सुदूरपश्चिममा ५५ प्रतिशत सङ्क्रमित निको

सुदूरपश्चिम । कोरोना भाइरसको महामारी फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित हुनेमध्ये अहिलेसम्म झण्डै ५५ प्रतिशत बिरामी उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार हालसम्म पिसिआर र एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित पुष्टि भएका ४० हजार ५७३ मध्ये २२ हजार २५० उपचार व्यवस्थापनपछि घर फर्किएका हुन् । सङ्क्रमित हुनेमध्ये अहिलेसम्म भण्डै एक प्रतिशत अर्थात् ४२८ जनाको मृत्यु भएको छ । जटिल अवस्थाका सङ्क्रमितको अस्पतालमा उपचार व्यवस्थापन भइरहेको छ । सङ्क्रमण भएर पनि अवस्था सामान्य भएका अन्य सङ्क्रमित संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत छन् । कोरोना भाइरसजस्तो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनको एकान्तवासमा छन् । गत वर्षको कोरोना महामारीमा पिसिआर विधिबाट मात्र लक्षण देखिएका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएकामा यस वर्ष पिसिआरका साथै एन्टिजेन विधिबाट समेत नमूना परीक्षण भइरहेको छ । अहिलेसम्म पिसिआरतर्फ एक लाख ७१ हजार ७६३ को नमूना परीक्षण भएकामा ३५ हजार ११९ मा सङ्क्रमण भएको छ । एन्टिजेन परीक्षण पद्धतिबाट हालसम्म ३७ हजार ४६५ को नमूना परीक्षण गरिएकामा पाँच हजार ४५४ जनामा सङ्क्रमण भएको पाइएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको छ । प्रदेशका कैलाली र कञ्चनपुर सबैभन्दा बढी प्रभावित छन् । तथ्याङ्क विश्लेषण गर्दा एन्टिजेन पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये तीन दशमलब ५५ प्रतिशत अर्थात् १९४ जनाको मृत्यु भएको छ भने पिसिआर पद्धतिबाट गरिएको परीक्षणमा सङ्क्रमित फेला पर्नेमध्ये शून्य दशमलब ६६ प्रतिशत अर्थात् २३४ को मृत्यु भएको छ । प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २२८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमूना परीक्षण हुन सकेको छ । एन्टिजेन परीक्षण गएको वैशाखदेखि मात्र सुरु गरिएको थियो । प्रदेशभरिका विभिन्न १२ अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार व्यवस्थापन भइरहेका बिरामीमध्ये पछिल्लो २४ घण्टामा जटिल अवस्थाका ४२ को सघन उपचार कक्षमा र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीको तथ्याङ्कका अनुसार कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि शनिबारसम्म ८१५ जना अर्थात् झण्डै ८६ प्रतिशत सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । दोस्रो लहर फैलिएपछि सो अस्पतालमा ९४३ सङ्क्रमित भर्ना भएका छन् । कोरोना फैलिएपछि हालसम्म उपचार व्यवस्थापनका क्रममा १४५ को मृत्यु भएको छ । मृत्यु हुने यो दर झण्डै १५ प्रतिशत हो । अस्पतालमा शनिबार १०३ जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा नौजना भर्ना हुँदा दशजना उपचारपछि घर फर्किएका छन् । सघन उपचार कक्ष (आइसियु)मा १६ जना उपचाररत छन् । अस्पतालको पिसिआर प्रयोगशालामा सङ्कलित स्वाबको नमूना परीक्षण गर्दा हालसम्म १६ हजार २२१ को नतिजा ‘पोजेटिभ’ आएको अस्पतालले उपलब्ध गराएको तथ्याङ्कमा छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जटिल अवस्थाका कतिपय बिरामी उपचारका लागि ढिलो गरी अस्पताल आउने गर्दा यस्ता बिरामीको ज्यान जोगाउन मुस्किल भइरहेको बताए । ‘उपचार व्यवस्थापनका लागि अस्पताल पुग्न जति ढिलो गरियो, त्यति मृत्युवरण हुने जोखिम छ’, उनले भने, ‘अस्पतालमा दोस्रो लहर फैलिएको शुरुको अवस्थामा अक्सिजनको अभाव हुँदा उपचार व्यवस्थापनमा देखिएको समस्या पछिल्लो हप्तादेखि अक्सिजन कन्सन्ट्रेटरको जडानसँगै हटेको छ ।’ सेती प्रादेशिक अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २८ जना सङ्क्रमित थप उपचारका लागि अन्यत्र सिफारिस गरिएका छन् । गत वर्ष कोरोनाको पहिलो लहर फैलिँदा कतिपय सङ्क्रमितलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने गरिएको थियो । दोस्रो लहरपछि भने धेरै बिरामीलाई काठमाडौँ वा चितवन पु¥याउने गरिएको छ । यस्ता बिरामीको स्वास्थ्यमा सुधार भए/नभएको तथ्याङ्क भने अस्पतालसँग छैन ।

