रेडक्रसद्धारा आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना, साेमबारसम्म फिल्ड अभ्यास सञ्चालन हुने

काठमाडौं । नेपाल रेडक्रसले जुनसुकै स्थानमा तत्कालै आपत्कालीन स्वास्थ्य क्लिनिक स्थापना सम्पन्न गरेको छ । रेडक्रसले विपद् वा सँकटको परिस्थितिमा देखापर्न सक्ने पानीजन्य रोगहरुको उपचार गर्ने उद्देश्यले उक्त क्लिनिक ठाँउठाउँमा स्थापना गरी गरेको हो । आपत्कालीन अस्पताल सञ्चालन प्रकृयाको निर्देशिका तयार भैसकेको र सो अनुसार खटिने प्राविधिकहरु र बन्दोवस्तीकर्ताहरुको लागि पहिलो चरणको तालिम सम्पन्न भैसकेको नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले जानकारी दिए । यस्तो आपतकालीन सेवाको लागि नेपाल सरकारसँग सहमति पत्रमा सम्झौता भइसकेको छ । त्यस्तै, क्यानेडियन रेडक्रस लगायतका विभिन्न सोसाइटीहरुबाट पहिलो चरणको खटाइको लागि परिचालन खर्च प्राप्त हुने निश्चित भैसकेकोे छ । क्यानेडियन रेडक्रसका प्राविधिक सँयोजक जुलिया इवामाले २०७२ को भूकम्पको समय देखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता रहेको बताइन् । अन्तिम चरणको तालिम समाप्त र फिल्ड अभ्यास सञ्चालन यसैक्रममा, विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयँसेवकहरुले गत सोमबारदेखि चितवनमा ५ दिने तेस्रो तथा अन्तिम चरणको तयारी तालिम शनिबार पूरा गरेका छन् । तालिम पूरा भएकै दिनदेखि फिल्ड अभ्यासमा जुटेका छन् । ३ दिन सम्म सञ्चालन हुने फिल्ड अभ्यासको क्रममा मोडल अस्पताल, पाटन अस्पताल र बीर अस्पताल, न्याम्सका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, नेरेसकोका कर्मचारी तथा स्वयँसेवकहरुले विभिन्न चरणको तालिमको क्रममा सिकेका विषयहरुलाई कृतिम घटना अभ्यास प्रदर्शन गरे । कार्यक्रममा २९ जना मुख्य सहभागीहरु, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयँसेवकहरुको सहभागिता थियो । फिल्ड अभ्यासको पहिलो दिन शनिबार क्लिनिक सञ्चालनको लागि विरामी प्रारम्भिक परिक्षण गर्ने स्थान, शौचालय सहितको आपत्कालीन बेड रुम, ओपिडि कक्ष, स्टाफ रुम, फार्मेसी जस्ता सेवाको लागि पूर्वाधार खडा गरिएका थियो । त्यस्तै जेनेरेटर, पानी लगायत वन्दोबस्तीको तत्काल व्यवस्था गरी घाइतेको उपचार शनिबारदेखि सुरु गरिएको थियो । दोस्रो दिनसम्म विभिन्न किसिमका ६५ वटा विरामीहरुको परिक्षण अभ्यासको गरिएको छ । विपदको अवस्थामा हुन सक्ने स्वास्थ्य समस्याहरुलाई लिएर विरामीहरुको चाप वढेको सहभागी टीम लिडर शुरक्षा पौडेलले जानकारी दिएका छन् । रेडक्रसको अन्तराष्ट्रिय महासँघको एशिया प्यासेफिक क्षेत्रका कोअर्डिनेटर क्याम, फिलिपिन्स रेडक्रसका एल र फ्लोरि, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन र जुलिया लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकहरुले फिल्ड अभ्यास सहजीकरण गरिरहेका नेरेसोका क्लिनिक कार्यक्रम सँयोजक रश्मि श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य बीमाबाट ५० हजार लाभान्वित, तीन करोड ५० लाख रुपैयाँ राजश्व संकलन

