अस्पतालमा कर्मचारी झर्किँदा, नर्सले ठूलो स्वर गर्दा बिरामीलाई अस्पताल जान मन नलाग्ने, केही सोध्न पनि डर लाग्ने जस्ता मानसिक असर थपिन्छ जुन बिरामीहरूका लागि खतरनाक हो,’ उनले भनिन् ।  यस्ता खालका गुनासा सम्बन्धित निकायमा नपुगेको पनि होइन, दिनहुँ अस्पताल प्रशासनमा उजुरी समेत पर्छन् । स्वास्थ्य मन्त्रालय पनि यो विषयमा जानकार छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी कम जनशक्तिले धेरै बिरामीको हेरचाह गर्नुको परिणाम कहिलेकाँही यस्तो देखिने बताउँछन् ।  भन्छन्, ‘एकजना नर्सले ५/६ जना बिरामी हेर्नुपर्ने बाध्यता छ, एउटैले धेरैलाई हेर्नुपर्दा समयभन्दा धेरै खटिँदा देखिएको तनावको विष्फोटन बिरामीमाथि भएको हुनसक्छ ।’  नियमअनुसार जनरल वार्डमा एक नर्स बराबर ५ जना बिरामी हेर्नुपर्ने हो तर नेपालमा एकजना नर्सले १५/२० जनालाई हेर्नुपर्ने बाध्यता छ । चिकित्सकहरू पनि यो विषयमा दुई किसिमको धारणा राख्छन् । कतिपय असहमति जनाउँदै एकाध चिकित्सक नर्सहरूले गरेको व्यवहारलाई सबैसँग जोड्न नमिल्ने बताउँछन् भने कतिपय मान्छेको प्रवृत्ति फरक हुने भएकाले यस्ता समस्या हुन सक्ने बताउँछन् ।   वीर अस्पतालको न्यूरो विभागमा कार्यरत कन्सलटेन्ट न्यूरो सर्जन डा. सुशीलमोहन भट्टराई मान्छेको प्रवृत्तिअनुसार फरक-फरक चिकित्सक हुने बताउँछन् । ‘कोही नर्स यस्ता पनि हुन्छन्, जसले बिरामीको हेरचाह परिवारको भन्दा राम्ररी गर्छन्, कतिपय चिकित्सक पनि उस्तै हुन्छन् तर, मान्छेको प्रवृत्ति हरेकको फरक हुन्छ, तीमध्ये कसैले नराम्रो व्यवहार गर्दा सबै चिकित्सकको नाम जोडिन्छ,’ उनले भने ।  उनी कहिलेकाँही मान्छेबाट गलत व्यवहार हुनसक्ने भन्दै सुधार गर्दै लैजानुपर्नेमा जोड दिन्छन् डा. भट्टराई यसका लागि अस्पतालमा चिकित्सक नर्सहरूका लागि कस्तो खालको वातावरण बनाउने, ड्युटी कति घण्टा कायम गरिने भन्ने बारे ध्यान दिनुपर्ने बताउँछन् । 

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम

चितवन । यहाँ आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन् । जुन १४ मा अन्तरराष्ट्रिय रक्तदाता दिवस पर्दछ । यही अवसर पारेर सोसाइटीले उक्त महोत्सव आयोजना गरेको हो । 'उपचारका क्रममा रगत आवश्यक पर्दा अभाव हुने गरेको छ । तर रक्तदान गर्न मिल्ने धेरैले रक्तदान गरेको पाइँदैन । रक्तदानप्रति अग्रसर हुने सन्देश दिन यो बृहत् कार्यक्रम आयोजना गरेका हौँ', सोसाइटीका चितवन अध्यक्ष तथा मूल समारोह समितिका कार्यक्रम संयोजक एकराज बुर्लाकोटीले भने । रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत सङ्कलन गर्दै राष्ट्रिय रेकर्डसमेत कायम गरेको सोसाइटीका सचिव तथा प्रचार समितिका संयोजक विपिन पाठकले बताए । यसअघि लायन्स क्लब अफ काठमाडौंलगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौँको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत सङ्कलन गरेको उनले जनकारी दिए।