जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै
काठमाडौं । सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धकाे खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार चीनले अनुदान स्वरुप दिएको भेरो सेल खोप ६० देखि ६४ उमेरकालाई पहिलो डोज स्वरुप लगाउने निर्णय भएको हो । मन्त्रालयको अनुसार खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्नेछ । चीनले अनुदान स्वरुप दिएको १० लाख भेरो सेल खोप बुधबारसम्म नेपाल आइपुग्नेछ । मंगलबार नेपाल एयरलाइन्स मार्फत ८ लाख र हिमालयन एयरलाइन्स मार्फत ५० हजार डोज खोप नेपाल आइसकेको छ ।
आइएमई फाउन्डेसनले सरकारलाई दियो तीन करोड बराबरको स्वास्थ्य उपकरण
काठमाडौं । आइएमई फाउन्डेसनले कोभिड-१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ । आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई संयुक्तरुपमा ८० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । फाउन्डेसनले गण्डकी प्रादेशिक अस्पताल, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रूपन्देही, सेती प्रादेशिक अस्पताल, धनगढी, कैलाली र निजामती कर्मचारी अस्पताल (सिभिल), मीनभवन, काठमाडौंलाई ८० थान अक्सिजन कन्सन्ट्रेटर (हरेकलाई २० थान) सहयोग गरेको हो । त्यसैगरी, फाउन्डेसनले जनता स्वास्थ्य केन्द्रद्वारा सन्चालित आइसोलेसन सेन्टरलाई १५ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । यसका अतिरिक्त फाउन्डेसनले शुक्रराज सरुवारोग अस्पताल, टेकुमा करिब एक करोड २८ लाख रुपैयाँ बराबरको अक्सिजन प्लान्ट स्थापनाको लागि पनि प्लान्ट अर्डर गरिसकेको छ । यस अघि फाउन्डेसनले वैदेशिक रोजगारीमा रहँदा देहावासन भएका नेपालीहरूको घरपरिवारहरूको सहयोगार्थ ‘भरोसा कोष’ को स्थापना गरी करिव १ सय प्रभावित घरपरिवारलाई प्रतिव्यक्ति ५८ हजार रुपैयाँ (करिव ६० लाख) राहत उपलब्ध गराएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपअन्तर्गत संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । साथै फाउन्डेसनले विभिन्न समयमा मुलुकमा आइपर्ने स्वास्थ्य तथा प्राकृतिक प्रकोपहरुमा नेपाल सरकार तथा विभिन्न गैरसरकारी संघ/संस्थासँग हातेमालो गरेर अघि बढ्ने गरेको छ ।
२० गतेपछि बैंक तथा वित्तीय संस्था संञ्चालनमा सहज हुने हो ?
काठमाडौं । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको बैठकले जारी निषेधाज्ञालाई जेठ मसान्तसम्म कायम राख्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । बैठकले जारी निषेधाज्ञालाई १० दिन थप गरेर जेठ ३० गतेसम्म कायम राख्ने निर्णय गरेको हो । तर, २० गतेसम्म निषेधाज्ञाको समय बाँकी रहेकाेले अहिले नै औपचारिक रुपमा सार्वजनिक नगरेर १९ गते बिहान सार्वजनिक गर्ने सीडीओहरुको बैठकले योजना बनाएको छ । ‘आज बसेको बैठकले प्रारम्भिक निर्णय गरेको छ, निश्कर्षमै पुगिसकेका छैनौं, तर, आजको छलफललाई आधार मान्दा जेठको मसान्तसम्म निषेधाज्ञा कायम नै राख्ने कुरा भएको छ, हामी आधिकारिक निर्णय भोलि बिहान सार्वजनिक गर्छौं,’ काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीले विकासन्युजसँग भने । उनले खाद्यान्न पसल खोल्ने भने निर्णय भएको बताए । यस्तै, अन्य क्षेत्रमा पनि निषेधाज्ञा केही खुकुलो हुने उनकाे भनाइ छ । उनले भने, ‘एक हप्ता निषेधाज्ञा थप्ने वा जेठको मसान्तसम्म नै कायम राख्ने भन्ने बारे भने यकिन भएको छैन, आजको निश्कर्ष भने मसान्तसम्म नै कायम गर्ने हो ।’ अन्य धेरै क्षेत्रहरुमा निषेधाज्ञा खुकुलो हुने भएसँगै बैंक तथा वित्तीय संस्थामा के हुन्छ भन्ने विषयले पनि चर्चा पाएको छ । प्रजिअ पराजुलीले बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा खुकुलो सम्बन्धि आजको बैठकले निष्कर्षमा पुगेर निर्णय नगरेको बताए । ‘अहिले कतिपय ठाउँबाट अब बैंक तथा वित्तीय संस्थामा निषेधाज्ञा अलि खुकुलो गर्नु पर्छ भनेर कुरा आइरहेको छ, त्यसको बारेमा पनि हामी सोचिरहेका छौं, यसको बारेमा पनि हामी भोलि निर्णय गर्छौं, तर, आज खासै यही नै गर्छौं भन्न सकिने अवस्था छैन,’ उनले भने । हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत मात्र) प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।