१० महिनामा मणिपाल शिक्षण अस्पतालले गर्यो पौने २ अर्ब आम्दानी
काठमाडौं । नेपाल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप प्रालि (मणिपाल शिक्षण अस्पताल) ले १० महिनामा पौने २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । पर्यटकीय राजधानी पोखरामा रहेको मणिपाल एजुकेसनले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (सन् २०२५) मा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । आर्थिक वर्ष सन् २०२४ मा मणिपाल एजुकेसनले १ अर्ब ८८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीले सन् २०२३ मा १ अर्ब ५० करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ७ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो । कम्पनीले सन् २०२० मा १ अर्ब १० करोड ५० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब २२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विगतको तुलनामा पछिल्लो समय आफ्नो आम्दानीमा वृद्धि गरिरहेको तथ्याङ्कले देखाउँछ । कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले अल्पकालीन ऋण ५७ करोड रुपैयाँका लागि केयर एनपी एफोर रेटिङ प्रदान गरेको छ भने दीर्घकालीन ऋण १ अर्ब ९३ करोड रुपैयाँका लागि इक्राएनपी एलडबल बी रेटिङ प्रदान गरेको छ । पोखरामा अवस्थित मणिपाल एजुकेसन एन्ड मेडिकल एमबीबीएस कार्यक्रमका लागि सन् १९९४ मा स्थापना स्थापना भएको हो । यस कलेजमा भारत, श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, थाइल्याण्ड, मध्यपूर्व, केन्या, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, क्यानडा, संयुक्त अधिराज्य, अष्ट्रेलिया र न्युजिल्यान्डलगायत विभिन्न देशका विद्यार्थीहरू रहेका छन् । कम्पनीमा अटोवेज समूहको ८३ प्रतिशत र बतास समूह १७ प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीको अध्यक्ष आनन्द राज बतास रहेका छन् भने सञ्चालकमा शान्तराज बतास, नारायण पौडेल, प्रमेश पराजुली रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल ओडुभिल रहेका छन् । ३ सय शय्या क्षमताको मणिपाललाई ५ सय शय्याको बनाउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
नेपाली श्रमिकको स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन संवाद बढाउँदैछौँ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् । संगठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे कुरा गरे । हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ, उनले भने, सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ । जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाइन् । हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ । मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ ।
उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र चिकित्सकलाई ५७ लाख बढीको जरिवाना
काठमाडौं । उपभोक्ता अदालतले बिरामीको उपचारमा लापरबाही गरेको भन्दै ग्राण्डीसिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकलाई जरिबाना तिराएको छ । उपभोक्ता अदालतले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो । सेवाग्राही वर्षा भण्डारीले आफ्नो उपचारमा लापरबाही भएको दाबी गर्दै उपचारमा संलग्न चिकित्सक र अस्पतालमाथि ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति दाबी गरी गत चैत ११ गते मुद्दा दर्ता गराएकी थिइन् । वर्षाले दायर गरेको मुद्दाअनुसार चिकित्सकले दुईपटक अपरेसन गरेका थिए । तर निको हुनुको साटो संक्रमण भएर थप पीडा बढेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी हुन् । अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरू गेहेन्द्रराज रेग्मी र आन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डा. सञ्जीव त्रिपाठी र ३० प्रतिशत अर्थात् १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डीसिटी हस्पिटलले बेहोर्नुपर्ने छ । क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले जनाएको छ । मुद्दामा अदालतले लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो ।