सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन: स्वास्थ्य मन्त्रालय
काठमाडाैं । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसको विरुद्ध उपचार गर्ने औषधि र उपकरण पर्याप्त रहेको बताए । हाल नेपालमा सिटामोललगायत कुनै पनि औषधिको अभाव नरहेको उनको भनाइ छ । उनका अनुसार स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखासँग १० लाख र सरकारी फार्मेसीमा एक करोडभन्दा बढी सिटामोल छ । मन्त्रालयले सिटामोललगायत औषधिको तत्काल अद्यावधिक गर्नका लागि सबै सरकारी अस्पताल, प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई निर्देशन दिइरहेको छ । ‘यदि कुनै सरकारी अस्पतालका सिटामोल औषधि कम हुन आएमा नेपाल औषधि लिमिटेडसँगै सिधै सम्झौता गरी खरिद गर्न सकिने छ, उनले भने, ‘सोहीअनुसार औषधि खरिद गरी बिरामीलाई सहज बनाउन हुन सबै सरकारी अस्पताललाई अनुरोध छ ।’ यसका साथै स्वास्थ्य सेवा विभागले पनि सिटामोललगायत अन्य अत्यावश्यक औषधिको पनि खरिद प्रक्रिया अगाडि बढाइसकेको उनको भनाइ रहेको छ । ठूला अस्पताल र प्रादेशिक अस्पताललाई पनि अत्याश्यक औषधिको खरिद प्रक्रिया अगाडि बढाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ । रासस
कोरोनाको लक्षण भएकाहरुको परीक्षण अब निःशुल्क, अरुको लागि पनि घट्यो शुल्क
काठमाडौं । सरकारले कोरोनाको लक्षण भएकाहरुलाई पिसिआर परीक्षण नि:शुल्क गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण भएकाहरुलाई परीक्षण नि:शुल्क गरेको जानकारी दिएको हाे । यस्तै मन्त्रालयले कोरोना परीक्षणको शुल्क पनि घटाएको छ । नयाँ शुल्क अनुसार लक्षण नभएकाहरुको लागि सरकारी अस्पताहरुमा पिसिआर परीक्षण गर्न ८०० रुपैयाँ र निजी प्रयोगशालाहरुमा १५०० रुपैयाँ लाग्नेछ । यसअघि पिसिआर परीक्षण शुल्क सरकारीमा एक हजार र निजीमा २ हजार रहेको थियो ।
बुधबार एकैदिन ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्मकै धेरै
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ हजार ४०९ जनामा पिसीआर र एन्टिजेन परीक्षण गर्दा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै एकैदिन पुष्टि भएको धेरै संक्रमित संख्या रहेको मन्त्रालयल जनाएको छ । मन्त्रालयका अनुसार यो अवधिमा ६१३ जना निको भएका छन् भने ४ जना संक्रमितको मृत्यु भएको छ । यस्तै उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा ६ हजार ३४३ जनामा संक्रमण पुष्टि भएकाे छ ।