धुलिखेल अस्पताललाई सरकारले पठायाे थप चार भेन्टिलेटर
काठमाडाैं । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा गरिसकेको छ । सो अस्पतालले काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, सिन्धुली तथा पूर्वी तराईका क्षेत्रलाई समेत उपचार सेवा पु¥याउँदै आएकाले आइतबार थप उपकरण पठाइएको पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । ‘जिल्लालगायत मध्यपहाडी क्षेत्रका नागरिक समेतलाई सेवा दिने भएकाले धुलिखेल अस्पताललाई अन्य अस्पताललाई झैँ कोरोना महामारी व्यवस्थापन गर्न अनुदानसँगै थप चार थान भेन्टिलेटर ल्याइएको हो’, उनले भने । उनका अनुसार यसअघि सरकारद्वारा घोषणा गरिएको अनुदान प्रदानका लागि प्रक्रिया भइरहेको छ । अर्थ मन्त्रालयद्वारा ‘स्वास्थ्य क्षेत्र द्रुत कार्ययोजनामा स्रोतको सहमति’अन्तर्गत सो अस्पताललाई कोभिड–महामारी व्यवस्थापनार्थ रु छ करोड ८० लाख दिने घोषणा गरिएको हो । धुलिखेलसँगै मुलुकका अन्य २५ अस्पताल र नौ प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट तथा अक्सिजन ट्याङ्क निर्माणका लागि करीब तीन अर्ब बजेट विनियोजन गरिएको छ । मन्त्रालयले विनियोजित गरेको सीमाभित्र रहेर खरीद प्रक्रिया अघि बढाउन सहमति दिने र दायित्व सिर्जना भएपछि रकम माग गर्ने जनाउँदै आइतबार ती अस्पताललाई दुई अर्ब ९५ करोड २० लाख बजेट विनियोजन गरेको थियो । अस्पतालमा सकेसम्म छिटो अक्सिजनको व्यवस्थापन गर्न सकिए कोरोना–बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई कोरोना–बिरामीको उपचारार्थ क्षमता बढाउन अनुदान दिएको जनाएको छ । घोषित बजेटअनुसार धुलिखेल अस्पतालले दश आइसियु, पाँच भेन्टिलेटर र एक अक्सिजन ट्याङ्क निर्माण गर्नुपर्नेछ । अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजूले सरकारको अनुदान सहयोगपछि कोरोनाका बिरामीलाई अक्सिजनसहित थप उपचार गर्न सहयोग पुग्ने बताए । उनका अनुसार अस्पतालमा एचडियू, आइसियू र सामान्य गरी १२५ श्यया कोरोना सङ्क्रमितको उपचारार्थ प्रयोग गरिएको छ । धुलिखेलबाहेक बनेपामा शिर मेमोरियललगायत चार अस्पताल छन् । जेठ पहिलो सातादेखि बनेपामै २५ श्ययाको ‘भोमी कोभिड डेडिकेडेट अस्पताल’ सञ्चालनमा ल्याइएको छ । यहाँ जिल्ला अस्पताल छैन । नमोबुद्ध नगरपालिकाको भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नतिको प्रक्रियामा रहेको छ ।
तत्काल औषधीको अभाव नहुने तर मूल्य बढ्ने
काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा तत्काल कुनै पनि औषधीको अभाव नहुने बताए । अहिले अस्पतालमा बेडको अभाव, भेन्टिलेटरको अभाव, आईसियुको अभाव भएपनि औषधीको अभाव नभएको उनको भनाई छ । गत मंगलबार पूर्वी नेपालका औषधी व्यवसायीहरुले सिटामोल सहित २२ प्रकारका औषधीको अभाव भएको भन्दै एक विज्ञप्ती जारी गरेका थिए । तर, सो क्षेत्रमा औषधीको उत्पादन वा कच्चा पदार्थको कमिका कारण अभाव नभई उत्पादित औषधीको विक्री वितरणमा समस्या हुँदा त्यस्तो समस्या उत्पन्न भएको दाहालको भनाई छ । औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले झापामा देखिएको औषधी अभावको एउटा कारण यातायातमा भएको समस्याका कारण वितरण प्रणाली विग्रिएकोले देखिएको बताए । यसमा अन्य कारणहरुको अध्ययन भइरहेको र छिटै यसको समधान हुने उनले बताए । ‘मानिसले अनावश्यक रुपमा घरमा लगेर औषधी नलुकाएको अवस्थामा हामीसँग डाक्टरले प्रिस्क्रिप्सन दिने सबै औषधी सजिलैसँग पाइन्छ, अभाव छैन,’ केसीले भने । दाहालले हाल आफूहरुसँग ६ करोड थान सिटामोल बनाउने कच्चा पदार्थ रहेका बताए । औषधी उत्पादक संघले आफूहरुसँग स्टकमा भएका औषधीको विवरण सार्वजनिक गरेको छ । संघले १३ प्रकारका अत्यावश्यक औषधीको स्टक विवरण सार्वजनिक गरेको हो । संघले दिएको मौज्दातको विवरणको आधार हेर्दा हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको प्रष्ट रहेको छ । यस परिस्थितिमा औषधी उत्पादकहरु नेपाल सरकार, औषधी व्यवस्था विभाग, आयातकर्ता, थोक तथा खुद्रा व्यापारी लगायत सबैको सहकार्यमा कुनैपनि औषधिको अभाव हुन नदिने संघले प्रतिवद्धता जनाएको छ । मूल्य बढ्ने दाहालले अन्तराष्ट्रिय बजारमा औषधीको मूल्य बढ्दै गएको र त्यसले नेपालमा पनि असर पार्ने बताएका छन् । ‘पहिला ५ देखि ६ डलर पर्ने प्यरासिटामोलको कच्चा पदार्थ अहिले १० देखि ११ डलर पुगेको छ, प्रायः औषधीहरुको मूल्य डबल भएर आइरहेको छ, हामी औषधीको विश्व बजारमा सानो हिस्सा भए तापनि यसको प्रभाव हामीलाई पनि