विदेशबाट एउटा खाली सिलिण्डर ल्याउँदा ५०औं हजार मूल्य पर्योः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट एउटा सिलिण्डर आयात गर्दा ५०औं हजार रुपैयाँ मूल्य परेको बताएका छन् । आइतबार बालुवाटारमा पत्रकारहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै उनले जहाज चार्टर्ड गरेर खालि सिलिण्डर ल्याउँदा ५०औं हजार रुपैयाँ मूल्य परेको धारणा राखे । उनले सरकार कोरोना भाइरसको न्यूनिकरणमा लागि परेको बताए । ‘अहिले सिलिण्डरकाे समस्या छैन, अक्सिजनको अभाव पनि लगभग सकिएको छ, भेण्टिलेटरको समस्या पनि छैन,’ उनले भने । उनले अहिले कोरोना भाइरसको संक्रमण कम हुँदै गएको बताए । यस्तै उनले केही त मिसन पत्रकारिता वालाले सरकारकाे काम नदेखेकाे धारणा राखेका छन् ।  ‘उपलब्धि देख्दै नदेख्ने, कमजोरी छैन भने बनावटी कुरा बनाउने, मार्मिक कथा बनाउने, मार्मिक स्थितिलाई आफ्नो पक्षमा प्रयोग गर्ने,’ उनले भने ।

लमजुङ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

लमजुङ । यहाँस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भने, ‘दिउँसोबाट सुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।’ अक्सिजन उत्पादन गर्न सुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उनको भनाइ छ । जिल्लामा शनिबार बिहान प्लान्टका निर्माण सामग्री आइपुगेपछि दिउँसोबाट जडान कार्य थालनी गरेको थियो । यस अक्सिजन प्लान्टले दैनिक १५ सिलिण्डर अक्सिजन उत्पादन गर्नेछ  । यहाँ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत इमर्जेन्सी, आइसियु, आइसोलेशन, अन्तरङ्ग (वार्ड) र प्रसूति वार्डमा पठाउने तयारी भएको साथै अस्पतालका ८३ श्ययामा नै पाइपलाइन जोड्ने अस्पतालले जनाएको छ । तत्कालका लागि भने कोरोना सङ्क्रमितलाई प्राथमिकता दिँदै २५/३० श्ययामा मात्र वितरण गर्ने अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । अस्पतालमा अक्सिजनसहितको २५ श्यया आइसोलेशनको रहेको छ । यहाँ हाल ५० अक्सिजन सिलिण्डर रहेको बताइएको छ । यहाँ यतिबेला १७ कोरोना सङ्क्रमित उपचारत रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनीहरुलाई दैनिक १७ वटा अक्सिजन आवश्यक पर्ने र पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले भन्नुभयो, “अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मङ्सिर महिनामा ७५ लाख पठाएको थियो, सोही बेलाबाट ठेक्का प्रक्रिया शुरु गरेर ५५ लाखमा प्लान्ट ल्याउने जिम्मा ओटु कन्सर्नलाई दिइएको थियो । रासस