विदेश जाने विद्यार्थी र श्रमिकले नेपाल प्रहरी र सैनिक अस्पतालमा खोप लगाउन पाउने
काठमाडाैं । विदेश जाने श्रमिक र विद्यार्थीले अबदेखि नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका लागि काठमाडौं उपत्यकाको हकमा दुई अस्पताललाई ताेकेकाे हाे । त्यसका लागि पासपोर्ट र भिसा देखाउनु पर्ने मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयकाे अनुसार काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ । उक्त स्थानमा विभिन्न समयमा लक्षित समूहले स्वास्थ्य कार्यालयले तोके बमोजिम गएर खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।
थप २ हजार ५० जनाले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आईतबारसम्म ६ लाख ४३ हजार ६१५ जनाले कोरोना जितेका हुन । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १० हजार ५६९ पीसीआर परीक्षण गर्दा १ हजार ५३९ जना र ३ हजार २६५ एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ७१३ पुगेको छ। हाल देशभर २७ हजार २२८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कालीकोटमा कोभिड–१९ को सङ्क्रमण बढ्दै
जाजरकाेट । कालीकोटमा पछिल्लो चरणमा कोभिड–१९ सङ्क्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै यहाँ कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड–१९ को मापदण्ड पालना नगर्दा कोभिडको सङ्क्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताए । उनले भने, ‘केही समयअघि शून्यमा झरेको कोभिड–१९ को सङ्क्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।’ सङ्क्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, ¥याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ’, उनले भने, ‘जिल्लामा कोभिड–१९ को महामारीको सङ्क्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।’ हाल जिल्लामा सक्रिय सङ्क्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।