पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?
काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।
टेकू सहित अब चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने
टेकू अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बसेका सर्वसाधारण काठमाडौं । खोप कार्ड लिन टेकु अस्पताल (शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल) मा सर्वसाधारणको भिड बढेपछि सरकारले ४ अस्पतालबाट खोप कार्ड लिन पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकु अस्पताल, निजामती अस्पताल (सिभिल अस्पताल), पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हो । खोप कार्डका लागि टेकु अस्पतालमा रातीदेखि सर्वसाधारण लाइनमा बसेपछि अन्य अस्पतालबाट समेत कार्ड लिन सकिने व्यवस्था गरेको हो । पछिल्ला केही दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतम शुक्रबारबाट चार अस्पतालमा निशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको बताउँछन् । टेकू अस्पतालमा भीड शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा युवाहरुको भीड बढेको हो । सयौँको संख्यामा मानिहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिएको छ भने झनै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ । देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आउनुभएका युवाहरु तिनदिन अघिदेखि लाइन बस्दा पनि आजसम्म प्रमाणपत्र लिने पालो नआएको बताउँछन् । विदेश जानका लागि खोपको आवश्यकता पर्ने र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनुपर्ने बताएका छन् । कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरैदिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको उनीहरुको भनाई छ ।
दैनिक परीक्षण गर्नेमध्ये २२ प्रतिशतमा कोरोना संक्रमण, सरकारले दियो तेस्रो लहरको चेतावनी
काठमाडौं । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताउँछन् । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ । “खुकुलो भएसँगै सङ्क्रमण हुने दर बढिरहेको छ । विगत एक हप्तादेखि सङ्क्रमित हुने दर बढ्दो रहेको छ”, उनले भने, “सङ्क्रमणको रोकथाम र नियन्त्रण गरे पनि भीडभाड गर्ने र जनस्वास्थ्यमा मापदण्ड लागू नगर्दा सङ्क्रमण जति घट्नुपर्ने हो त्यति घट्न सकिरहेको छैन ।” सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड-१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएकामध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ । सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् । यस्तै, साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउँछन् । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताउँछन् । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको बताए । “मानिस घरमै बसेर सङ्क्रमणलाई लुकाइरहेका छन् । सङ्क्रमण भए पनि आइसोलेशनमा बसेका छैनन्”, उनले भने,“जसले गर्दा घरपिच्छै सबै मानिसमा सङ्क्रमण हुने डर छ ।” उनले खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको जानकारी दिए । ‘खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन’, उनले भने, ‘खोपले सङ्क्रमणलाई नै रोक्ने होइन । सङ्क्रमणको लक्षणलाई मात्र कमी गराउने हो ।’ नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि सङ्क्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । सङ्क्रमणको दोस्रो लहरले फोक्सोमा असर पुर्याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा सङ्क्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको छ । भारतको खुला सीमाका कारण भारतबाट सङ्क्रमण फैलने डर रहेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बाँस्तोला खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहको बताउँछन् । ‘खोपले लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ’, उनले भने, ‘खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ ।’ १० जिल्लामा ५०० भन्दा बढी अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी (पूर्व) र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी (पूर्व), रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ । तेस्रो लहर आउन सक्छ :स्वास्थ्य मन्त्रालय सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको जनाउँदै डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताए । उपत्यकामा पनि बढ्यो सङ्क्रमण काठमाडौँ उपत्यकामा पनि सङ्क्रमणदर बढ्दो रहेको छ । उपत्यकामा भीडभाड र सवारी साधन चलेसँगै सङ्क्रमण पनि बढिरहेको मन्त्रालयले जनाएको छ । साउन १ गते उपत्यकामा सङ्क्रमित सङ्ख्या ५४१ पुगेकामा साउन ७ गते ७५१ पुगेको छ । साउन १ गते उपत्यका काठमाडौँमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जनामा सङ्क्रमण देखिएको थियो । साउन ७ गते काठमाडाँैमा ५३६, ललितपुर १३० र भक्तपुर ८५ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा सङ्क्रमित दुई लाख १२ हजार १५२ तथा पाँच हजार ९१६ सक्रिय सङ्क्रमित रहेका छन् । त्यसगरी ललितपुरमा ३९ हजार ५९६ सङ्क्रमित र एक हजार ६१ सक्रिय सङ्क्रमित तथा भक्तपुरमा २३ हजार ४४२ सङ्क्रमित र ९३५ सक्रिय सङ्क्रमित रहेका छन् । निको हुने पनि स्थिर सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४.७ प्रतिशतमा स्थिर रहेको थियो । साउन २ गते ९४.७ प्रतिशत, ३ गते ९४.७ प्रतिशत, ४ गते ९४.७ प्रतिशत, ५ गते ९४.६ प्रतिशत ६ गते निको हुने दर ९४.६ प्रतिशत रहेको छ । नियमित खोप नेपालमा अहिलेसम्म भारत, चीन र अमेरिकाबाट कोरोना भाइरसविरुद्धको खोप आएको छ । ती खोप प्राथमिकतानुसार मन्त्रालयले नियमितरूपमा नागरिकलाई लगाइरहेको छ । कोभिशिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप नेपालमा लगाइएका छन् । अहिलेम्म नेपालमा ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । सरकारले साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ चीनबाट ल्याउने भएको छ । पहिलो मात्रा लगाउने ३३ लाख आठ हजार ७३० र दोस्रो मात्रा लगाउने १२ लाख ८१ हजार २४० जना पुगेका छन् । नेपालमा अहिलेसम्म सात लाख २७ हजार १६९ सङ्क्रमित पुगेका छन् । अहिले सघन उपचारकक्षमा ६३५ र भेन्टिलेटरमा १७२ जना रहेका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ३७ हजार ६९० पुगेको छ । यस्तै सङ्क्रमणबाट हालसम्म नौ हजार ६६१ जनाको निधन भइसकेको छ । रासस