भारतले नेपाललाई हस्तान्तरण गर्यो एक सय पचास श्यया

फाइल फाेटाे काठमाडौं । भारत सरकारले नेपाल सरकारलाई कोभिड-१९ उपचारमा आवश्यक पर्ने सघन उपचार कक्षका निम्ति आज १५० श्यया हस्तान्तरण गरेको छ । कनून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित सङ्क्षिप्त समारोहमा उपहारस्वरूप प्रतिकात्मक रूपमा १५० श्यया हस्तान्तरण गरेको छ । ती श्यया सातवटै प्रदेशका प्रमुख अस्पताललाई प्रदान गरिनेछ । त्यस अवसरमा मन्त्री कार्कीले भारत सरकारको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गर्दै कोभिड-१९ विरुद्धको नेपालको लडाइँमा भारतीय सहयोग महत्वपूर्ण हुने बताउँदै त्यसले दुई देशबीचको सम्बन्ध र सद्भावलाई उजागर गरेको बताए । राजदूत क्वात्राले महामारी नियन्त्रण तथा स्वास्थ्य पूर्वाधारका क्षेत्रमा भारत सरकारले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

आईतबार थप १ हजार ६६७ जना संक्रमणमुक्त, थपिए एक हजार ८०१

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर थप एक हजार ६६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन । यस्तैगरी, पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६६२८ जनामा गरिएको एन्टिजेन परीक्षणमा १२२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १८०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तैगरी पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ ।

ललितपुरमा साउन ४ र ५ गते जाेनसन एण्ड जाेन्सनकाे खोप लगाइने

काठमाडौं । ललितपुर जिल्लामा साउन ४ र ५ गते जाेन्सन एण्ड जाेन्सनकाे खाेप लगाइने भएकाे छ । ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले ललितपुर जिल्लामा ५० देखि ५५ वर्षकालाई जाेन्सन एण्ड जाेन्सनकाे ज्यान्सेन खाेप लगाइने भएकाे जानकारी दिएका हुन् । याे खाेप एक डाेज लगाए पुग्छ । उक्त खोप अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई पनि परिचय पत्रको आधारमा दिइने उनले बताए । उनको अनुसार बिहान १० बजे देखि ४ बजेसम्म खोप लगाइने छ । गलालका अनुसार महानगरले दैनिक १६ हजार जनालाई खोप लगाउने लक्ष्य राखेको छ । उनले सबै वडामा खोप केन्द्र रहेको र त्यही गएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।