झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको संख्या बर्सेनि बढ्दै

बनियानी । झापामा पछिल्लो छ महिनाका अवधिमा ५५ नयाँ कुष्ठरोगी फेला परेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म एक बालबालिकासहित ५५नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका कुष्ठरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए ।  उनका अनुसार जिल्लाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै दमक नगरपालिका र कचनकवल गाउँपालिकामा १२र१२ नयाँ कुष्ठरोगी फेला परेका छन् । त्यस्तै, मेचीनगर नगरपालिकामा तीन जना, बुद्धशान्ति गाउँपालिकामा दुई जना, शिवसताक्षी नगरपालिकामा पाँच जना, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा दुई/दुईजना, बाह्रदशी गाउँपालिका र बिर्तामोड नगरपालिकामा पाँच/पाँच जना र भद्रपुर नगरपालिकामा चार जना नयाँ कुष्ठ रोगी फेला परेका छन् । चालु आर्थिक वर्षमा ५३  कुष्ठरोगीले उपचारसमेत पाएको फोकल पर्सन दासले बताए ।  पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा झापा जिल्लामा नयाँ कुष्ठरोगी फेला पर्ने सङ्ख्या बढ्दै गएको देखिन्छ । जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए भने आर्थिक वर्ष २०७८/७९ मा एक सय २१ , आव २०७९/८० मा एक सय ५७ , आव २०८०/८१ मा एक सय २१ र २०८०/८१ मा एक सय ४७ नयाँ कुष्ठरोगी फेला परेको कार्यालयले जनाएको छ । तथ्यांकको आधारमा हेर्दा २०७७/७८ मा सङ्क्रमण दर १.०२ प्रतिशतबाट आव २०८०/८१ मा आइपुग्दा १.४७५ पुगेको देखिन्छ । विश्वमा बर्सेनि झण्डै दुई लाख नेपालमा बर्सेनि करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी फेला पर्ने गरेको फोकल पर्सन दास बताउँछन् । चिह्न र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारको हुने उनले बताए ।  'कम सर्ने खालको कुष्ठरोग र सर्ने खालको कुष्ठरोग हुन्छ', उनले भने, 'बहु–औषधि उपचार पद्धतिद्वारा छ देखि १२ महिनाको अवधिसम्म तीन प्रकारका औषधिको प्रयोगबाट कुष्ठरोग निको हुन्छ र समयमै कुष्ठरोगको उपचार भएमा अपाङ्गता पनि हुँदैन ।' सामाजिक अवहेलनाको डरले गाउँघरमा अझै पनि धेरै कुष्ठरोगी लुकेर रहेकाले सूक्ष्म रूपमा खोजपतड्ला गर्नुपर्ने उनको भनाइ छ । रासस 

निपाह भाइरसको जोखिम बढेपछि सीमा नाकाहरूमा सरकारले थाल्यो निगरानी

काठमाडौं । छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ । भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको छ । बिहीबार मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए । प्रवक्ता बुढाथोकीले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको उल्लेख गर्दै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू समेत तोकिएको जानकारी दिए । निपाह भाइरस चमेरो, सुँगुर वा संक्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखेर रोकथामका उपाय अपनाइएको उनको भनाइ छ । उनले भने, 'केही साता पहिले छिमेकी मुलुक भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण देखापरेपछि हामीले सम्पूर्ण हवाई तथा थल नाकामार्फत नेपाल भित्रिने व्यक्तिहरूको निगरानी सुरु गरेका छौँ । त्यसैगरी थल र हवाई नाकामा रहेका हेल्थ डेस्कहरूले संक्रमणका लक्षण भएका बिरामीलाई निगरानीमा राख्ने काम गरिरहेका छन् । निपाह भाइरस सर्ने प्रमुख माध्यम चमेरो, सुँगुर वा संक्रमित व्यक्ति भएकाले यी तीन पक्षलाई मध्यनजर गर्दै आम नागरिकलाई सचेत बनाइरहेका छौँ ।' निपाह संक्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वारेन्टाइनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान मन्त्रालयले अपिल गरेको छ । निपाह भाइरस : अहिलेको अवस्था र सतर्कता निपाह भाइरस एक घातक जोनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्छ । यो भाइरस मुख्य रूपमा फलफूल खाने चमेरो (फ्रुट ब्याट) बाट मानिसमा सर्छ । भारतको पश्चिम बंगाल राज्यमा जनवरी २०२६ को सुरुवातमा निपाह भाइरसका केस पुष्टि भएपछि यो भाइरस पुनः चर्चामा आएको छ । भारतमा वर्तमान प्रकोप जनवरी २०२६ मा पश्चिम बंगालको बारासात क्षेत्रमा दुई जना नर्समा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । दुवै नारायण मल्टिस्पेसियालिटी अस्पतालमा कार्यरत थिए र गम्भीर अवस्थामा छन् । एक जना कोमामा र अर्की भेन्टिलेटरमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही रिपोर्टमा पाँच जनासम्म संक्रमित भएको उल्लेख छ । करिब १२० जना उच्च जोखिममा रहेका सम्पर्कहरूलाई क्वारेन्टाइन तथा निगरानीमा राखिएको छ । नेपालमा जोखिम र सतर्कता नेपालमा हालसम्म निपाह भाइरसको कुनै केस पुष्टि भएको छैन । तर भारतको पश्चिम बंगालसँगको खुला सीमा र चमेरोको उपस्थितिका कारण जोखिम भने कायम रहेको विज्ञहरू बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी तथा अचानक मृत्युका घटनाबारे जानकारी दिन निर्देशन दिएको छ । निपाह भाइरसका लक्षण र रोकथाम लक्षणहरू : सुरुमा ज्वरो, टाउको दुख्ने, खोकी, श्वासप्रश्वासमा समस्या देखिन्छ । पछि मस्तिष्क सुन्निने (इन्सेफलाइटिस), कोमा र मृत्यु पनि हुनसक्छ । सर्ने तरिका : चमेरोले टोकेका वा दूषित फलफूल, काँचो खजुरको रस सेवन गर्दा तथा संक्रमित व्यक्तिको ¥याल, खकार वा प्रत्यक्ष सम्पर्कबाट सर्न सक्छ । रोकथामका उपाय  – काँचो खजुरको रस नपिउनु – चमेरोले टोकेका फलफूल नखानु – संक्रमितसँग सम्पर्क भए तुरुन्त स्वास्थ्य जाँच गराउनु – हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउनु हाल निपाह भाइरसको कुनै निश्चित औषधि वा खोप उपलब्ध छैन । तर समयमै सहयोगी उपचारले ज्यान बचाउन सकिने चिकित्सकहरू बताउँछन् । नेपालमा जोखिम कम भए पनि सतर्क रहन आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

