तत्काल औषधीको अभाव नहुने तर मूल्य बढ्ने

<p>काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा तत्काल कुनै पनि औषधीको अभाव नहुने बताए । अहिले अस्पतालमा बेडको अभाव, भेन्टिलेटरको अभाव, [&hellip;]</p>

काठमाडौं । नेपालमा औषधीहरुको तत्काल अभाव नहुने देखिएको छ । औषधी उत्पादक संघले औषधीको स्टक (मौज्दात) पर्याप्त भएको र थप उत्पादन गर्न सक्ने कच्चा पदार्थ पनि यथेष्ट भएको बताएका कारण अभाव नहुने देखिएको हो

संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा तत्काल कुनै पनि औषधीको अभाव नहुने बताए । अहिले अस्पतालमा बेडको अभाव, भेन्टिलेटरको अभाव, आईसियुको अभाव भएपनि औषधीको अभाव नभएको उनको भनाई छ ।

गत मंगलबार पूर्वी नेपालका औषधी व्यवसायीहरुले सिटामोल सहित २२ प्रकारका औषधीको अभाव भएको भन्दै एक विज्ञप्ती जारी गरेका थिए । तर, सो क्षेत्रमा औषधीको उत्पादन वा कच्चा पदार्थको कमिका कारण अभाव नभई उत्पादित औषधीको विक्री वितरणमा समस्या हुँदा त्यस्तो समस्या उत्पन्न भएको दाहालको भनाई छ ।

औषधी व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले झापामा देखिएको औषधी अभावको एउटा कारण यातायातमा भएको समस्याका कारण वितरण प्रणाली विग्रिएकोले देखिएको बताए । यसमा अन्य कारणहरुको अध्ययन भइरहेको र छिटै यसको समधान हुने उनले बताए ।

‘मानिसले अनावश्यक रुपमा घरमा लगेर औषधी नलुकाएको अवस्थामा हामीसँग डाक्टरले प्रिस्क्रिप्सन दिने सबै औषधी सजिलैसँग पाइन्छ, अभाव छैन,’ केसीले भने ।

दाहालले हाल आफूहरुसँग ६ करोड थान सिटामोल बनाउने कच्चा पदार्थ रहेका बताए ।

औषधी उत्पादक संघले आफूहरुसँग स्टकमा भएका औषधीको विवरण सार्वजनिक गरेको छ । संघले १३ प्रकारका अत्यावश्यक औषधीको स्टक विवरण सार्वजनिक गरेको हो ।

संघले दिएको मौज्दातको विवरणको आधार हेर्दा हालको परिस्थितिमा कुनै पनि औषधिको अभाव नभएको प्रष्ट रहेको छ । यस परिस्थितिमा औषधी उत्पादकहरु नेपाल सरकार, औषधी व्यवस्था विभाग, आयातकर्ता, थोक तथा खुद्रा व्यापारी लगायत सबैको सहकार्यमा कुनैपनि औषधिको अभाव हुन नदिने संघले प्रतिवद्धता जनाएको छ ।

मूल्य बढ्ने

दाहालले अन्तराष्ट्रिय बजारमा औषधीको मूल्य बढ्दै गएको र त्यसले नेपालमा पनि असर पार्ने बताएका छन् ।

‘पहिला ५ देखि ६ डलर पर्ने प्यरासिटामोलको कच्चा पदार्थ अहिले १० देखि ११ डलर पुगेको छ, प्रायः औषधीहरुको मूल्य डबल भएर आइरहेको छ, हामी औषधीको विश्व बजारमा सानो हिस्सा भए तापनि यसको प्रभाव हामीलाई पनि पर्छ,’ उनले भने ।

सरकारको निर्णय अनुसार व्यवसायीहरुले २०६४ सालयता निकै महत्वपूर्ण र अत्यावश्यक मानिने औषधी प्यारासिटामोलको मूल्य १ रुपैयाँबाट बढाएका छैनन् । तर अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थको बढ्दो मूल्यले अब भने यसको मूल्य बढ्ने दाहालले बताए ।

‘एक महिनामा खाने तेल, चामलहरुको मूल्य बढेर कहाँबाट कहाँ पुगिसक्यो तर, हामी औषधीको मूल्य भने बर्षौदेखि एउटै कायम गरिरहेका छौं, हाम्रो पनि व्यापार हो, हामीले पनि महँगोमा ल्याएर सस्तोमा बेच्न सक्दैनौं, सरकारले हाम्रो यो माग सुनिदिनुपर्छ,’ उनले भने ।

विभागका प्रवक्ता केसीको अनुसार ६५ प्रतिशत औषधीहरु नेपालमै बन्ने गरेको र बाँकी मुख्य क्रिटिकल केयरको सामानहरु मात्र बाहिरबाट आउने गरेको छ ।

संघले भने आफूहरु ७५ प्रतिशत औषधी नेपालमै बनाउने सक्ने क्षमता भएपनि सरकारले सहयोग नगरेको कारण सजिलै उत्पादन गर्न सकिने औषधी पनि विदेशबाट भित्र्याइने गरिएको आरोप लगाउँदै आएको छ ।

Share News