काठमाडौंका १९ ठाउँमा बुस्टर डोज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना भाइरस विरुद्धको ‘बुस्टर’ डोज उपलब्ध गराइरहेको छ । यही माघ २ गतेदेखि अग्रपङ्क्तिमा काम गर्नेलाई काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुस्टर डोज लगाइने छ । यस्तै, निजामती कर्मचारी अस्पताल, सुभेक्षा अस्पताल, पिपुल्स डेन्टल अस्पताल, जनमैत्री अस्पताल, गान्डी इन्टरनेशनल अस्पताल, काठमाण्डु मोडल अस्पताल, नर्भिक अस्पताल, नोबेल अस्पताल, बयोधा अस्पताल, शहीद स्मृति अस्पताल, नयाँ बसपार्क र एपेक्स पोलिक्लिनिक जडिबुटीमा पनि खोप लगाइन्छ । खोप लगाउनका लागि खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

भारतमा थपिए दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म सङ्क्रमित मध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको हो । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ४५१ रहेको छ । (रासस/एएनआई)

थप ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७ हजार ४६५ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ८७७ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ५४७ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।