पत्रकारलाई भेरोसेल खोपको दोस्रो मात्रा बुधबार लगाइने

काठमाडाैं । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ । महासङ्घ ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गर्नुभएको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ । उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

आज ललितपुरमा खोप लगाउने अन्तिम दिन, वैदेशिक रोजगारमा जानेले पनि पाउने

काठमाडौं । ललितपुर जिल्लामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाउने अन्तिम दिन रहेका छ । ५० दखि ५४ वर्षको लागि हिजो सुरु भएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने आज अन्तिम दिन रहेको छ । महानगरको प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले उक्त खोप वैदेशिक रोजगारमा जान लागेका व्यक्ति, सरसफाइकर्मी र महानगरभित्र रहेका सरकारी कर्मचारीलाई पनि दिइने बताएका छन् । साथसाथै पूर्ण र अति अशक्त तथा अपाङ्गता भएका वर्गलाई परिचय–पत्रको आधारमा खोप दिइने व्यवस्था गरिएको उनले बताए । जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । यो खोप एक डोज लगाए पुग्छ । उक्त खोप स्थानीय तहको सम्बन्धित वडामा बिहान १० बजे देखि साँझ ४ बजेसम्म लगाइने व्यव्था रहेको अर्यालले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. रोशन पोखरेल नियुक्त

काठमाडौं । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । आज (साउन ४ गते) बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । आज बसेको बढुवा समितिको बैठकले सचिव नियुक्तका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । जसमध्ये मन्त्रिपरिषद्को बैठकले डा. पोखरेललाई सचिवमा नियुक्त गरेको हो । डा. पोखरेल झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका हुन् । यसअघि उनी मन्त्रालयमा प्रमुख विशेषज्ञका रुपमा कार्यरत थिए ।