बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् । उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो । पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् । रासस/सिन्ह्वा

तनहुँमा ६८ प्रतिशतले लगाए खोपको पूर्ण मात्रा

तनहुँ । तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । भानु नगरपालिकामा पाँच, व्यासमा ६, शुक्लागण्डकीमा एक, भिमादमा दुई, ऋषिङ गाउँपालिकामा एक र आँबुखैरेनीमा चार सक्रिय सङ्क्रमित रहेका छन् । हाल बन्दीपुर, देवघाट, घिरिङ र म्याग्दे गाउँपालिका कोरोनाबाट मुक्त छन् । जिल्लामा पाँच हजार ४०० जनालाई कोरोना सङ्क्रमण भएकामा पाँच हजार २५१ निको भएका छन् । यस वर्ष कोरोनाबाट १३० सङ्क्रमितको मृत्यु भएको छ । अठार वर्षमाथिका दुई लाख २९ हजार ३४७ जनामध्ये एक लाख ५७ हजार २८१ जना (६८.६ प्रतिशत)ले खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै १२ देखि १७ वर्ष उमेरसम्मका ३९ हजार ४३४ मध्ये ३१ हजार ८१२ जना (८०.७ प्रतिशत)ले मोडर्ना खोप लगाएका छन् । भानुका २१ हजार ७५५ व्यासका ४८ हजार ३१५, म्याग्देका ११ हजार ८७३, शुक्लागण्डकीका १५ हजार ५५३, भिमादका १५ हजार ३१२, घिरिङका ६ हजार ७६८, ऋषिङका नौ हजार ५३, देवघाटका ६ हजार ५६३, बन्दीपुरका नौ हजार ४०० र आँबुखैरेनीका १२ हजार ६८९ जनाले खोपको पूर्ण मात्रा लगाएको कार्यालयले जनाएको छ । यसैगरी भानुका तीन हजार २२०, व्यासका आठ हजार ९५७, म्याग्देका एक हजार ४६४ र शुक्लागण्डकीका पाँच हजार ७८८ बालबालिकाले मोडर्ना खोप लगाएका छन् । भिमादका दुई हजार ८७९, घिरिङका एक हजार ३१८, ऋषिङका दुई हजार १२५, देवघाटका एक हजार ५३४, बन्दीपुरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार ५२५ जनाले मोडर्ना खोप लगाएको कार्यालयले जनाएको छ । रासस

आँबुखैरेनी गाउँपालिकामा ८० वर्ष नाघेकालाई एम्बुलेन्स सेवा निःशुल्क

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो । गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । ८० वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए । उनले भने, ‘१२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ ।’ एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिए । तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ । रासस