जापानमा ५ देखि ११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने
काठमाडाैं । जापानमा कोरोनाभाइरसविरुद्धकाे फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो विवरण अनुसार ५ देखि ११ वर्षसम्मका बालबालिका जापानमा ८० लाख रहेका छन भने उनीहरूलाई आगामी मार्चदेखि खोप लगाउन थालिने छ । अमेरिकी र जर्मनी कम्पनीले सहकार्य गरेर विकास गरेको यस खोप तुलनात्मक रुपमा अरुभन्दा विश्वसनीय र प्रभावकारी रहेको जापानका सरकारी अधिकारीहरूको बुझाई छ । जापानमा १२ भन्दा बढी उमेरका नागरिकलाई भने यसअघि नै खोप उपलब्ध गराइसकेको छ । विभित्र कारणले खोप लगाउन छुटेकाहरूलाई पनि जापान सरकारले खोप लगाउन उत्प्रेरित गर्ने गरेको छ । कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्ट आइरहेकाले त्यसबाट जोगाउनका लागि खोप नै सबैभन्दा भरपर्दो र उपयुक्त उपाय भएकाले खोप लगाउने निर्णयमा पुगिएको जापानका मन्त्री नोरिको होरिउचीले जानकारी दिइन् । कतिपयले भने बालबालिकालाई खोप लगाउने निर्णय अवैज्ञानिक र घातक हुने, प्रतिकुल प्रभाव पर्ने भन्दै विमती पनि जनाएका छन् । विरोध हुँदै गर्दा पनि सरकारले सरोकारवाला तथा विज्ञहरूको रायका आधारमा बालबालिकालाई खोप लगाउने निर्णयमा पुगेको मन्त्री होरिउचीको भनाई छ । अन्य देशहरूमा गरिएको परीक्षणका क्रममा फाइजर खोप बालबालिकाका लागि ९०.७ प्रतिशत प्रभावकारी देखिएको पनि उनले बताए । रासस
कर्णालीमा सिटामोलको चरम अभाव
कर्णाली । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना भाइरस ओमिक्रोन तेस्रो भेरियन्ट तीव्ररुपमा बढिरहेको छ । सङ्क्रमण बढ्दै जाँदा भने जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको पाइँदैन । सरकारी तथा सार्वजनिक कार्यालयमा सेवाग्राहीका भीड लाग्न रोकिएको छैन । नागरिकले स्वास्थ्य संस्था, यातायात, मालपोत, निर्वाचन कार्यालयमा सुरक्षा सावधानी बिनै सेवा लिँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यही माघ १ गते १२ बुँदे आदेश जारी गरिसकेको छ । एकै ठाउँमा २५ भन्दा बढी सहभागी नहुने, अनिवार्य मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गरेर दैनिक क्रियाकलाप गर्नेलगायतका प्रशासनको १२ बुँदे जारी आदेश पालना भएको छैन । सङ्क्रमणको दर भने दैनिक उकालो लाग्दै गएको छ । वीरेन्द्रनगरमा बिहीबार मात्र १३७ कोरोना परीक्षण गर्दा १०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि धेरैले कोरोना परीक्षण गरेका छैनन् । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनुसार बिहीबार कर्णालीमा ३२७ मा गरिएको कोरोना परीक्षणमा ११२ मा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणदर बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ । यही अवस्थालाई मध्य नजर गर्दै जिप्रकाले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्स पसलको आकस्मिक अनुगमन गरेको थियो । सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गर्याे । यसक्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ । ‘अनुगमन गर्दा राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सजिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन’, प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा पाँच रुपैयाँ बढी पर्छ ।’ सिनर्जी फार्मेसीमा भने २८३ स्टिमअर्थात् दुई हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए । केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य एक हुँदा कोडोपार छ/सात रुपैयाँमा बजारमा बिक्री हुने गरेको बताए । मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताए । ‘कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ’, उनले भने, ‘सामान्यतः ज्वरो आउँदा, टाउको दुःख यही औषधि प्रयोग गरिन्छ ।’ प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको छ । सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समयमा कम्पनीबाट आउन छोडेको बताए । औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ । सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी छ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन् । बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो ? भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए । उनका अनुसार यही अवस्थालाई आधार बनाएर अब सरोकारवालाबीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरिन्छ । जिल्ला प्रशासन नेतृत्वको उक्त अनुगमनमा उपभोक्ता हकहित संरक्षण मञ्चका डा हरि शर्मा, सुर्खेत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि जनक थापा, प्रहरी निरीक्षक लालबहादुर सुनार, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका उदय बिसी र राष्ट्रिय उपभोक्ता मञ्चका आकाशतारा वयकको सहभागिता रहेको थियो । रासस
उपल्लो डोल्पाका सर्वसाधारणले कोरोनाविरुद्धको खोप नपाउने
जाजरकाेट । महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्ध लगाइने खोप उपल्लो डोल्पाका सर्वसाधारणले नपाउने भएका छन् । बाह्र वर्षदेखि १७ वर्षसम्मका बालबालिकाले मोडर्ना खोप र १७ वर्षमाथिका सर्वसाधारणले भेरोसेल, ६० वर्षमाथिका सर्वसाधारणलाई बुस्टर खोप अन्य पालिकामा लगाइरहेको भए पनि उपल्लो डोल्पाका तीन पालिकाका कुनै पनि सर्वसाधारणले खोप लगाउन पाएका छैनन् । स्वास्थ्य सेवा कार्यालय डोल्पाले यही माघ १० देखि १३ गतेसम्म खोप लगाउन मध्य र तल्लो डोल्पाका सर्वसाधारणलाई मात्र सूचना निकालेको छ । उपल्लो डोल्पामा खोप लगाउन नसकिने भन्दै कार्यालयले सूचनामा उल्लेख गरेको छ । सिसीएमसीको बैठकले माघ १६ देखि २० गतेसम्म विद्यार्थीलाइ खोप लगाउनका लागि विद्यालय खोल्ने निर्णय गरिएको थियो । सिसीएमसीसीले निर्णय गरे पनि उपल्लो डोल्पामा विद्यार्थीले यो समयमा खोप नपाउने भएका छन् । त्यस्तै खोप कार्ड नभएको व्यक्तिले माघ ७ देखि सरकारी सेवा लिन नपाउने निर्णयले उपल्लो डोल्पाका सर्वसाधारण पीडित हुने भएका छन् । भारी हिमपातका कारण उपल्लो डोल्पाका सर्वसाधारणले कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन् । उपल्लो डोल्पामा खोप लिएर तीन पालिकाका सर्वसाधारणलाई लगाउन नसक्ने अवस्था आएपछि यहाँका सर्वसाधारण खोपविहीन बन्नुपरेको हो । हिमपातका कारण उपल्लो डोल्पा बन्धकजस्तै भएको छ । बाटो हिउँले पुरिदिएपछि कुनै पनि सेवा उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् । त्यस्तै अन्य बालबालिकालाई लगाइने नियमित खोप, सुरक्षित सुत्केरी सेवा कात्तिकदेखि फागुन मसान्तसम्म नै बन्द छ । शे–फोक्सुण्डो, छाकाताङसुङ र डोल्पोबुद्ध गाउँपालिकाभित्रका सर्वसाधारण हिमपात र चिसोका कारण पाँच महिना सदरमुकाम दुनैलगायत देशका विभिन्न ठाउँमा जाने काम पूर्णरूपमा ठप्प हुने गर्दछ । त्यस्तै ती पालिकामा खटिने स्वास्थ्यकर्मी, महिला स्वयंसेविकले समेत खोप नपाएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक टेकबहादुर गुरुङले बताए । रासस