पाल्पा । स्वास्थ्य बीमा कार्यक्रमबाट जिल्लाका ५० हजार बासिन्दा लाभान्वित भएका छन् । आर्थिकरुपमा विपन्न र गरिब समुदायका बिरामीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको हो । अहिलेसम्म १४ हजारभन्दा बढी घर परिवारले स्वास्थ्य बीमा दर्ता गरेका छन् । सामाजिक सुरक्षा विकास समितिले २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य बीमा कार्यक्रमका सम्पर्क अधिकृत गौरिशंकर सिंहका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट तीन करोड ५० लाख रुपैयाँ राजश्व संकलन भएको छ । स्वास्थ्य बीमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्य केन्द्र ताहु, खस्यौली, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेका छन् । पाँच जनाको परिवारका सदस्यले वार्षिक दुई हजार ५०० रुपैयाँ तिर्नुपर्ने र पाँचभन्दा बढी भएकाको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाउनुपर्ने हुन्छ । एक वर्षका लागि बीमा गरेका व्यक्तिले वार्षिकरुपमा ५० हजार रुपैयाँसम्म उपचार खर्च निःशुल्क पाउने व्यवस्था छ । स्वास्थ्य बीमाका कारण नियमितरुपमा औषधि सेवन गर्ने दीर्घ रोगीका लागि अत्यन्त सहज भएको रैनादेवी गाउँपालिका– ६ छहराकी दमयन्ती रानाले बताउनुभयो । स्वास्थ्य बीमा गरेपछि बहिरंग, प्रसूति, एक्स–रे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउण्ड, इण्डोस्कोपी, फिजियो थेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बीमाका लागि बीमाकर्ताले घरघरमा पुगेर सेवा प्रदान गर्दै आएका छन् । रासस

पन्ध्र प्रकारका औषधि बजारबाट हटाइयो

काठमाडौँ ।औषधि व्यवस्था विभागले पहिलो चौमासिकमा विभिन्न कम्पनीद्वारा उत्पादित १५ प्रकारका एलोपेथिक र आयुर्वेदिक औषधि बजारमा बिक्री वितरणमा रोक लगाइएको बताएको छ । विभागले विभिन्न नेपाली तथा भारतीय औषधि उद्योगले उत्पादन गरेका औषधि न्यूनगुणस्तरको पाइएपछि नेपाली बजारमा बिक्री वितरण गर्न रोक लगाएको हो । विभागको अनुगमन टोलीले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यूनगुणस्तरको पाइएपछि ती औषधिको बिक्री वितरण रोकी बजारबाट हटाउन तुरुन्त निर्देशन दिएको हो । विभागका महानिर्देशक नारायण ढकालले टाइम फर्मास्युटिकल्स प्रालि नेपालको ‘गिलिपाइड २’, एरिष्टो फर्मास्युटिकल्स भारतको ‘एसिटप’, एसियन फर्मास्युटिकल्स प्रालि नेपालको ‘रापिड २०’, लोमस फर्मास्युटिकल्स प्रालि नेपालको ‘मेट्रो ४००’, भेगा फर्मास्युटिकल्स प्रालि नेपालको ‘इन्डोसेफ ५०’, किङस् हर्बल प्रालि नेपालको ‘लाक्सा १०० र ३००’, एक्लोमेड प्रालि भारतको ‘प्यानोपाज आइभी’ नामक औषधि नेपाली बजारबाट हटाई बिक्री वितरणमा रोक लगाइएको जानकारी दिए। त्यसैगरी विभागले भारतको श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिको ‘प्रदरनाशक चूर्ण’ ‘सातभर्यदी चूर्ण’ ‘लवण भास्कर’, ‘पञ्चास्कर चूर्ण’, ‘हिङवस्तक चूर्ण’, र ओमसूर्य जडीबुटी उद्योग नेपालको ‘सितोपलादी चूर्ण’ पनि बजारबाट हटाउन निर्देशन दिएको छ । महानिर्देशक ढकालले ती औषधि हटाउनका लागि औषधिका आयातकर्ता र तिनका आधिकारिक प्रतिनिधिका नाममा सूचना जारी गरिएको बताए ।