करिब ६२ करोडको लागतमा सुविधासम्पन्न भक्तपुर अस्पताल भवन बन्दै

भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने रु ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो ।        सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो अस्पतालको नयाँ भवन निर्माण भएपछि विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकसहित पूर्वका जनतालाई राहत मिल्ने बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।       स्वास्थ्यमन्त्री थापाले भने, 'बागमती प्रदेश सरकारको प्राथमिकतामा रहेको भक्तपुर अस्पतालको भवन निर्माणको काम सुनिश्चित भएको छ । भक्तपुर अस्पताललाई बागमती प्रदेशकै नमूना अस्पताल बनाउने उद्देश्यले मिहेनतका साथ बजेट सुनिश्चित गरी विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० समेत पारित गरेका छौँ, अब गुणस्तरमा सम्झौता नगरी तोकिएको समयभित्रै नयाँ भवन निर्माण गर्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।'      उनले अस्पतालको नयाँ भवन वातावरण एवम् प्रविधि मैत्री, भूकम्प प्रतिरोधी ढाँचामा अन्तरराष्ट्रिय मापदण्डअनुसार भक्तपुरको पुरानो एवं परम्परागत शैलीमा भवन निर्माण गरिने छ । बिरामी र सेवाग्राहीलाई सहज हुनेगरी अस्पतालको नयाँ भवनमा प्रतीक्षालय, अपाङ्गमैत्री संरचना, लिफ्ट, पार्किङ तथा हरित क्षेत्रको समेत व्यवस्था गरिने भएको जानकारी दिँदै उनले भवन निर्माणसँगै अस्पतालमा मुटु तथा न्यूरोसम्बन्धी विशेषज्ञ सेवासमेत विस्तार गरिने योजना रहेको बताए ।      प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले सेवाग्राहीको चापसहित गुणस्तरीय सेवा प्रदान गर्दै आएको बागमती प्रदेशस्थित भक्तपुर अस्पतालको भवन पुरानो भएकाले सुविधासम्पन्न नयाँ बनाउन लागेको बताए । उनले भवन निर्माण प्रक्रियामा पारदर्शिता, गुणस्तर र जवाफदेहितामा कुनै सम्झौता नहुने स्पष्ट गरे ।      बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले नयाँ निर्माण हुने प्रदेश अस्पताल  भवनमा अत्याधुनिक एवं आकस्मिक, आइसियु र एनआइसियु कक्ष, प्रसूति तथा स्त्री रोग विभाग, सर्जरी ब्लक, आधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, सिटी स्क्यान, एमआरआई, मुटु तथा न्यूरो सेवा सञ्चालन हुने जानकारी दिइन् ।           स्वास्थ्य सचिव डा. गौतमले भनिन्, 'अस्पतालको डिपिआरअनुसार निर्माणकार्य चरणबद्ध रूपमा अघि बढाइनेछ, निर्धारित  समयभित्रै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समिति र स्वास्थ्यकर्मीले यस योजनालाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै नयाँ भवन निर्माणपछि भक्तपुर अस्पताल प्रदेशकै प्रमुख ‘रेफरल’ अस्पतालको रूपमा स्थापित हुने विश्वास लिएका छाैँ ।' अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्र भट्टले बागमती प्रदेशका मन्त्री तथा सचिव सम्मिलित उच्चस्तरीय पदाधिारीहरूसँग भवनको वास्तुकलात्मक डिजाइन, सेवा विस्तारको खाका, लागत व्यवस्थापन, निर्माण प्रक्रिया र समयसीमा लगायतका विषयवस्तुबारे छलफल भएको जानकारी दिए ।          डा. भट्टले नयाँ जमिन नभएपछि अस्पतालको हाल प्रशासन र अन्तरङ्ग सेवा सञ्चालन भइरहेको पुरानो भवन र भवनसँगै रहेको जग्गामा नयाँ भवन निर्माण गर्न लागेको बताए । रासस