आजदेखि कोरोनाविरुद्ध अतिरिक्त खोपको मात्रा दिइँदै
फाइल फाेटाे काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजबाट कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित व्यक्तिलाई थप एउटा खोपको मात्रा दिन लागेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । उनले अहिले लगाइरहेका खोप केन्द्रबाट नै लक्षित वर्गलाई अतिरिक्त खोपको मात्रा दिन लागिएको बताए । मन्त्रालयले बालबालिकाले लगाउने खोप केन्द्रबाहेक सबै खोप केन्द्रबाट अतिरिक्त खोपको मात्रा दिइने जनाएको छ । बालबालिका बाहेकका जहाँ जहाँ खोप केन्द्र सुरु भएको छ अतिरिक्त खोप लगाउनका लागि लक्षित वर्गले चिकित्सकको सिफारिस तथा खोपको दुईवटा मात्रा लगाएको कार्ड लगेर जानुपर्ने छ । थप एउटा अतिरिक्त मात्रा खोप बुस्टर डोज नभई कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिलाई दिइने अधिकारीले बताए । पहिले जुन खोप लगाएको हो, सोही प्रकृतिको खोप थप अतिरिक्त मात्रा दिइनेछ । कोभिड–१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एउटा मात्रा खोप दिन लागेको हो । मन्त्रालयले मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सरका रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी सङ्क्रमण भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका बिरामी र भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष तथा सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोपको अतिरिक्त मात्रा दिन लागेको हो ।
साेमबार ३२६ नयाँ संक्रमित थपिए
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको नमूना परीक्षण गरिएको थियो । गत २४ घण्टामा २५५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार ६७४ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८० हजार २४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३४ हजार १७७ पुगेको छ ।
६५५ पालिकामा अस्पताल बन्दै, भटाभट बजेट निकासा
काठमाडौं । सरकारले देशभरका सबै स्थानीय तहमा अस्पताल बनाउने नीति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अधिकांश स्थानीय तहमा स्वास्थ्य संस्था बनेका छन् । सरकारले सार्वजनिक गरेको २०७७/७८ को नीति तथा कार्यक्रममा गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न अस्पताल नभएका सबै स्थानीय तहमा जनसंख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै पाँचदेखि १५ शय्याको आधारभूत अस्पताल बनाउने कार्यक्रम रहेको छ । यही अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत वर्ष मंसिरमा ३९६ अस्पताल र यस वर्ष २५९ स्थानिय तहमा अस्पताल शिल्यनाश गरेको छ । मन्त्रालयको सहप्रवक्ता डा समिरकुमार अधिकारीको अनुसार ७५९ स्थानिय तहमध्ये करिब १७ वटा स्थानीय तहमा मात्र अब अस्पताल बन्न बाँकी छ । सबै स्थानिय तहमा स्वास्थ्य उपचार सेवा पुर्याउने उदेश्यका साथ मन्त्रालयले पहिलो चरणमा गत मंसिर १५ गते एकैपटक ३९६ मध्ये ३०९ स्थानीय तहमा र यस वर्ष २५९ स्थानिय तहमा अस्पताल निर्माणको काम अगाडि बढाएको सहप्रवक्ता अधिकारीले बताए । एकैपटक भव्य रुपमा सरकारले यति धेरै स्थानिय तहमा पूर्वप्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखबाट गरेको शिल्यनाशको काम कतिसम्म अगाडि बढ्छ भन्ने सबैको चासोको विषय बनेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीको अनुसार गत वर्ष शिल्यनास भएका ३९६ अस्पतालमध्ये २६० अस्पताल टेण्डरको प्रकृया पुरा भइसकेको छ । उक्त २६० अस्पताल मध्ये २३० अस्पतालको सम्झौता भइ काम अगाडि बढिसकेको छ जसमा १४२ अस्पतालहरुको लागि रकम निकासा भइसकेको छ । सहप्रवक्ता अधिकारीको अनुसार प्रदेश १ मा टेण्डर प्रकृयामा गएका ६३ अस्पतालमध्ये ५९ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने ३३ अस्पतालको लागि रकम निकासा गरिसकिएको छ । यस्तै प्रदेश २ मा टेण्डर प्रकृयामा गइसकेको ३० अस्पतालमध्ये २६ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ जसमा १३ अस्पतालको लागि रकम निकासा भइसकेको छ । मन्त्रालयबाट प्राप्त डाटा अनुसार बागमति प्रदेशमा टेण्डर प्रकृयामा गइसकेको ३१ अस्पतालमध्ये २७ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ जसमा १८ अस्पतालको लागि रकम निकासा भइसकेको छ । गण्डकी प्रदेश टेण्डर प्रकृयामा गएका २३ अस्पतालमध्ये २० अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने १३ अस्पतालको लागि रकम निकाका गरिसकिएको छ । लुम्बिनी प्रदेश टेण्डर प्रकृयामा गएका ४७ अस्पतालमध्ये ४६ अस्पतालसँग सम्झौता भएर काम अगाडि बढिसकेको छ भने ३५ अस्पतालको लागि रकम निकाश गरिसकिएको छ । कर्णालीमा टेण्डर प्रकिृयामा गइसकेको २३ अस्पतालमध्ये १६ वटामा काम सुरु भइसकेको छ भने सुदुरपश्चिममा टेण्डरमा गएका ४३ मध्ये ३६ को काम सुरु भइसकेको छ । अर्थमन्त्री विष्णु पौडेलले ललितपुरको गोदावरी नगरपालिकाको उद्घाटन गरेको १५ शय्याको अस्पताल भवनको भन जग्गा नै नमिलेको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । महर्जनको अनुसार हाल जग्गाको फाइल भुमि सुधारमा अड्किरहेको छ । ‘अस्पतालको लागि विद्यालय र सार्वजनिक जग्गा परेको छ । सार्वजनिक जग्गाको काम भइसक्यो तर विद्यालयको जग्गा मिल्न बाँकी छ । यो प्रकिृया धेरै लामो रहेछ । १ वर्ष भइसक्यो । अझै छिटो भए दुई महिना लाग्छ यस कामको लागि,’ उनले भने । महर्जनले नगरपालिकाको तर्फबाट सबै भइसकेको र अर्थ मन्त्रालयले काम अड्काइरहेको बताए । यस्तै पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले तीन ठाउँमा गरेको शिल्यनासको काम भने धमाधम अगाडि बढेको छ । नेता खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरेका थिए । माइ नगरपालिकामा अस्पतालको काम करिब ४० प्रतिशत पुरा भइसकेको नगरपालिकाका नगर प्रमुख दिपक कुमार थेवेले बताए । थेबेको अनुसार इलामको १० नगरपालिकामध्ये सबैभन्दा छिटो काम माई नगरपालिका र चुलाचुली नगरपालिकामा भइरहेको छ । ‘हाम्रो नगरपालिकाको अस्पताल बन्ने काम द्रुत गतिमा भइरहेको छ । हाम्रो अब वैशाख जेठसम्म अस्पताल बनिसक्छ होला,’ उनले भने । सुर्योदय नगरपालिकामा पनि ठेक्का लागेको एक महिना पुगेको उप मेयर दुर्गा देवी भण्डारीले बताइन् । काम फटाफट भए ६ देखि ८ महिनामा काम पुरा हुने उनले बताइन् । यस्तै सन्दकपुर गाउँपालिकामा पनि अस्पतालको भवन निर्माण ठेक्का प्रकृयामा गइकन काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष उदय राइले बताए । ‘निर्माणको काम सुरु भएको २ महिना भएको छ । पहाड भएर तराइ जस्तो काम गर्न सजिलो छैन । हाल घडेरी खन्ने काम सम्पन्न भएर पिलर राख्ने काम हुँदैछ,’ उनले भने । दोस्रो चरणका २५९ अस्पताल सरकारले यस वर्ष थप २५९ स्थानिय तहमा अस्पतालको शिल्यनाश गरी काम अगाडि बढाइसकेको छ । सहप्रवक्ता अधिकारीको अनुसार २५९ अस्पतालमध्ये १३३ अस्पताल प्रकृयामा आइसकेका छन् जसमा ८२ वटा डिपिआर निर्माणको लागि अगाडि बढिसकेका छन् जसमा ४२ वटाको डिपिआर पास भइ त्यसमध्ये ३३ जनाले बजेट प्राप्त गरिसकेका छन् । स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ शय्याका रहेका छन् । मन्त्रालयले नगरपालिकामा १५ शय्या र गाउँपालिकामा हेरेर पाँच र १० शय्याको अस्पताल भवन बनाइरहेको छ । मन्त्रालयले पाँच शय्याको लागि आठ करोड, १० शय्याका लागि ११ करोड र १५ शय्याका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यसअघिको स्वास्थ्य मन्त्रालयको डाटा अनुसार नेपालको कुल ७५९ स्थानिय तहमध्ये ६४९ स्थानिय तहमा अस्पताल छैनन् ।