प्रदेश नं २ मा कोरोनाको ग्राफ उकालो लाग्दै जाँदा खोप लगाउने दर बढ्न सकेन

जनकपुर । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ बिस्तारै बढ्दै जाँदा जोखिम बढेकाे छ । यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गरिएको स्वाब परीक्षणमा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ । गत बिहीबार ६८ को स्वाब परीक्षण गर्दा नौ र शुक्रबार ३१ को स्वाब परीक्षण गर्दा सातजनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो पटक दुई दिनमा धनुषामा पाँच, सिरहा र महोत्तरीमा चार/चार, सप्तरी, सर्लाही र पर्सामा एक/एक गरी १६ जनामा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको प्रदेश नं २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले जानकारी दिए । योसँगै प्रदेशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ पुगेको छ । सङ्क्रमितहरु सबै होम आइसोलेसन रहेका छन् । ‘मङ्सिरको अन्तिम सातासम्म कोरोना सङ्क्रमण दर स्थिर थियो’, निर्देशक झाले भने, ‘तर पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ, यो खतराको सङ्केत हो ।’ अब पनि हेलचेक्र्याइँ गरिए स्थिति बिग्रिन सक्ने उनको भनाइ थियो । कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश नं २ मा कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या भने निराशाजनक देखिएको छ । सरकारले २०७८ पुस मासन्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश नं २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाका अनुसार पुस महिना बित्नै लाग्दा यो प्रदेशमा पूर्ण डोज लगाउनेको सङ्ख्या ३८ प्रतिशत मात्र छन् भने एक डोज मात्र लगाउनेको सङ्ख्या करिब ५० प्रतिशत छ । सर्लाहीमा ४६ प्रतिशत, धनुषा, सप्तरी, बारा र पर्सामा ३८, सिरहामा ३७, रौतहटमा ३५ र महोत्तरीमा ३२ प्रतिशतले मात्र पूर्ण डोज खोप लगाएको निर्देशक झाले जानकारी दिए । उनका अनुसार एक मात्र डोज खोप लगाउने सङ्ख्या सर्लाहीमा ६८, बारामा ६४, सिरहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ । पुस महनिाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक एक लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यो प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए । ‘यसरी यही गतिमा खोप अघि बढिरहे कोरोनाको तेस्रो लहर आउँदासम्म ५० प्रतिशतलाई पनि खोप लगाउन सक्ने अवस्था छैन’, उनले भने, ‘त्यही भएर हामीले खोप लगाउने कार्यलाई गति दिनुस् भनेर जिल्ला स्वास्थ्य तथा नगरपालिका र गाउँपालिकाका प्रमुखहरुलाई भन्यौँ, तर जुन ढङ्गबाट गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन ।’ स्थानीय तहका जनप्रतिनिधिहरुले जसरी गम्भीरतापूर्वक लिनुपर्ने थियो त्यो नलिएका कारण खोप लगाउनेको सङ्ख्या नबढ्ेको निर्देशक झाको भनाइ छ । यसअघिका कोरोना भाइरस सङ्क्रमणमा अन्य प्रदेशजस्तै यो प्रदेशले पनि ठूलै धनजनको क्षति व्यहोर्नु परेको छ । कोरोना भाइरस सङ्क्रमण सुरु भएयता हालसम्म प्रदेश नं २ मा एक हजार ४० जनाले ज्यान गुमाइसकेका छन् । हालसम्म यो प्रदेशमा दुई लाख २३ हजार २१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना सङ्क्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । छिमेकी मुलुक भारतमा तेस्रो लहरको कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिरहँदा माघको दोस्रो साताबाट नेपालमा पनि तेस्रो लहर फैलिन सक्ने विज्ञहरु चेतावनी दिइरहेका छन् । त्यसैले सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्न खोपलाई प्राथमकिता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए । ‘खोप लगाउनेको सङ्ख्या निराशाजनक देखिएको छ’, उनले भने, ‘त्यही भएर जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखहरु तत्काल खोप लगाउने कार्यलाई गति दिनुस् भने निर्देशन दिएका छौँ ।’ केही दिनअघि मात्र मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्रीहरु, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ । यसबाहेक कोरोनाको तेस्रो लहर आउन सक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाएको बताएको छ । प्रदेश २ का जिल्लाहरु भारतीय सीमासँगै जोडिएकाले सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना गरी एन्टीजेन विधिबाट स्वास्थ्य जाँच गर्न निगरानी बढाइएको मन्त्री साहले बताए । ‘प्रदेशभरिका सबै अस्पताललाई औषधिसहित अक्सिजनलगायत स्वास्थ्य सामग्रीहरु तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ,’ मन्त्री साहले भने, ‘सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रनितिहरुसँग नियमित समन्वय भइरहेको छ ।’ यसबाहेक कोरोना सङ्क्रमण रोकथामबारे विभिन्न माध्यमबाट प्रचारप्रसारसमेत गर्दै आएको मन्त्री साहको भनाइ छ । पहिलो र दोस्रो लहरको सङ्क्रमणका बेला प्रदेश नं २ मा देखिएको श्यया र अक्सिजनको समस्या अब हुन नदिने तयारी भएको प्रदेश सरकारको भनाइ छ । ‘प्रदेश नं २ का आठवटा जिल्लामध्ये पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ,’ मन्त्री साहले भने, ‘बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेको छ, त्यहाँ पनि छिट्टै जडान हुन्छ ।’ त्यसैले अब प्रदेशमा अक्सिजनको समस्या हुँदैन, उनको विश्वास छ । यो प्रदेशका १५ वटा अस्पतालमा ३४६ आइसोलेसन श्यया, १९२ एडियू श्यया, ९१ आइसियु श्यया, ६३ भेन्टिलेटर छन् भने एक हजार ९६५ अक्सिजन सिलिन्डर मौज्दात रहेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । यस्तै, प्रदेशभरि १२ वटा पिसिआर परीक्षण मेसिनबाट कोभिड–१९ जाँच हुँदै आएको जनाएको छ । भारतीय सीमानाकाबाट सङ्क्रमितलाई नेपाल प्रवेश गर्न नदिन प्रदेश नं २ का विभिन्न जिल्लास्थित सीमानाकाहरुमा हेल्थ डेक्स स्थापना भएको छ । महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकाहरुमा हेल्थ डेक्स स्थापना गरी भारतबाट आउनेहरुको स्वास्थ्य परीक्षण सुरु गरिसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेश सरकार विगतको भन्दा अहिले कोरोना सङ्क्रमण रोकथामका लागि बढी सक्रिय देखिएकाले अघिल्लो कोरोनाकालको जस्तो सम्भावित तेस्रो लहरमा पीडा भोग्नु नपर्ने प्रदेशवासीहरुको विश्वास छ । ‘अघिल्लो दुई कोरोनाकालमा प्रदेश र स्थानीय सरकार जति सक्रिय हुनुपर्ने थिया, त्यति नभएकाले प्रदेश नं २ कोरोनाको हटस्पट बन्यो,’ जनकपुरधाम नगरपालिका–१७ का समीर महतोले भने, ‘त्यसैले सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले तयारी गर्नु आवश्यक छ ।’ पहिलादेखि नै सर्वसाधारणसमेत सचेत भइसकेकाले पनि खासै ठूलो क्षति नहुने उनको भनाइ छ । यद्यपि स्वास्थ्य मापदण्डको पालना गर्नु आवश्यक रहेको उनले बताए । रासस

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन, लकडाउनबारे बैठक बस्ने

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा देउवाले यस्तो निर्देशन दिएका हुन् । संक्रमितहरुको परीक्षण, उनीहरुको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । ‘कोभिडको विषयमा केन्द्रित भएर छलफल भयो । ओमिक्रोनको बढने लहरको विषयमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा कुरा भयो । नाकाहरुलाई कसरी अझ चुस्तदुरुस्त बनाउने अनि एन्टिजिन परीक्षण गर्दा देखिएका बिरामीहरुको कसरी आईसोलेशनको व्यवस्था गर्ने, देखिएका विरामीहरुको थप परीक्षण बढाउने कुराहरु, उनीहरुको खाने, बस्ने सुविधाका कुराहरु । यी सबै पक्षमा कुरा भएको छ र खोप लगाउन अझ तीव्रता दिने र चाँडै नै बुष्टर खोपमा पनि जाने भन्ने छलफल भयो । प्रधानमन्त्रीबाट पनि त्यहीँ निर्देशन भयो,’ मन्त्री खतिवडाले भने । खतिवडाकाे अनुसार बैठकमा कोभिड भाईरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढदै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । संक्रमितहरुको संख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरु बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए । बैठकले तेस्रो चरणको बुष्टर खोप पनि अघि बढाउने अनुमति दिएको छ । शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा कोरोना संक्रमण देखिएको थियो भने २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो ।

पछिल्लाे २४ घण्टामा नेपालमा ९६८ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको हो । १४ हजार ९७१ जनाकाे परीक्षण हुँदा ९६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । बिहीबारकाे दाँजाेमा काेराेना संक्रमित एकैचाेटी ८० प्रतिशतले बढेकाे हाे । बिहीबार ५४० जनामा संक्रमण देखिएकाे थियाे । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ ।