काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले कोभिड महामारीको दोस्रो लहरसँग जुध्नको लागि सहयोग जुटाउन थालेको छ । सीबीफीनले सबै बैंक तथा वित्तीय संस्थाहरुसँग संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको रकम उपलब्ध गराएर सरकारलाई सहयोग गर्ने उद्देश्यले पहल थालेको हो ।
सीबीफीनले यसको लागि जेठ ४ गते एक समिति नै गठन गरेको छ । समितिको संयोजक मेगा बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाह छन् । यस्तै, सदस्यहरुमा लुम्बिनी विकास बैंक संचालक समितिका अध्यक्ष दशरथ रिसाल, नेपाल फाइनान्स कम्पनी संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधान, कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका कोषाध्यक्ष प्रविण ढकाल, आईसीएफसी फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल वित्तीय संस्था संघका प्रथम उपाध्यक्ष सुनिल पन्त र सीबीफीनका महानिर्देशक गोपाल प्रसाद तिवारी छन् । सदस्य सचिवको जिम्मेवारी भने नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का कार्यकारी निर्देशक अनिल शर्मालाई दिइएको छ ।
सो समितिले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाको १ प्रतिशतका दरले गर्नुपर्ने सीएसआर खर्चको रकम कोभिड महामारी नियन्त्रण तथा रोकथामको लागि उपलब्ध गराउन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरेको छ । सीबीफीनले यसको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई पनि अनुरोध गरेको छ ।
‘बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाको १ प्रतिशत रकम अनिवार्य रुपमा सीएसआरमा खर्च गर्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन छ, गत वर्ष बैंकहरुले सीएसआरको रकम सरकारले स्थापना गरेको कोभिड कोषमा बुझाएका थिए, यसपाली पनि कोभिड महामारीको दोस्रो लहर चलेकोले सीएसआरको रकम त्यसैमा खर्च गर्न पाउने नीतिगत व्यवस्था गरी सहजीकरण गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेका छौं, राष्ट्र बैंकले पनि सकारात्मक जवाफ दिएकोले रकम जुटाएर सरकारलाई सहयोग गरी नागरिकको दुःख पीडामा केही हदसम्म भएपनि सहयोग गर्न सक्छौं होला भन्ने हाम्रो अपेक्षा छ,’ सीबीफीन कार्यसमितिका पदाधिकारी समेत रहेका एक बाणिज्य बैंकको संचालक समिति अध्यक्षले विकासन्युजसँग भने ।
करिब ३० करोड रुपैयाँ जुट्ने
सीबीफीनले बैंक तथा वित्तीय संस्थाहरुलाई चालु आर्थिक वर्षको नाफाका आधारमा सम्भव भए १ प्रतिशत नै र अन्यत्र खर्च गरिसकेको भए वा अन्य कारणले सबै रकम सम्भव नभए त्यसको आधा रकम भए पनि तत्काल उपलब्ध गराइदिन बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार नै गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सीएसआरमा खर्च गर्नुपर्ने कुल रकमको आधा रकम मात्रै उपलब्ध गराएपनि ३० करोड रुपैयाँभन्दा बढी जुट्ने अपेक्षा सीबीफीनको छ ।
‘गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुले सरकारले स्थापना गरेको कोभिड कोषमा करिब ७० करोड रुपैयाँ बुझाएका थिए, वाणिज्य बैंकहरुको मात्रै सीएसआरको रकम ६० करोडको हाराहारीमा हुने देखिन्छ, यस्तो रकमको आधा मात्रै अहिले जुटाउन सकियो भने पनि ३० करोड रुपैयाँको हाराहारीमा त जुट्छ नै, विकास बैंक र फाइनान्स कम्पनीहरुको रकम पनि जोड्दा त्योभन्दा पनि बढी हुन सक्छ,’ सीबीफीनका एक पदाधिकारीले भने ।
सरकारलाई नगद नदिने
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्ष सरकारले स्थापना गरेको कोभिड कोषमा नगदै उपलब्ध गराएका थिए । यस्तो रकम कहाँ केमा खर्च भयो भन्ने सम्बन्धमा सरकारले कुनै विवरण सार्वजनिक गरेन । निजी क्षेत्रका अन्य कम्पनी, संस्था तथा निकाय र व्यक्तिहरु समेतले दिएको कोभिड कोषको रकम सरकारले अपारदर्शी रुपमा प्रयोग गरेको आरोप लागेको छ । सरकारले अहिलेसम्म पनि सो कोषको रकम खर्चको यथार्थ विवरण सार्वजनिक गरेको छैन । सोही कारण गत वर्ष कोभिड कोषमा रकम दिनेहरु यसवर्ष सरकारलाई नगदै दिन भने हच्किरहेका छन् ।
कोभिड महामारीको दोस्रो लहरमा अक्सिजन, भेन्टिलेटर, आईसीयु बेड जस्ता बस्तु तथा उपकरणको अभाव देखिएको छ । त्यसैले सीबीफीनले यस्ता बस्तु तथा उपकरण खरिद गरेर सरकारलाई दिने योजना बनाएको छ ।
‘गत वर्षको आवश्यकता र यो वर्षको आवश्यकता फरक देखिन्छ, गत वर्षको जस्तै गरी यसवर्ष नगदै सहयोग नदिने कि भन्ने विषयमा छलफल भएको छ, यसवर्ष कोभिड विरामीको उपचारको लागि आवश्यक देखिएका बस्तुहरुमा अक्सिजन र सिलिण्डरको अभावको समस्या अहिले विस्तारै समाधान हुन लागेको भन्ने सरकारी अधिकारीहरुको भनाई छ, त्यसैले सरकारले सबैभन्दा आवश्यक जेमा छ भन्छ, हामी त्यही उपकरण तथा बस्तु खरिद गरेर सरकारलाई हस्तान्तरण गर्ने गृहकार्यमा छौं,’ सीबीफीनका ती पदाधिकारीले भने ।
समन्वयको जिम्मेवारी गोल्यानलाई
सीबीफीनले सरकारी अधिकारीसँग आवश्यक समन्वयको जिम्मेवारी भने अध्यक्ष पवन गोल्यानलाई दिएको छ । अध्यक्ष गोल्यानले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय जस्ता सरोकारवाला निकायसँग आवश्यक परामर्श र समन्वय गरी के कस्ता बस्तु तथा उपकरण सहयोग गर्ने भन्ने विषयमा गृहकार्य गर्ने स्रोतले जानकारी दियो ।
‘अहिले कोभिड संक्रमणबाट बालबालिका बढी प्रभावित हुन थालेका समाचारहरु सार्वजनिक भइरहेका छन्, बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइएको पनि छैन, त्यसैकारण बालबालिकालाई संक्रमण भयो भने उनीहरुलाई उपचार गर्न के कस्तो बस्तु तथा उपकरण आवश्यक पर्छ भन्ने विषयमा धेरैले ध्यान दिएको पाइएको छैन, हामीले त्यतातिर बढी संवेदनशील भएर छलफल गरिरहेका छौं तर, स्वास्थ्य मन्त्रालयले जे जस्तो बस्तु तथा उपकरण अति आवश्यक छ भन्छ, हामी त्यही बस्तु तथा उपकरण खरिद गरेर सरकारलाई हस्तान्तरण गर्दैछौं,’ सीबीफीनका ती पदाधिकारीले भने ।