तनहुँको जिपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु
दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो । रु दुई करोड १८ लाखको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उनले बताए । प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको डा श्रेष्ठले बताए । ‘अहिले जति आवश्यक हुन्छ, त्यतिमात्रै अक्सिजन उत्पादन भइरहेको छ’, उनले भने । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो । ‘त्यसबेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ’, उनले भने । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पु¥याउने डा श्रेष्ठले बताए । तनहुँका स्थानीय तहले संयुक्तरुपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेसन भवन निर्माण गरिदिएका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेसनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेसन लामो समयदेखि खाली छ । तीस शय्याको आइसोलेसनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ । आइसोलेसनमा पहिलो चरणमा २७७ र दोस्रो चरणमा २२२ सङ्क्रमितले सेवा लिएको बताइएको छ । रासस
आजदेखि यस्ता व्यक्तिले पाउँछन् कोरोनाविरुद्ध बुस्टर डोज
काठमाडौं । सरकारले आजदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ । अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ । ‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति, अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् । कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो । हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ । कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ । खोपको पूरा मात्रा लगाइसकेर पनि थप (अतिरिक्त) खोप लगाउनुलाई बुस्टर डोज भनिन्छ। यसो गर्दा कोरोना संक्रमणको जोखिम कम गर्न सकिने विज्ञहरूको भनाइ छ।
थप ४ हजार ६३६ जनामा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ६२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १४ हजार ५५६ वटा नमुना परीक्षणमा ४ हजार ६३६ मा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३५० जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ ।