भक्तपुरमा विद्यार्थी तथा बालबालिकाका लागि खोप अभियान सुरु
भक्तपुर । जिल्लामा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ४५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद मिजारले जानकारी दिए । कार्यालयले आइतबारदेखि सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा, आजदेखि मध्यपुरथिमि नगरपालिका र भोलिदेखि भक्तपुर नगरपालिका क्षेत्रमा खोप अभियान सञ्चालन गर्ने उनले जानकारी दिए । विद्यार्थी तथा बालबालिकालाई मोडर्ना खोप लगाउन थालिएको हो । कार्यालयले पठनपाठन सञ्चालन भएका विद्यालय र विद्यालय नजिक रहेका स्वास्थ्य चौकीमार्फत खोप दिन सुरु गरेको छ । कार्यालय प्रमुख मिजारका अनुसार २५० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ । विद्यालयमा जाडो बिदा भएर पठनपाठन बन्द भएको तथा परीक्षा सञ्चालन भइरहेको अवस्थामा भने नजिकैको स्वास्थ्यचौकीमा गएर खोप लगाउन सकिने व्यवस्था गरिएको छ । एक पालिकामा कम्तीमा तीन दिन खोप अभियान सञ्चालन गरिने छ । तीन दिनमा नसकिए केही दिन थप गरेर भए पनि सबै बालबालिकालाई खोप दिने गरी अभियान सुरु भएको हो । चाँगुनारायण र सूर्यविनायकका विद्यालयमा हिजोदेखि नै खोप अभियान सुरु भएपछि विद्यार्थीको उल्लेख्य सहभागिता रहेको विद्यालय सञ्चालकले बताए । आफ्ना विद्यालयका विद्यार्थीलाई विद्यालय आफैले नेतृत्व गर्दै खोप केन्द्रसम्म पुर्याएर खोप दिलाउने व्यवस्था गरिएको थियो । रासस
कोरोना सङ्क्रमणदर बढ्न थालेपछि दैनिक मजदुरी गरेर गुजारा गर्ने चिन्तित
भजनी । कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ । उनका श्रीमान्/श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर उनीहरु आफ्नो खाना बोकेर काममा जाने गरेका छन् । ‘अलिअलि काम पाउन थालिएको थियो । अझ कोरोनाको सङ्क्रमण बढेको भन्ने सुनेको छु,’ उनले भने, ‘अझ बन्दाबन्दी हुन्छ भने हामी त मर्छौं होला । दिनभर काम नगरे साँझ चुलो बल्दैन । कामकाज बन्द भएपछि कमाउने बाटोसमेत बन्द हुन्छन् ।’ सोही ठाउँका रामबहादुर चौधरीलाई पनि त्यहीँ पीडाले सताउन थालेको छ । अहिले घर निर्माणका काममा व्यस्त रहेका उनले कोरोनाको भन्दा बढी चिन्ता परिवारको लालनपालनमा छ । उनको पनि दिनभर काम गरेपछि मात्रै साँझ घरमा चुलो बल्छ । यसभन्दा पहिलेको बन्दाबन्दीको समयमा खाएको उधारो अझै तिर्न नसकेका उनलाई फेरि बन्द भएपछि व्यापारीसँग उधारो सामानका लागि जानसक्ने आधार पनि छैन । ‘कोरोना आए पनि हामीलाई चिन्ता छैन । काम हुनुपर्यो । परिवारलाई साँझ बिहान खाने खर्च जुट्यो भने पुग्यो,’ उनले भने, ‘धेरै पैसा कमाएर घर जग्गा जोड्ने सपना छैन । विगतका जस्तो बन्दाबन्दी भयो भने परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता मात्रै छ ।’ कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी जोखिममा रहेको छ । यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरी बताउँछन् । ‘दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई प्रशासनले अझै पनि रोक्न सकेको छैन । भारतमा कोरोनाको सङ्क्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन,’ उनले भने, ‘सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्न सके सङ्क्रमण कम गर्न सकिन्छ तर, यहीँ अवस्थामा सङ्क्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ ।’ कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतबाट आउने नेपाली नागरिकको सङ्ख्यामा वृद्धि भएको जनाउँदै उनीहरुको सीमानाकामा कोरोना परीक्षण गर्ने र आउने÷जानेको तथ्याङ्क राख्ने काम सुरु गरेको जानकारी दिए । उनले अहिलेको समयमा मेला महोत्सव पनि हुने गरेको र माघीको समयमा हुने मेलाले सङ्क्रमण झन बढ्न सक्ने जनाउँदै त्यस्ता गतिविधि नगर्नसमेत आग्रह गरेका छन् । ‘हामीले पूर्वतयारीका काम सुरु गरिसकेका छौँ । हामीले मात्रै गरेर कोरोना सङ्क्रमणलाई कम गर्न सकिँदैन । त्यसका लागि नागरिक पनि सचेत बन्नुपर्छ । सबै समयमै सचेत हुनसक्यो भने बन्दाबन्दी गर्नुपर्ने अवस्था आउँदैन’, प्रजिअ थापाले भने, ‘अनि भारतीय नागरिकलाई आउनै नदिने भन्नेसम्मको निर्णयमा हामी पुगिसकेको छैनौँ । त्यो अवस्था आएपछि त्यसतर्फ पनि सोच्नुपर्ने हुन्छ । सीमानाकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सुरक्षा व्यवस्थामा कडाइका लागि निर्देशन दिएका छौँ ।’ उनले धनगढीको त्रिनगर भन्सार र टीकापुरको सत्ती भन्सारबाट आउने नेपाली नागरिकको कोरोना परीक्षणपश्चात् मात्रै नेपाल प्रवेश गर्न दिइएको जनाउँदै सम्भावित लक्षण देखिएकालाई आइसोलेसनमा राख्ने गरिएको बताएका छन् । उनले मेला, महोत्सव, भेलाजस्ता धेरै मानिस जमघट हुने खालका कार्यक्रम बन्द गर्न आग्रहसमेत गरेका छन् । रासस
प्लेन चढ्न, होटल जान र सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले खोपकार्ड देखाएपछि मात्रै प्लेन चढ्न, होटलमा जान र सार्वजनिक सेवा लिन पाउने व्यवस्था गर्न सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सरकारका सम्बन्धित निकायहरुलाई १३ बुँदे सिफारिस दिदै कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाएपछि मात्रै यस्ता सुविधा उपभोग गर्न पाउने व्यवस्था गर्न भनेको हो । ‘सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला हवाईयात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागू गर्ने व्यवस्थाका लागि सबै डीसीएमसीलाई गृहमन्त्रालय मार्फत सिफारिस गर्ने,’ सीसीएमसीको सिफारिसको ३ नम्बर बुँदामा भनिएको छ । यस्तै, माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोपकार्ड अनिवार्य गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने, सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाउने लगायतका सिफारिस सीसीएमसीको छ । यस्ता छन् सीसीएमसीका सिफारिस [pdf id=310505]