४५ वर्षपछि तोकियो ‘औषध नियन्त्रण अधिकारी’
काठमाडाैं । लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको छ । गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार, मन्त्रिपरिषद्को यही पुस २१ गतेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । सरकारले मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासन कार्यालयका एक–एक जना सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘औषध नियन्त्रण अधिकारी’ तोक्ने निर्णय गरेको छ । यसअघि मन्त्रालयमा मुख्य औषध नियन्त्रण अधिकारीका रूपमा नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुखलाई तोकिएको थियो । ऐनमा आवश्यकतानुसार एउटा वा बढी औषध नियन्त्रण अधिकारी, नायब औषध नियन्त्रण अधिकारी तथा अन्य अधिकारी तोक्न सक्ने व्यवस्था छ । मुलुकमा लागुऔषध प्रयोग, ओसारपसार, बिक्री वितरणका घटना तथा समस्या बढ्दै गएसँगै सर्वसाधारणको सदाचार, स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न उक्त व्यवस्था गरिएको उपाध्यायले बताए । यसअघि मन्त्रालयमा रहेको लागुऔषध नियन्त्रण शाखा र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट भइरहेका प्रयास र क्रियाकलाप अपर्याप्त देखिएकाले मन्त्रालयअन्तर्गतका ७७वटै जिल्ला प्रशासन कार्यालयलाई थप सक्रिय बनाउँदै लागुऔषधको कारोबार र प्रयोग नियन्त्रण गर्न ‘औषध नियन्त्रण अधिकारी’ तोकिएको मन्त्रालयले जनाएको छ । ‘औषध नियन्त्रण अधिकारी’लाई लागुऔषधको नियन्त्रण र रोकथामका लागि सचेतना फैलाउने, लागुऔषध भित्रिने नाकामा अनुगमन गर्ने, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, सोसम्बन्धी गतिविधिको मन्त्रालयमा रिर्पोटिङ गर्नेलगायत जिम्मेवारी तोकिएको छ ।
अब नर्भिकमा पनि कोभिड खोपकेन्द्र
काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते(बिहीबार)देखि खोप केन्द्र संचालन गर्ने भएको छ । काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो । सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र संचालन गर्न लागिएको हो । स्वास्थ्यमन्त्रालयले तोकेको उमेर समूह र लक्षित वर्गका लागि दैनिक रुपमा खोपकेन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । साबिकको ज्वरो क्लिनिक परिसरमा व्यवस्थित ढंगले खोप अभियान संचालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको मिश्रले बताए । उनकाअनुसार स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना हुने गरी व्यवस्थित ढंगले खोप अभियान संचालन हुनेछ । नर्भिकमा हाल कोभिशिल्ड र भेरोसेल गरी दुई खालका खोप उपलब्ध हुनेछन् । सर्वसाधारणले नर्भिकको खोप केन्द्रमा आएर सुरक्षित ढंगले खोप लगाउनसक्नेछन् ।
कोरोना खोप लगाउन मान्दैनन् चेपाङ
चितवन । कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा विसं २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ । त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् । राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो । चेपाङ समुहदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ । अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए । उनले भने, “यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।” कालिका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार स्थानीय तहमा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन् । उनले भने, “पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।” यस्तै, इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् । यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सो सङ्ख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो । यस्तैगरी, खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा सो सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनको भनाई थियो । भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । सो वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो । माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् । छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो । उनले भने, “चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।” चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउँछन् । उनले भने, “कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् ।” कोरोना खोप लगाएपछि प्रजनन्मा समस्या हुने डर चेपाङमा देखिएको उनले बताए । कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको जनाईएको छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् । चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको उनको भनाई थियो । खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए। यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ । स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने, “हरेक वडामा स्वास्थ्य सङ्स्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो ।” कार्यालयका अनुसार जिल्लामा हालसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनिका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन् । यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्ड÷एष्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन् । पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ । रासस