बकुलहर रत्ननगर अस्पतालमा पीसीआर परीक्षण सुरु

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बुधबारबाट कोरोना भाइरसको स्वाब सङ्कलन तथा पीसीआर विधिबाट परीक्षण सुरु गरिएको छ । प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो । अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र लक्षण नदेखिएका अन्यप्रयोजनका लागि परीक्षण गराउन चाहेमा ७५० शुल्क निर्धारण गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सरकारले कोरोना परीक्षणका लागि एक हजार शुल्क तोकेको छ । खर्च पुग्ने भएकाले कम शुल्कमा सेवा दिन लागिएको हो । अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब सङ्कलन गरेर परीक्षण गर्नसक्ने क्षमता प्रयोगशालाको रहेको बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नुपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा. बगालेको भनाइ छ । सो अस्पताल ५० शय्याको प्रदेशस्तरको अस्पताल हो । जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा गरी चार ठाउँमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको थियो ।

कावासोती जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

कावासोती । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै पाँच दिनका लागि अस्पतालका आकस्मिक र प्रसूतिबाहेक अन्य सेवा बन्द गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताए । अस्पतालका कर्मचारीमा कोभिड देखिएपछि जनशक्तिको समेत अभाव भएसँगै आजदेखि यही माघ १० गतेसम्मका लागि अस्पतालबाट प्रदान गरिने आकस्मिक सेवा, प्रसूति सेवा, फार्मेसी सेवा र आकस्मिक प्रयोगशालाबाहेक सबै सेवा बन्द गरिएको सूचना अधिकारी सुवेदीले बताए । ‘अस्पतालमा यसै पनि कर्मचारी अभाव थियो, त्यसमाथि केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि हुँदा सबै सेवा दिन सक्ने अवस्थानै भएन’, सूचना अधिकारी सुवेदीले भने, ‘यस कारण केही दिन आकस्मिकबाहेकका सेवा बन्द गरेका हौँ ।’ जिल्ला अस्पतालमा कार्यरत २३ कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ । बुधबार मात्रै अस्पतालका ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी सुवेदीले बताए । पन्ध्र शय्याको यस अस्पतालमा ३१ जनाको दरबन्दी रहेको छ ।

मास्क नलगाई हिँड्नेहरुलाई कारबाही

काठमाडाैं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए । उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको हो भने स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई १०० रुपैयाँको कारबाही गरिएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे ।