नेपालको स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन सकेन

काठमाडौं । नेपालमा स्वास्थ्य सेवा गुणस्तरीय र सुलभ हुन नसकेको पाइएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रले स्वास्थ्य सूचकहरूमा सुधार भए पनि स्वास्थ्य सेवागुणस्तरीय र सुलभ हुन नसकेको देखाएको हो । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार सन् १९९६ मा मातृ मृत्युदर (प्रति लाख जीवित जन्ममा) ५३९ रहेकोमा घटेर सन् २०२२ मा १५१ मा पुगेको छ । 

यस अवधिमा ५ वर्षको बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ११८ र शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ७८ बाट घटेर ५ वर्षको बाल मृत्युदर ३३ र शिशु मृत्युदर २८ पुगेको छ । 

महिलाको प्रजनन् दर ४.६ बाट घटेर २.१ मा पुगेको छ । जसमा ग्रामीण क्षेत्रमा महिलाको प्रजनन दर ४.८ बाट २.४ तथा सहरी क्षेत्रमा २.९ बाट २.० मा घटेको छ ।

नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार प्रति चिकित्सक जनसङ्ख्या अनुपात सन् २००५ मा ३ हजार ९ सय ७५ रहेकोमा सन् २०२५ मा ७ सय ३५ कायम भएको छ ।

उपचारका लागि सहर पस्नुपर्ने बाध्यता

अहिले पनि ग्रामीण स्तरका नागरिकले उपचारका लागि सहर धाउनुपर्ने बाध्यता कायमै रहेको छ । ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच सीमित रहेकोले आधारभूत उपचारको लागि पनि नागरिक सहर धाउनुपर्ने बाध्यता छ ।

उपचारका लागि विदेश 

जटिल रोग लाग्नेबित्तिकै धेरैजसो नेपाली नागरिक अझै उपचारका लागि विदेश जाने गरेका छन् । स्वास्थ्य सेवा पर्याप्त, गुणस्तरीय र विश्वसनीय नहुँदा विदेश जानेक्रम अझै यथावत छ । 

कतिपय नेपालीहरू जटिल रोगको शंका हुनेबित्तिकै परीक्षणका लागि विदेश जाने गर्छन् भने नेपालमा अझै स्वास्थ्य सेवा महँगो हुँदै गएको स्थिति छ ।

स्वास्थ्य बीमा आफै समस्यामा 

गुणस्तरीय स्वास्थ्य सेवा सहज र सुलभ पहुँच पुर्याउन सुरु गरिएको स्वास्थ्य बीमा आफै समस्यामा परेको अवस्था छ । बीमा दाबी भुक्तानी गर्न नसक्दा स्वास्थ्य संस्थाले सेवा रोकेका छन् भने स्वास्थ्य बीमाको उचित नियमित हुन नसक्दा यो प्रणाली नै जोखिममा परेको छ ।

पूर्वाधार र जनशक्तिमा सुधार

पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति संख्यात्मक रूपमा बढेको छ । नेपालको स्वास्थ्य प्रणाली बिरामी हेरचाहमा मा केन्द्रित रहेको छ । विसं २०७१ मा नेपालमा सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या ४ हजार ४ सय ८५ रहेकोमा बढेर ८ हजार ७ सय ४६ पुगेको छ । यस अवधिमा सरकारी अस्पतालमा बिरामी शय्या ७ हजार ५५० बाट बढेर १८ हजार ६४० पुगेको छ । 

यस्तै, सरकारी चिकित्सको सङ्ख्या २ हजार १५४ बाट बढेर ७ हजार ३० पुगेको छ भने मेडिकल काउन्सिलमा दर्ता भएका डाक्टरको संख्या १९ हजार ३३७ बाट बढेर ३९ हजार ६७५ पुगेको छ ।

Share News