पर्छ,’ उनले भने । सरकारको निर्णय अनुसार व्यवसायीहरुले २०६४ सालयता निकै महत्वपूर्ण र अत्यावश्यक मानिने औषधी प्यारासिटामोलको मूल्य १ रुपैयाँबाट बढाएका छैनन् । तर अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको बढ्दो मूल्यले अब भने यसको मूल्य बढ्ने दाहालले बताए । ‘एक महिनामा खाने तेल, चामलहरुको मूल्य बढेर कहाँबाट कहाँ पुगिसक्यो तर, हामी औषधीको मूल्य भने बर्षौदेखि एउटै कायम गरिरहेका छौं, हाम्रो पनि व्यापार हो, हामीले पनि महँगोमा ल्याएर सस्तोमा बेच्न सक्दैनौं, सरकारले हाम्रो यो माग सुनिदिनुपर्छ,’ उनले भने । विभागका प्रवक्ता केसीको अनुसार ६५ प्रतिशत औषधीहरु नेपालमै बन्ने गरेको र बाँकी मुख्य क्रिटिकल केयरको सामानहरु मात्र बाहिरबाट आउने गरेको छ । संघले भने आफूहरु ७५ प्रतिशत औषधी नेपालमै बनाउने सक्ने क्षमता भएपनि सरकारले सहयोग नगरेको कारण सजिलै उत्पादन गर्न सकिने औषधी पनि विदेशबाट भित्र्याइने गरिएको आरोप लगाउँदै आएको छ ।
सिंगापुरबाट आईपुगेको २५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सरकारलाई हस्तान्तरण
काठमाडौं । सिंगापुरबाट १३ टनभन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान काठमाडौं आईपुगेको छ । देशमा फैलिएको कोभिड-१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट गत जेठ ८ गते सो मात्राको स्वास्थ्य सामाग्री ल्याईएकाे हो । तामासेक फाउण्डेशन सिंगापुर, लोटस लाइफ फाउण्डेशन सिंगापुर, गोर्खा ब्रुअरी प्रा.लि. का साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको छ । करिब ३ मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रुपैयाँ) को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरुका तर्फबाट गोर्खा ब्रुअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले आज एक समारोहमा हस्तान्तरण गरेका हुन् । यसमा १ लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (ए स्टार), ५००० बाकस सिटोटेष्ट श्वाब किट्स (२,५०,००० किट), २ मागेस३२ आरएनए निकासी मेशिनहरु, २५०० निकासी किट र रिजेन्टस्, ३० अल्फा टेली-भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल बी पीएपी, नन्-इन्भेसिभ भेन्टिलेटरहरु र ४००० पल्स अक्सीमीटरहरु समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने अपेक्षा गरिएको छ । तामासेक फाउण्डेशन इन्टरनेशनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले एक वकतव्यमा भनेका छन्, “कोभिड-१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरुबाट यो कुरा प्रष्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउण्डेशन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एक साथ रहेको छ ।” सिंगापुर स्थित तामासेक फाउन्डेशनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड-१९ जाँच्ने टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरुमा सहयोग गरेको थियो । “अहिलेको कठीन घडिमा सिंगापुरको तामासेक फाउण्डेशन, लोटस लाइफ फाउण्डेशन तथा गोर्खा ब्रुअरीबाट प्राप्त यो सहयोगको लागि सर्वप्रथम त म धेरै आभार व्यक्त गर्दछु । प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब यी सामग्रीहरु वितरण गरी कोभिड-१९ को उपचारमा तीव्रता ल्याउने कुरामा विश्वस्त गर्न चाहन्छु । कोभिड-१९ को माहामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा बु्रअरीबाट आउँदो दिनहरुमा पनि यस्तै सहयोगको आशा गरिन्छ ।”, मन्त्री त्रिपाठीले आफ्नो टिप्पणीमा भने । उक्त सामानहरु हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड-१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरु नेपाल सरकारलाई सहयोग गर्न पाउँदा सन्तोष व्यस्त गरे । नेपाल सरकारबाट उक्त सामग्रीहरु प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरुलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरे । गोर्खा ब्रुअरीबाट यस अघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरुमा निरन्तर रुपमा विभिन्न सहयोग गर्दै आएको छ । २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग स्वरुप प्रदान गरिएको थियो । लोटस लाइफ फाउण्डेशन सिंगापुरले तामासेक फाउन्डेशन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्य-सेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मद्दत पुर्याउँछ भन्ने आशा गरेका छन्, जसले नेपालमा ६००० भन्दा बढीको ज्यान लिइसकेको दावी छ ।