विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि दाङको ३ विद्यालय बन्द

तुलसीपुर । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उनको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ । पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उनले बताए । ‘विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ’, जनस्वास्थ्य निरीक्षक केसीले भने, ‘यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए । साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंँलगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताए । उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय: भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ । अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारी दिए । रासस

भारतमा पहिलाेपटक ओमिक्रोनबाट एकको मृत्यु

नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ । रासस/सिन्ह्वा

कोरोना संक्रमितको संख्या बढ्दै, सबैभन्दा बढी काठमाडौं उपत्यकाका

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जानकारी दिएकी हुन् । उनका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उनले बताइन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिइन् । अहिलेसम्म ११ हजार ६०१ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । उनका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ । साढे दुई लाखले खोप लगाए मन्त्रालयका प्रवक्ता डा मिश्राले आज दुई लाख ४६ हजार ३८५ जनाले खोप लगाएको जानकारी दिइन् । अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा एक करोड ४७ लाख १७ हजार २२६ जना र पूर्ण मात्रा एक करोड आठ लाख चार हजार ४१३ जनाले लगाइसकेका छन् । रासस