काठमाडौं सिनामंगलकी ९३ वर्षिया वृद्धाले जितिन् कोरोना

काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘युथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् । २४ दिनपछि हिजो आइतबार परिक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै सोमबार घर फर्किएकी हुन् । कोरोना संक्रमणका कारण आफुलाई कुनै ठुलो समस्या नदेखिएको उनले बताए । उनले भने- ‘यहाँ आएदेखि बाट केही भएको छैन । खाने, बस्ने, सुत्ने । डाक्टरले सोधिबक्सिन्छ, जहिल्यै नि राम्रो छ । दुख्ने, पोल्ने घटीबढी केही छैन ।’ ‘९३ वर्षको मान्छेलाई के को डर ? कोरोना भन्छन्, के भन्छन् । म त लग्दे हुन्थ्यो फुत्त जरो स्वरो केही आएर भन्छु । खोई ?’, उनले भनिन् । युथ फर नेशनले कोरोना संक्रमितलाई चिकित्सकहरुको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । हाल सो आइसोलेसनमा २० जना संक्रमित रहेको युथ फर नेशनका संयोजक लेनिन बिष्टले बताए ।

थप ६ हजार ४९१ जनाले जिते कोराना, पौने ७ लाखले लगाए दोश्रो मात्राको खोप

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ६ हजार ४९१ जनाले दोश्रो लहरको कारोना जितेका हुन् । यससँगै नेपालमा ४ लाख ४७ हजार ४४६ जनाले कोरोनामुक्त भएका छन् । जुन कूल संक्रमितमध्ये ७९.७ प्रतिशत निको भएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ हजार ६६२ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार १७ हजार ४८० जनाको परिक्षण गर्दा सो मात्रामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै, हालसम्म पोजेटिभ केशहरू कूल ५ लाख ६१ हजार ३०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी गराएको छ । यससँगै हालसम्म मृतकको संख्या ७ हजार ३८६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने ६ लाख ८९ हजार ५१६ जनाले दोश्रो चरणको खोप लगाएका छन् ।

नर्भिकले घोषणा गर्यो सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’, रेट कति ?

काठमाडौं । पछिल्ला दिनमा नेपालमा कोभिड-१९ को पीसीआर रिपोर्ट नेगेटिभ आएपछि पनि ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेको छ । कोभिड निको भइसकेपछि देखापर्ने विभिन्न स्वास्थ्य समस्याका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोस्ट कोभिड प्याकेज’को घोषणा गरेको हाे। अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी देशमा बढिरहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यले निकै सस्तो दररेटको प्याकेज घोषणा गरेको हो । योसँगै सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले पनि कोभिडपछि आउने स्वास्थ्य समस्याको सरल, सहज र सस्तो दरमा समाधानको अवसर पाएका छन् । नर्भिक अस्पतालले २ प्रकारका प्याकेज घोषणा गरेको छ । सस्तोदर रेटको प्याकेज ७५०० रूपैयाँमै उपलब्ध गराइने अस्पतालले जनाएको छ । यो प्याकेजअन्तरगत बिरामीको सिबीसी, कोभिड एन्टीबडी, सीआरपी, डी डाइमर, चेस्ट एक्स रे लगायतका जाँचको सुविधा उपलब्ध हुनेछ । यही शुल्कमा विशेषज्ञ चिकित्सकहरुको परामर्श सेवा समेत उपलब्ध हुनेछ । यस्तै, चेस्ट एक्स रेको ठाउँमा कसैले सीटी स्क्यान गर्न चाहे त्यस्तो प्याकेजको रेट भने केही बढी पर्नेछ । सीटी स्क्यानसहितको प्याकेजको रेट १४ हजार ५०० रुपैयाँ पर्ने अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । यी दुईमध्ये आफ्नो सुविधाअनुसारको प्याकेज लिनका लागि इच्छुकले अस्पतालको सम्पर्क नम्बरमा फोन गरेर अग्रिम बुक पनि गर्न सक्ने सुविधा उपलब्ध गराइएको छ । यस्तै, सोझै अस्पतालमै आएर पनि पोस्ट कोभिड प्याकेज लिन सकिनेछ । नर्भिक अस्पतालले केही दिनअघि मात्रै कोभिडपछि बिरामीमा विभिन्न समस्या देखिने क्रम बढेको निश्कर्षसहित त्यस्ता बिरामीलाई लक्षित गरी ‘पोस्ट कोभिड क्लिनिक’को सुरुवात गरिसकेको छ । सोही क्लिनिकमा बिरामीहरुले प्याकेजअन्तगरतको सेवा पाउनेछन् । नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ । पछिल्लो समय मृत्यदर पनि बढ्दो छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लडप्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छने । यस्ता समस्यालाई बेवास्ता नगर्न र तुरुन्त अस्पताल जान उनले सुझाव दिएका छन् ।