बुधबार ३ हजार ८४० जनामा संक्रमण पुष्टि, उपत्यकामा मात्रै ८५९

काठमाडौं । आज थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २ हजार ६३४ जना र ४ हजार ९२२ एन्टिजेन परीक्षण गर्दा १ हजार २०६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै आज कुल ८५९ जनामा संक्रमण पुष्टि भएको छ जसमा भक्तपुरमा ९५, ललितपुरमा २०६ र काठमाडौं जिल्लामा ५५९ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज एक हजार ९९३ जनाले कोरोना जितेका हुन । आज ३३ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

गजेन्द्रनारायण सिँह अस्पतालमा पिसिआर परीक्षण पुनः सञ्चालन

राजविराज । राजविराजस्थित गजेन्द्रनारायण सिँह अस्पतालमा मङ्गलबारदेखि बन्द रहेको पिसिआर परीक्षण आजदेखि पुनः सञ्चालन भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रणजीतकुमार झाका अनुसार पिसिआर मेसिनमा प्राविधिक सामान्य गडबडी भएका कारण एक दिन बन्द रहेको कोरोना भाइरसको स्वाब परीक्षण फेरि सञ्चालन भएको उनले जानकारी दिए । दुई दिनअघि मात्रै सप्तरीमा ४० जनाको पिसिआर परीक्षण गर्दा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । सोही अनुरुप जिल्ला स्वास्थ्य कार्यालयले सङ्क्रमण बढ्दो क्रममा देखिएकाले परीक्षणको दायरासमेत बढाउनुपर्ने आवश्यकता रहेको डा झाले बताए । कोरोन सङ्क्रमणका कारण सप्तरीमा एक महिलाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार खडक नगरपालिकाकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ । गत असार ३१ गते सङ्क्रमण देखिएको उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५६ पुगेको छ । रासस

महोत्तरीमा भाइरल ज्वरोको बिरामी बढे

जलेश्वर । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच/सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको संङ्ख्या ह्वात्तै बढेको हो । उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०/७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा साहले बताए । उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए । यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा साहले सबैलाई आग्रह गरेका छन् ।