६ अर्ब लगानी थप्दै नर्भिक, सुनसरी र भैरहवामा पनि स्याटलाइट अस्पताल बनाउने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई विस्तार गर्ने गरी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम(परिचयात्मक कार्यक्रम) आयोजना गरी नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो । ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रमकाबीच नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले ५ वर्षे रणनीति सार्वजनिक गरिन् । उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजनाको विषयमा जानकारी दिइन् । उनकाे अनुसार सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ विस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई विस्तार गर्ने र अस्पताललाई ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण गरिने उनले बताइन् । उनकाे अनुसार थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शैयाको भव्य अस्पतालबाट सेवा संचालन गर्नेछ । ‘आगामी पाँच वर्षपभित्र नर्भिकले भैरहवामा १०० शैया तथा सुनसरीको दुहबीमा पनि १०० शैयाको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरी संचालनमा ल्याउनेछ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुनेछ,’ उनले भनिन् । यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख रहेकाे उनले जानकारी दिइन् । पाँच वर्षे योजनामा नर्भिकले आफ्नो सेवा विस्तारका लागि ६ अर्ब बढी लगानी थप्ने र २ हजारभन्दा बढीका लागि प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने योजना बनाएको प्रबन्ध निर्देशक चौधरीले बताइन् । यस्तै नर्भिक अस्पतालका निवर्तमान चेयरम्यान तथा संरक्षक वसन्त चौधरीले कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरुले अस्पतालको स्तरीय सेवालाई व्यापक रुपमा विस्तार गर्ने योजना बनाएको उल्लेख गरे । उनले भने–‘संभवत हामी देशका विभिन्न क्षेत्रमा स्याटेलाइट अस्पताल निर्माण गर्ने पहिलो कम्पनी बन्नेछौं ।’ उनले अस्पतालको सेवालाई अझ गुणस्तरीय बनाउन, पारदर्शी सोंच र कार्यशैलीका साथ अगाडि बढ्न, अहिलेभन्दा धेरै काम गर्ने उद्देश्यले हालै नर्भिकलाई प्राइभेट लिमीटेड कम्पनीबाट पब्लिकमा रुपान्तरण गरिएको प्रष्ट पारे । ‘मेरो सपना अझ ठूलो हुँदैछ ।’ उनले थपे,‘अब हामीसँग पब्लिक डाइरेक्टर हुनेछन् । हामीसँग विभिन्न क्षेत्रका विज्ञ हुनेछन् । हिजोको दिनमा एकजनाको भिजन मात्र हुन्थ्यो भने अब हामीसँग एउटा टिमको भिजन हुनेछ ।’ सो अवसरमा नर्भिक अस्पतालका नवनियुक्त अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले समेत बोलेका थिए । सो अवसरमा नर्भिकको नयाँ संचालक समितिको परिचय निवर्तमान अध्यक्ष बसन्त चौधरीले गराएका थिए भने व्यवस्थापनको उच्च तहको विभिन्न जिम्मेवारीमा आएकाहरुको परिचय प्रबन्ध निर्देशक मेघा चौधरीले गराएकी थिइन् ।
जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान
मान्मा । जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो । कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । ‘जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।’ उनले भने, ‘अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।’ अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए । ‘जिल्लामा विद्युत्को लाइन छ तर त्यो विद्युत् नियमित नहुँदा अक्सिजन प्लान्ट नियमित सञ्चालनका लागि जेनेरेटर राख्ने पहल भइरहेको छ’, उनले भने, ‘विद्युत् नियमित भए २४ सै घण्टा अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिन्छ ।’ जिल्लामा कोभिड–१९ सङ्क्रमित भएका क्षयरोगीको उपचारका लागि कोभिड–विशेष अस्पतालमा क्षयरोग निदानको आधुनिक तथा नयाँ प्रविधिको जिने एक्स्पोर्ट मेशिन पनि जडान गरिएको निमित्त प्रमुख महतले बताए । ‘क्षयरोगका गम्भीर खालका बिरामीलाई कोभिड–१९ भए त्यसको उपचारका नयाँ मेशिन जडान गरिएको छ’, उनले भने, ‘कोभिड–१९ महामारीका बीच स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै गएका छौँ ।’ जिल्लामा हाल २९ महिला र ३३ पुरुषसहित ६२ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये कोभिड विशेष अस्पलालमा १९ को उपचार भइरहेको । जिल्लाका विभिन्न आइसोलेशन केन्द्रमा १४ र होम आइसोलेशनमा २९ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप लगाइने
काठमाडौं । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिए । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उनका अनुसार भोलिसम्म खोप केन्द्रमा गएर लगाउन सकिनेछ । उनले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरुले कम लगाएको हुनसक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गरेका थिए । भोलिसम्म लगाइने खोप शुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार ९५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार १३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।